Comments Add Comment

मेराविरुद्ध इर्ष्या प्रस्ताव दर्ता भोः प्रधानमन्त्री, संसदमा मनपरी नगर्न चेतावनी

KP-Oli,-PM-of-Nepal

५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूविरुद्ध दर्ता भएको अविश्वासलाई ‘इर्ष्या प्रस्ताव’ को संज्ञा दिएका छन् । सरकारको लोकपि्रयताबाट डराएकाहरुले ‘इर्ष्या प्रस्ताव’ दर्ता गराएको उनले बताए ।

जिफन्टको छैटौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद उदघाटन समारोहलाई बुधबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अविश्वासको प्रस्ताव भन्दा पनि आग्रह र इर्ष्या नामको एउटा प्रस्ताव दर्ता भएको छ । यो सरकार कायम रहे बुढाबुढी, बालबालिका, युवा सबै उसैको हुने भो भन्ने पिरले अविश्वास नामको चिन्ता प्रस्ताव दर्ता भएको हो ।’

नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठनको गृहकार्य गरेको नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । र, यसमाथि भोलि छलफल गर्ने तय भएको छ ।

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुले दुई तिहाई बहुमत छ भनेको भन्दै त्यसो भए संविधान संशोधन गरेर देखाउन चुनौती दिएका छन् ।

संसदमा मनपरी नगर्न चेतावनी

सभामुख ओनसरी घर्तीको समेत मिलेमतोमा महत्वपूर्ण एजेण्डाहरु गायब पारिएको ओलीले आरोप लगाए । ‘संसदीय प्रणालीमा आर्थिक विधेयक रोकेर जाने, एजेण्डा गायब बनाउने र सबै राष्ट्रिय एजेण्डालाई हटाएर त्यसको हामीलाई केहि मतलब छैन भन्दै एजेण्डा गायब बनाएका छन् । भोलि एघार बजे हराएको प्रस्ताव कहाँ गयो खोज्नुपर्छ ।’

संसद मनपरी गर्ने ठाउँ होइन भन्दै उनले बलजफ्ती गरेर अगाडि नबढ्न चेतावनी दिए । ‘बलजफ्ती नगरे हुन्छ मेरो विनम्र अनुरोध छ । संसद मनपरी गर्ने ठाउँ होइन,’ एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने ।

धेरै भन्न भएन, डराउँछन्

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले कम्तिमा काम गर्ने संकेत दिएको बताए । भारतसँग विखाशापटनम बन्दरगाह प्रयोग गर्न दिनेदेखि चीनसँग पारबहन सम्झौता भएको भन्दै उनले भारतबाट थप विजुली ल्याउने बताए ।

अहिले भारतबाट ल्याउने र दुई वर्षपछि भारततर्फ पठाउने उनले बताए । उनले काठमाडौं-क्सौल-विखाशापटनम तथा पोखरा काठमाडौं रेल बनाउने योजना सुनाए । बसमा पनि हेडमेट लगाएर हिड्नु पर्ने मधेसका सदरमुकामहरुमा अब चार लेनको चत्रपथ बनाउन सुरु गर्ने र चिया खाँदै हिड्न मिल्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘धेरै पनि भन्न भएको छैन । डराउँछन् ।’

बहुमत नरहे सरकारमा बस्न नसकिने भन्दै उनले जनताले किन एमालेलाई बहुमत दिएनन् भन्ने प्रश्न गरे । ‘एक तिहाइ मत पनि छैन । सरकार बनाउन ५० प्रतिशत बढी मत चाहिन्छ,’ माओवादीतर्फ लक्षित गर्दै ओलीले भने, ‘आफ्नो बहुमत नपुगेपछि बाटोमा हिँड्दा थुम्का भेटे पनि देउराली भेटे पनि टाउको-टाउकोमा फूलपाती चढाएर हिँड्नुपर्ने अवस्था छ ।’

मधेस अहिले शान्त छ

आफू प्रधानमन्त्री हुँदा ४६ जनाको ज्यान गएको र प्रहरी पनि मारिएको भन्दै उनले अहिले मधेस शान्त रहेको बताए । ‘अहिले पनि केही मान्छे रहरका हिसावले मधेस आन्दोलन भन्दैछन्’ उनले भने, ‘रहर बाहेक केही छ ? छ भने जायज माग त पुरा गर्छु भनेकै छु ।’

आफूले काम गर्दा पनि विरोध गरेको भन्दै उनले भने, ‘कखरा चिनेका मान्छेले के मा विरोध गर्ने थाहा पाउनुपर्छ नि । केही जीवीहरु छन् । बुझ्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment