३ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । साउन महिना र सोमबार भगवान शिवको प्रिय मानिन्छ । त्यसैले साउन महिनाको सोमबारमा व्रत बस्ने र शिवको पूजा गर्ने गरिन्छ ।
खासगरी महिलाहरु साउने सोमबारको व्रत बस्ने गर्दछन् । पशुपति मन्दिर परिसरमा शिवभक्तहरु भजनकीर्तन गर्दै नाचगान गरिरहेका थिए ।
साउन महिनाभर रातो, पहेंलो र हरियो वस्त्र लगाउने, चोखो खाने र शिवको पूजा गर्ने प्रचलन छ । साउने सोमबारमा भगवान शिवको पूजा आराधना एवम् दर्शन गर्नाले आँटे चिताएको पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
यस वर्ष साउन महिनामा पाँच सोमबार परेका छन् । पाँच सोमबार परेको साउन महिनालाई अझै राम्रो मान्ने गरिन्छ । साउने सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउने सोमबारको दिनदेखि नै शिवभक्तहरुको बोलबम मेला पनि सुरु हुन्छ ।
विगतमा जस्तै यसपटक पनि पशुपति मन्दिरमा दर्शनका लागि तीनतिरबाट व्यवस्था मिलाइएको छ । पूर्वतर्फको ढोका विशेष पूजा गर्नेहरुका लागि र पश्चिमतर्फको ढोका बोलबम यात्रीहरुका लागि छुट्याइएको छ ।
तस्वीर: कविन अधिकारी/अनलाइनखबर
प्रतिक्रिया 4