Comments Add Comment

प्रधानमन्त्रीले तपाईं एक्सन लिनुस्, नभए म लिन्छु भन्नुभोः प्रचण्ड

माओवादीलाई उपयोग गर्ने र सिध्याउने रणनीति लिएको आरोप

Prachand

७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्दा माओवादीलाई उपयोग गर्ने र सिध्याउने रणनीति लिएको आरोप लगाएका छन् ।

ओलीविरुद्ध व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव पेश गर्दै उनले सरकार छाड्ने र अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय गर्नुका कारण पेश गरे । आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनेका ओलीविरुद्ध आफैंले अविश्वासको प्रस्ताव पेश गर्नु परेको भन्दै उनले भद्र सहमतिबाट तिक्तता सुरु भएको बताए ।

मैले एक्सन लिने भनेको माओवादी केन्द्रले समर्थन फिर्ता लिने । उहाँले लिन भनेको मन्त्रीहरुलाई कारबाही गर्ने भन्ने बुझेँ

प्रधानमन्त्रीले यो संयुक्त सरकार हो र केही प्रतिवद्धतासहित सरकार बनेको भन्ने बिर्सिएको आरोप लगाए । प्रधानमन्त्रीमा दम्भ र अहंकार देखिएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले अघि भने, ‘प्रधानमन्त्री माओवादीलाई उपयोग गर्ने, भर्‍याङ बनाउने र उसलाई सिध्याउन लाग्नु भो ।’

सामान्य मतभेद हुनासाथ कसैको राष्ट्रप्रतिको निष्ठामा प्रश्न उठाउने प्रयास भएको भन्दै उनले कसैको देशभक्तिमाथि प्रश्न उठाउनु विडम्वनापूर्ण भएको बताए । प्रचण्डले एमाले अध्यक्ष ओलीमाथि सबैलाई प्रभोग गर्ने र आन्तरिक राष्ट्रिय एकता कमजोर पार्नतर्फ लागेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीलार्इ गणतन्त्र साह्रै रुची लागेन 

प्रधानमन्त्रीले संघीयता आफूलाई मन परेको छैन भनेको भन्दै अघि भने, ‘गणतन्त्रमा त केही भन्दिन । तर, साह्रै रुची लागेको जस्तो लागेको छैन । राजतन्त्र चाहिन्छ भन्नेसँग लगन गाँठो कसिएको देखिन्छ ।’

‘प्रधानमन्त्री ओलीजी खोलो तर्‍यो, लौरो विर्सियो, राम्रो जति मेरो, नराम्रो जति अर्को नगरौं ….गल्ती हुन्छ

नौबुँदे सहमति र तीनबुँदे भद्र सहमतिबारे ओलीको सार्वजनिक टिप्पणीले पनि सम्वन्ध विग्रिएको उनले बताए । यो गठवन्धन तोड्ने आफ्नो इच्छा नभएको र पार्टी एकतासम्म छलफल भएको उनले सदनमा सुनाए ।

तर, सरकारमा गएपछि त्यसलाई बिर्सिएका प्रधानमन्त्रीले अन्तिम चरणको छलफलमा आफूलाई ‘या त तपाई एक्सन लिनुस्, या म लिन्छु, यसरी चल्दैन’ भनेको उनले बताए । उनले भने, ‘सभामुख महोदय विषय प्रतिकात्मक जस्तो पनि छ, गम्भीर छ ।’

यो देश भाषण मात्र गरेर अघि बढ्दो रहेनछ, पानी जहाज, रेल, ग्यास पाइप लाइन भन्न सजिलो रहेछ, गर्न गाह्रो रहेछ भन्ने लागेर प्रधानमन्त्रीलाई कतै यो सबै गर्नुभन्दा सरकार छाडिदिउँ भन्ने लागेको त होइन भने उनले प्रश्न गरे ।

उनले अघि भने, ‘मैले एक्सन लिने भनेको माओवादी केन्द्रले समर्थन फिर्ता लिने । उहाँले लिन भनेको मन्त्रीहरुलाई कारबाही गर्ने भन्ने बुझेँ ।’ यद्यपि प्रधानमन्त्री ओलीसँग आफ्नो कुनै व्यक्तिगत कटुता नरहेको र दलहरुबीच दुरी बढाउन आफूले नचाहेको माओवादी अध्यक्ष प्रचण्डले बताए ।

खोलो तर्‍यो, लौरो विर्सियो नगरौं 

उनले पहिलो संविधानसभाको परिणामपछि माओवादीले थोरै धर्ती छोडेको र गिरिजाप्रसादको मूल्य नबुझेको भन्दै उनले दोस्रो संविधानसभाको चुनावी परिणामपछि कांग्रेस र एमालेमा सरेको त होइन भनेका छन् ।

सबै खान खोज्दा माओवादीको हातमा केही नभएको स्मरण गर्दै उनले भने, ‘कांग्रेस झण्डै … अब एमालेको पालो ।’ उनले अघि भने, ‘मुख्य कुरा समिक्षा गर्ने कि नगर्ने भन्ने हो ।’

राष्ट्रिय सहमति आवश्यक रहेको र प्रमुख दलहरु मिल्नुको कुनै विकल्प नभएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले आफूले गरेको आलोचनालाई प्रधानमन्त्री ओलीले गलत रुपमा नलिने विश्वास व्यक्त गरे ।

प्रचण्डले एमालेका नेता माधवकुमार नेपाललाई आफ्नो पहलमा संसदमा ल्याएको र आफूपछि प्रधानमन्त्री भएको भन्दै अर्का नेता झलनाथ खनाललाई लडाकू शैलीमा सरप्राइज अट्याक गरेर प्रधानमन्त्री बनाएको बताए । उनले अघि भने, ‘प्रधानमन्त्री ओलीजी खोलो तर्‍यो, लौरो विर्सियो, राम्रो जति मेरो, नराम्रो जति अर्को नगरौं ….गल्ती हुन्छ ।’

उनले अघि भने, अर्का नेता (वामदेव गौतम) पनि लाइनमा हुनुहुन्छ, केहि फरक पर्दैन । थर, थोरै फरक पर्नासाथ भिक्तामा पुर्‍याइने भन्ने नगरौं ।’

हुन्छ भन्ने मन थियो

माओवादी अध्यक्ष प्रचण्डले बजेटसँग सम्वन्धित आश्रित विधेयकहरु पास गर्ने आफ्नो इच्छा रहेको बताए । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नैनिक रुपमा अप्ठ्यारोमा परेको बताए ।

उनले अघि भने, हिजो हुन्छ भनेको हामीलाई अहिले पनि हुन्छ भन्ने मन थियो । पहिले अविश्वासको प्रस्ताव पास गरौं, त्यसपछि बजेटसम्वन्धित विधेयकमा हुन्छ भन्ने मन थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment