News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ।
- विद्युत् उत्पादन, वित्तीय सेवा, पशुजन्य उत्पादन र पर्यटक आगमनमा वृद्धिले आर्थिक विस्तारमा योगदान गरेको कार्यालयले उल्लेख गरेको छ।
- निर्माण र खानी उत्खनन क्षेत्रमा संकुचन आए पनि विद्युत् तथा ग्यास क्षेत्रमा २२.७५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।
२४ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ दोस्रो त्रैमास अवधि (कात्तिक–पुस) मा अर्थतन्त्रमा ४.५ प्रतिशत विस्तार हुने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले त्रैमासिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो । त्रैमासिक लेखा अनुमान गर्दा २०८१/८२ को सोही त्रैमासको तुलना गरी मौमसी प्रभाव समायोजन नगरिएको तथ्यांक सार्वजनिक गर्ने गरिन्छ ।
कार्यालयका अनुसार विद्युत् उत्पादन र वितरणमा भएको वृद्धि, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम कलेक्सन, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी उत्पादन, व्यापार सेवा, पर्यटक आगमन सहित औद्योगिक क्षेत्रमा भएको वृद्धिले अर्थतन्त्र विस्तारमा योगदान गरेको हो ।
यस अवधिमा औद्योगिक वर्गीकरण अनुसार सबै १८ क्षेत्र धनात्मक वृद्धिदरमा छन् । यस वर्ष साढे ६ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त गर्ने लक्ष्य सरकारको थियो । तर, निर्माण सामग्री आयात, धानबाली उत्पादन र केही घरेलु वस्तु उत्पादनमा आएको गिरावटका कारण यस त्रैमासिकको वृद्धिदर खुम्चिन पुगेको कार्यालयको विश्लेषण छ ।

उता, मौसमी प्रभाव समायोजित तथ्यांक अर्थात् चालु आव पहिलो त्रैमासको तुलनामा भने दोस्रो त्रैमासमा २.०४ प्रतिशतले अर्थतन्त्र विस्तार भएको छ । यस अवधिमा १८ औद्योगिक वर्गीकरणमध्ये १६ क्षेत्रमा वृद्धि र २ क्षेत्रमा संकुचन आएको देखिएको छ ।
पहिलो त्रैमासको तुलनामा यस त्रैमासमा निर्माण र खानी तथा उत्खननमा संकुचन आएको तथ्यांकले देखाएको छ ।
विद्युत् र ग्यासमा उछाल
नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको छ । तर, सोही क्षेत्रको वृद्धिदर अघिल्लो आव सोही अवधिको तुलनामा २.२१ प्रतिशतले मात्र विस्तार भएको छ ।
धानबालीमा आएको कमीको असर कृषिमा देखिएको कार्यालयले जनाएको छ । यस अवधिमा सबैभन्दा बढी वृद्धि भने विद्युत् तथा ग्याससँग सम्बन्धित क्रियाकलापमा देखिन्छ ।
यस क्षेत्रमा २२.७५ प्रतिशतको वृद्धि प्राप्त भएको छ । वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप, यातायात तथा भण्डारण, आवास तथा भोजन, थोक तथा खुद्रा व्यापारमा क्रमश: १२.५१, ९.६५, ५.१८ र ४.११ प्रतिशत विस्तार भएको तथ्यांक छ ।
अर्थतन्त्रमा दोस्रो ठूलो हिस्सा ओगट्ने थोक तथा खुद्रा व्यापार वृद्धिदर ४.११ प्रतिशत रहने अनुमान छ । यसमा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिले यो क्षेत्रको वृद्धिदरमा योगदान गरेको हो ।

यस अवधिमा पानी आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापनको ०.५५ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा तथा अनिवार्य सामाजिक सुरक्षामा १.११ प्रतिशत र शिक्षामा १.१६ प्रतिशतमात्र वृद्धिदर हुँदा त्यसले समग्र अर्थतन्त्रको वृद्धिदर कम भएको देखिन्छ ।
आव २०७९/८० को दोस्रो त्रैमासमा अर्थतन्त्र विस्तार १ प्रतिशतले गिरावट आएको थियो । त्यसयताका हरेक त्रैमासमा आर्थिक वृद्धिदर करिब स्थिर देखिन्छ । चालु आव पहिलो त्रैमासमा आर्थिक वृद्धि ३.२४ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
अघिल्लो त्रैमासको तुलनामा यो त्रैमासमा सबैभन्दा धेरै वृद्धिदर यातायात तथा भण्डारण सेवाको देखिएको छ । उक्त सेवाको वृद्धिदर ६.२० प्रतिशत छ । कृषिको २.४८ प्रतिशत, विद्युत तथा ग्यास ३.१६, वित्तीय तथा बीमा ३.८२ र शिक्षा १.२२ प्रतिशतले विस्तार भएको छ ।
निर्माण क्षेत्रमा ०.५९ प्रतिशत र खानी तथा उत्खननमा ०.८५ प्रतिशतको गिरावट आएको कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार हरेक त्रैमासिक अवधि समाप्त भएको ९० दिनभित्र त्रैमासिक लेखा अनुमान सार्वजनिक गर्ने गरिन्छ । कार्यालयले २०६७/६८ देखि यस्तो त्रैमासिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आएको छ ।
यस वर्ष जेनजी आन्दोलनका कारण पहिलो त्रैमासिक अवधिमा अर्थतन्त्रमा अन्योलको अवस्था थियो । दोस्रो त्रैमासमा भने चुनावी सरकारले अर्थतन्त्रलाई गति दिन विविध प्रयास गरेको थियो ।
प्रतिक्रिया 4