Comments Add Comment

संसदमा एमालेलाई गलाउने, नभए आर्थिक विधेयक फेल गर्ने रणनीति !

KP-Oli-with-Mobile

६ साउन, काठमाडौं । अविश्वासको प्रस्ताव पहिले कि बजेटमा आश्रित विधेयकहरु पहिले संसदमा पेश गर्ने भन्नेमा प्रमुख दलहरुबीच अझै सहमति जुट्न सकेको छैन । संसदको बैठकअघि अहिले सभामुखको पहलमा कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक चलिरहेको छ । तर, सहमति जुट्ने सम्भावना कम छ ।

सहमतिको प्रयाससँगै दलहरु आन्तरिक रणनीति बनाउन जुटिरहेका छन् । सरकारको नेतृत्व गरिरहेको एमालेले यसअघि नै कार्यसूचीमा आएको विधेयक हटाएर अविश्वासको प्रस्ताव पेश भए संसद अवरुद्ध गर्ने तयारी गरिरहेको छ ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले अनलाइनखबरसँग भने, सरकारले ल्याएको विधेयक सैद्धान्तिकरुपमा पास भइसकेको थियो । त्यसलाई पहिले टुंगोमा पुर्‍याउनुपर्छ, नभए संसद अवरुद्ध गर्ने हाम्रो निर्णय नै छ ।’

एमालेले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि अविश्वासको प्रस्ताव राख्ने दलहरु पनि रणनीति बनाउँदैछन् । बिहीबार बसेको कांग्रेसको संसदीय दलको बैठकमा एमालेले चाल्न सक्ने सम्भावित कदमबारे छलफल भएको छ ।

स्रोतका अनुसार एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गर्दासम्म माओवादी, कांग्रेसका सांसदहरु मौन बस्नेछन् । त्यो सभामुख र एमाले सांसदको विवाद मात्र हुने भएकाले मौन बस्ने कांग्रेसको रणनीति छ ।

यस्तो अवस्थामा एक दुईवटा बैठकहरु एमालेले अवरुद्ध पार्ने र फेरि बस्ने स्थिति आउन सक्ने देखिएको छ । स्रोतले भन्यो, यसबीचमा सहमतिको प्रयास पनि हुन सक्छ । तर, एमालेले नाराबाजी गर्न दिने र गराउने रणनीति पनि अपनाइनेछ ।’

सहमति जुटेन र लगातार बैठक अवरुद्ध भइरहे के गर्ने भन्नेमा पनि कांग्रेस र माओवादीका शीर्ष नेताहरुले रणनीति बनाएका छन् । उनीहरुले विधेयक र अविश्वासको प्रस्तावलाई एउटै कार्यसूचीमा राख्न सकिने बताएका छन् ।

तर, एमालेले मानेको छैन । यस्तो अवस्थामा कांग्रेस र माओवादीले विनियोजन विधेयक पहिला पेश गर्न दिने र फेल गराइदिने रणनीति अख्तियार गर्न सक्ने स्रोतले बतायो ।

यसका लागि आजै अविश्वासको प्रस्तावमाथि छलफल थाल्नुपर्ने उनीहरुको सर्त हुनेछ । ‘बजेटमा आश्रति विधेयकहरु कुनै पनि हालतमा पास हुन दिनुहुन्न भन्नेमा पार्टी नेतृत्व प्रष्ट देखिएको छ’ कांग्रेसका एक सांसदले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment