२९ असार, काठमाडौं । बैंकहरुले अब कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) मा अनिवार्य खर्च गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीतिमा यस्तो व्यवस्था गर्न लागेको हो ।
वित्तीय साक्षरता बढाउने उद्देश्यले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सीएसआरमा अनिवार्य खर्च गर्नुपर्ने र नाफाको कति प्रतिशत यस्तो खर्च गर्नुपर्ने भन्ने प्रावधान गर्न लागिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए ।
‘सामाजिक उत्तरदायित्वलाई वित्तीय साक्षरता बढाउनका लागि प्रयोग गर्न लागिएको हो’ ती अधिकारीले भने- ‘बैंकहरुले नाफाको यति प्रतिशत सामाजिक उत्तरदायित्वमा अनिवार्यरुपमा खर्च गर्नुपर्ने भनेर मौद्रिक नीतिले किटान गर्ने संभावना बलियो छ ।’
गभर्नर डा. चिरञ्जीबी नेपालले पटक-पटक वित्तीय साक्षरता वृद्धि आफ्नो प्राथमिकतामा पर्दै आएका बताएका छन् । सर्वसाधारणहरु वित्तीय रुपमा साक्षर भएनन् भने त्यो देशको उन्नति हुन नसक्ने भन्दै गभर्नरले वित्तीय साक्षरतामा जोड दिएको तर्क दिने गरेका छन् ।
अहिले अनिवार्यत नभएपनि बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तदरदायित्व अन्तर्गत खर्च गरिरहेका छन् । भूकम्प पीडितलाई मात्रै बैंकहरुले करोडौं रुपैयाँ बराबरको नगद र सरसामान दिएका थिए ।
राष्ट्र बैंकले यसैहप्ता नयाँ मौद्रिक नीति सार्वजानिक गर्दैछ । मौद्रिक नीतिको खाका तयार भइसके पनि केही खास कुरामा सञ्चालक समितिमा कुरा नमिल्दा केहीदिन अघि नै आउने भनिएपनि हालसम्म आउन नसकेको हो ।
प्रतिक्रिया 4