Comments Add Comment

इजरायली कृषि प्रविधि सिक्न नेपाली युवाको होड

isreal-agriculture१ साउन, काठमाडौं । इजरायलको व्यावसायिक कृषि खेतीबाट सीप सिक्न नेपाली युवाको आकर्षण बढ्दो छ । इजरायलको आधुनिक कृषि प्रणालीको आकर्षणले त्यहाँ गएर सीप सिक्ने युवाको सङ्ख्या बढ्न थालेको देखिन्छ ।

पढेलेखेका युवा इजरायल गई कृषिको तालिम लिइ नेपाल फर्केपछि व्यावसायिक खेतीमा लागेका छन् । साना किसान विकास बैंकले इजरायलका विभिन्न पाँचवटा कलेजसँग द्विपक्षीय सम्झौता गरेसँगै इजरायल गएर युवाले सीप सिक्ने र नेपालमा आएर यो क्षेत्रमा जम्ने अवसर पाएका हुन् ।

अति न्यून शुल्कमा इजरायलमा सीप सिकेर फर्केपछि यहाँ सरकारले समेत लगानी गरिदिने आकर्षणले युवामा कृषि क्षेत्रप्रतिको मोह बढेको हो । दश महिनाको तालिम अवधिभर तालिमकै क्रममा मासिक रु डेढ लाखसम्म ती युवाले कमाउँछन् ।

बैंकको ‘सिकाइ र कमाइ’ कार्यक्रम अन्तर्गत हालसम्म एक हजार १२५ जना इजरायल गई सीप सिकेर फर्किएका छन् । सन् २०१३ देखि पहिलो वर्ष २०४, दोस्रो वर्ष ५११ र तेस्रो वर्ष ४३० जना गएको थिए ।

सन् २०१६ मा चौथो पटक ४३० जना पठाउने अन्तिम तयारी भइरहेको छ । यो वर्ष छनौट भएका जुलाइको अन्तिमदेखि अक्टोबरको पहिलो साताभित्र गइसक्ने बैंकले जनाएको छ ।

व्यावसायिक कृषिबारे इजरायलमा गएर सीप सिक्न युवा युवतीको उत्तिकै आकर्षण बढेको साना किसान बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जलनकुमार शर्माले बताउनुभयो ।

इजरायलमा कृषिको सीप सिक्न युवाको आकर्षण बढेसँगै मापदण्ड पनि कडा बनाउन थालिएको छ । पहिला साना किसानका छोराछोरी भनेर दश जोड दुई अध्ययन गरेकालाई लिने गरेको इजरायलले अहिले कृषि सम्बन्धी कोर्ष गरेको हुनुपर्ने मापदण्ड बनाएको छ ।

अहिले काठमाडौँ विश्वविद्यालयबाट तीन हप्ताको तालिम लिएर इजरायल गएर १० महिना तालिम पश्चात नेपाल फर्केपछि पुनः एक हप्ताको तालिम लिएपछि मात्र प्रमाणपत्र( सर्टिफिकेट) पाउँछन् ।

कृषि प्रधान देश नेपालमा ६५ प्रतिशत जनता कृषिमा आवद्ध छन् तर पढेलेखेका युवाको यो क्षेत्रमा रुचि छैन । क्षेत्रफलका हिसाबले सानो मुलुक इजरायलले थोरै जग्गामा आधुनिक तरिकाले गरेको व्यावसायिक खेती विश्वमै चर्चित मानिन्छ ।

कसरी पुग्छन् इजरायल
साना किसान सहकारी संस्थामा आवद्ध भएका दश जोड दुई (प्लस २) गरेका २० देखि ३० उमेर भित्रका युवायुवतीले आवेदन दिन पाउँछन् । उनीहरुमध्येबाट विभिन्न चरणको छनोट गरिन्छ ।

अन्तर्वाता इजरायलीले नै लिन्छन् । पास भएकाले मेडिकल रिपोर्ट र पुलिस रिपोर्ट पेस गरेपछि यहाँ तीन हप्ता तालिम लिएपछि मात्र इजरायल जान पाउँछन् ।

इजरायलमा हप्ताको एक दिन पढ्ने र पाँच दिन फिल्डमा प्राक्टिकल गर्नुपर्छ । इजरायलको कृषि राम्रो भएकाले उताबाट फर्केपछि, कृषिको आधुनिकिकरण, टेन्ट हाउसमा कसरी खेती गरिन्छ, मुलुकलाई कृषिको आधुनिकीकरण कसरी गर्ने भन्नेबारे सीप सिक्ने अवसर मिल्छ ।

इजरायलबाट फर्केर आएका युवाले झापा मोरङ, मकवानपुर, धादिङ, नवलपरासी र चितवनमा व्यावसायिक कृषिमा लागेको बैंकले जनाएको छ ।

इजरायल गएका चारजना उतै लुके

इजरायलय गएकामध्ये हालसम्म चारजना उतै लुकेर बसेको बताइएको छ । भागेकालाई निगरानीमा राखी स्वदेश फर्काउने पहल भइरहेको बैंकले जनाएको छ ।

इजरायलले भूकम्पपीडित क्षेत्रलाई प्राथमिकता दिएर कोटा बढाउने सङ्केत गरेको छ, परराष्ट्रमन्त्री कमल थापाको पछिल्लो इजरायल भ्रमणले यसमा बल पुगेको बताइएको छ ।
इजरायलको प्रविधि र सीपलाई नेपालमा प्रयोग गरी उत्पादन गर्ने उद्देश्यले युवालाई इजरायल पठाइएको हो ।

इजरायलयको सीपलाई यहाँ प्रयोग गरी कृषिको आधुनिकीकरण गरी यसलाई कसरी नियमित र युवालाई आकर्षित गर्नसके यो कार्यक्रम प्रभावकारी हुने सिइओ शर्माको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment