५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बेलुका बालुवाटारमा अलि फरक ढंगले प्रस्तुत भए । प्रधानमन्त्रीले त्यहाँ राजनीतिका बारेमा बोलेनन् । बरु अनलाइन र सामाजिक सञ्जालमा आउने कमेन्टलाई सम्झेर प्रधानमन्त्री विरक्ति प्रकट गरे ।
आफ्नै सरकारी निवासमा भेला भएका सञ्चारकर्मीहरुसँग प्रधानमन्त्रीले भने- ‘अहिले गाली बेइज्यतीको टे्रण्ड देखिएको छ । यसो कुनै अनलाइन खोलेर पढ्नोस त भन्ने हो भने तपाईहरु कसैले पनि पढ्न सक्नुहुन्न । खासगरी कमेन्ट हेर्यो भने विरक्त लाग्छ ।’
सरकारले पाँच महिनाअघि काशिराज दाहालको नेतृत्वमा गठन गरेको ‘सूचना तथा सञ्चारसम्वन्धी उच्चस्तरीय समिति’ को टोली आफ्नो प्रतिवेदन बुझाउन बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । समितिको प्रतिवेदन बुझेर सञ्चारमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेपछि प्रधानमन्त्री ओलीले नेपाली समाज अश्लीलतातर्फ उन्मूख भइरहेको टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले अनलाइन सञ्चारमाध्यम र त्यसमा आउने कमेन्टहरुप्रति दुखमनाऊ गर्दै पत्रकारहरुसँग प्रश्न गरे- ‘हामी समाजलाई कता लाँदैछौं ? आजका बच्चाबच्चीले के सिक्छन् ?’
प्रधानमन्त्रीको टिप्पणी उनकै शब्दमा
हामीले केलाई स्वतन्त्रता भन्ने भन्ने बुझ्नुपर्छ । अश्लील, असामाजिक तवरले कोही बोल्दै हिँड्यो भने, कराउँदै हिँड्यो भने त्यो हक त उसलाई छ, तर हकको दुरुपयोग गरेकोमा नियन्त्रण गर्नुपर्ने हुन्छ । कोही नांगै हिँड्न खोज्यो भने त्यसलाई बस्त्र लगाइदिएर औषधालय पुर्याउनुपर्ने हुन्छ ।
अहिले एउटा गाली बेइज्यतीको टे्रण्ड देखिएको छ । यसो कुनै अनलाइन खोलेर पढ्नोस त भन्ने हो भने तपाईहरु कसैले पनि पढ्न सक्नुहुँदैन । के-के लेख्छ लेख्छ । अश्लील कसरी लेख्छन् ? कसरी पढ्न सकेको होला ? हामी समाजलाई कता लाँदैछौं ? कुनै कुरामा चित्त बुझेन भने पनि त्यसमा असहमति प्रकट गर्ने हाम्रो शैली, हाम्रो विधि कस्तो हुनुपर्छ ? यस कुरामा ध्यान दिइनुपर्ने स्थितिमा हामी पुगेका छौं ।

यसो कुनै अनलाइन हेर्यो भने, खासगरी कमेन्ट हेर्यो भने कमेन्टका नाममा जे आउँछ, कति तल छौं हामी । विरक्त लाग्छ । कति तल जाँदैछौं हामी । कसैका बारेमा पनि बोल्दा सभ्यताको, मर्यादाको कुनै एउटा अंश पनि छैन । यो हामी देख्छौं र विचित्र लाग्छ । अधिकारका नाममा भइरहेको यो चिज अधिकार होइन भन्ने हामीले थाहा पाउनुपर्छ ।
सञ्चार क्षेत्रले जसरी व्यापकता लिँदैछ, घृणित, अपमानित सामाजिक लाञ्छना लगाइदिने, उसका वैयक्तिक कुरालाई उछाल्ने यो ट्रेण्ड छ ।
हामीले के भाषा सिकाउने ? आजका बच्चाबच्चीले के भाषा सिक्छन् ? यसो मोबाइल खोल्छ, खोल्नेवित्तिकै उसले यस्ता-यस्ता शब्दहरु जान्दछ र त्यही शब्द प्रयोग गर्छ । अनि कस्तो हुन्छ भने त्यही शब्द बोलिदिन्छ उसले । त्यही प्रयोग गर्छ । नयाँ पिँढीको एउटा तप्का, एउटा हिस्साचाँहि यसमा अलिकति कसोकसो भएको देखिन्छ ।
अर्को कुरो, राष्ट्रिय सुरक्षाको वृहत अवधारणाभित्र सञ्चारको पनि प्रश्न जोडिन्छ । राष्ट्रको सुरक्षासँग, गोपनीयतासँग । सूचनाको हकका नाममा राष्ट्रिय गोपनीयता, यो केही हुँदैन जस्तो समाजको परिकल्पना पनि कताकति गरेको देखिन्छ ।
मान्छे अत्यन्तै बन्धनहरुभित्र भएको प्राणी हो । मान्छेलाई साङ्लाले बाधिँदैन । पर्खालभित्र छेकिँदैन । किनभने ऊ नैतिक बन्धनमा हुन्छ, वाचा बन्धनमा हुन्छ, धार्मिक बन्धनमा हुन्छ, सामाजिक बन्धनमा हुन्छ, इमानको बन्धनमा हुन्छ । सामाजिक मूल्य मान्यताहरु हुन्छन् । यसैकारणले हामीलाई साङ्लाले बाँध्नु नपरेको हो ।
तर, हामीले आफूले स्वेच्छाले बनाएका अदृश्य बन्धन, जो मानवजातिले हजारौं वर्ष लगाएर समाज विकासका क्रममा आर्जन गरेका ती बन्धन अस्वीकार गर्यौं भने अरु बन्धनमा राख्नुपर्ने जीव र हामीवीचको भिन्नता खोज्नुपर्ने हुन्छ । किनभने अरु जीवहरुले यी अदृश्य बन्धन नबुझ्ने भएको हुनाले उनीहरुलाई हामीले बन्धनमा राख्नुपरेको हो । उनीहरुसँग हाम्रो -मान्छेको) भिन्नता कहाँनेर हो भनेर खोज्नुपर्ने हुन्छ ।
त्यसैले यो वैयक्तिक विषयमा, सेक्युरिटीका पक्षहरु र गोपनीयताका पक्षहरु एवं अधिकार र कर्तव्यका कुराहरुमा सञ्चार क्षेत्रले झन बढ्ता ध्यान दिनुपर्ने आवश्यकता छ ।
यस्ता समस्याहरु छन् हामीकहाँ विकास प्रविधिको विकाससँगै । परिवर्तन र विकासका क्रममा अग्रगमनका नाममा आउने खराबीहरु यस्ता पनि छन् । तर, यसबाहेक हामी आज तीव्र विकासको क्रममा छौं । शिक्षामा, स्वास्थ्यमा र सञ्चारलगायत अनेक क्षेत्रमा हामी इन्फरमेसन टेक्नोलोजीलाई अपनाएर अगाडि बढ्दैछौं । हामी अब कम्तिमा इन्फास्ट्रक्चरको क्षेत्रमा पनि ठूलो फड्को मारिरहेको अवस्थामा छौं ।
अप्टिकल फाइबर २०७५ साल भित्र ७५ वटै जिल्लामा पुग्दैछ । ४६ जिल्लामा पुगिसक्यो, अब अरु जिल्लामा पनि पुग्छ । हामी पुर्याउँछौं ।
प्रविधिको तीव्रतर विकाससँगै सञ्चारका सबै क्षेत्रलाई व्यवस्थित, प्रभावकारी ढंगले अगाडि बढाउने एउटा अभियानमा छौं । यसका लागि अपरिहार्य माध्यमहरुलाई जति सदुपयोग गर्न सकिन्छ, त्यति नै बढी समाज अगाडि बढ्न सक्छ ।
प्रतिक्रिया 4