Comments Add Comment

संसद बैठकका केही दृश्यः को रड्किए ? को भडि्कए ?

प्रचण्ड भावुक, नेम्वाङ आक्रामक

Parliament-Meeting७ साउन, काठमाडौं । एघार दिनको गतिरोधपछि शुक्रबार बसेको संसद बैठक धेरै अर्थमा रोचक रहृयो । बजेट आश्रति विधेयक पहिले कि अविश्वास प्रस्ताव पहिले भन्ने विवादका कारण मूठभेडसम्मको परिस्थिति टर्नु आफैंमा महत्वपूर्ण विकासक्रम थियो ।

राजनीतिमा सबै जायज

रामचन्द्र पौडेलको चारबुँदे सहमति उनकै पार्टीबाट अस्वीकृत भएपछि संसद अवरोधको आशंका भइरहेका बेला सभामुख ओनसरी घर्तीको पहल र विपक्षी गठबन्धन एक कदमपछि हटेका कारण सहज ढंगले संसदको कारवाही अघि बढ्यो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेझैं उनी र उनको पार्टी नैतिक संकटमा थियो । आफूले पारित गरेको बजेटको आश्रति विधेयक फेल गराउनु नैतिक रुपमा नमिले पनि राजनीतिमा सबै कुरा जायज हुन्छ भन्ने कुरा माओवादी केन्द्रले पुष्टि गरिदियो ।

जुन विधेयक माओवादी केन्द्रसहित विपक्षी गठबन्धनले असफल बनाएका छन्, भोलि उनीहरुले तीनै विधेयक पारित गराउनैपर्नेछ । तर, राजनीतिमा नैतिकता भन्ने चीज पनि बेला-बेला निष्त्रिmय हुन पुग्छ भन्ने यो प्रकरणले पुष्टि गरेको छ ।

प्रचण्ड सम्हालिन सकेनन्

संसद बैठकमा अविश्वास प्रस्ताव प्रस्तुतगर्ने क्रममा माओवादी अध्यक्ष प्रचण्ड सम्हालिन खोज्दा खोज्दै पनि भावुक र उत्तेजित भइहाले । उनले एमाले र विशेष गरी प्रधानमन्त्री केपी ओलीमाथि प्रहार नगर्ने संकेत शुरुमै दिएका थिए ।

तर, बोल्दाबोल्दै प्रचण्डले ओलीलाई गणतन्त्र र संघीयताको विरोधी भन्न भ्याइहाले । सायद उनले पछि त्यसो नभन्नुपर्ने थियो भन्ने महशुस गरे होलान् । किनकि एमाले संसदीय दलका नेता सुवास नेम्वाङले प्रचण्डको आरोपको नरम शैलीमा कडा जवाफ दिँदा उनी स्वीकारोक्तिको शैलीमा मुस्काइरहेका थिए ।

ठीक एकघण्टा लामो भाषणका क्रममा प्रचण्डले धेरै प्रसंग ल्याए पनि विगतको जस्तो दमदार भाषण बन्न नसकेको टिप्पणी उनकै सांसदहरुले पनि गरे । एमालेप्रति धेरै आक्रामक बन्न नमिल्ने बाध्यता र ओलीलाई छाड्नुपर्ने औचित्य पुष्टि गर्नुपर्ने परिस्थितिका बीचमा उनको भाषण बेला बेलामा लिकभन्दा बाहिर जान खोजेको थियो ।

नेम्वाङ बने ‘हिरो’

शुक्रवारको संसद बैठकको करीव चार घण्टाको कारवाहीमा अन्तिम वक्ता बनेका पूर्वसभामुख सुवास नेम्वाङ लगभग ‘म्यान अफ दि हाउस’नै बन्न सफल भए । उनको शालीन र कुटनीतिक कटाक्षको सिंगो संसद र लाइभ हेरिरहेका आम मान्छे फ्यान बने ।

सुवास नेम्वाङ बोलिरहँदा सामाजिक सञ्जाल उनको बोल्ने कलाको प्रशंसा गर्नेहरुबाट भरिइसकेको थियो । ०६३ साल जेठमा सभामुख भएदेखि नेम्वाङ सम्भवतः रोष्टममा उभिएर बोलेका थिएनन् ।

दोस्रो जनआन्दोलनपछि हुर्किएको पुस्ताका नजरमा सुवास नेम्वाङको तस्वीर सभामुखको निष्पक्ष भूमिकामा मात्र थियो । उनले १० वर्षपछि पहिलोपटक सांसदको हैसियतमा बोल्दा साँच्चिकै परिपक्व नेता र शालीन वक्ताको पहिचान स्थापित गरिदिए ।

अरुलाई गाली नै गर्नु छ भने पनि सुवास नेम्वाङबाट सिकोस् भन्नेहरु धेरै निस्किए । संसदीय दलको उपनेताको भूमिकामा रहेर उनले आफ्ना नेता केपी ओलीको जुन शैलीमा बचाउ गरे, त्यसबाट प्रधानमन्त्री ओली पनि दंग देखिन्थे ।

संविधान स्वीकार्दै मधेसी मोर्चा

शुक्रबारको संसद बैठकमा चर्चाको केन्द्र भने मधेसी मोर्चा नै बन्यो । संविधानसभाले जारी गरेको संविधान अस्वीकार गर्दै संसद बैठक बहिस्कार गरिरहेको मोर्चाका सबै सांसद शुरुदेखि अन्तिमसम्म बसेर सदनको कारवाहीमा भाग लिए ।

उनीहरुको उपस्थितिलाई शुरुमै अर्थमन्त्री बिष्णु पौडेलले व्यंग्यात्मक शैलीमा स्वागत गर्दै अब संविधानमा कोही अशन्तुष्ट नरहेको र संविधान कार्यान्वयन भएको धारणा व्यक्त गरे । उनले आफ्नो जवाफको अन्तमा पनि मधेसी मोर्चाको उपस्थितिलाई नै संविधान कार्यान्वयनमा सबैको सहभागिता अर्थ्याए ।

प्रचण्डले बिष्णु पौडेलको भनाइलाई स्वागत नै गरे । तर, प्रधानमन्त्री ओलीमाथि प्रहार गर्ने क्रममा उनकै कारण मधेसी मोर्चा संविधान कार्यान्वयनमा पूर्णरुपमा सहभागी हुन नसकेको जवाफ दिए । यी सबै सवाल जवाफमा मोर्चाको तर्फबाट कसैले कुनै प्रतिक्रिया जनाएनन् बरु उनीहरुसँगै संविधान अस्वीकार गरेका थरुहट पार्टीका गोपाल दहितले छलफलमा सहभागिता जनाए ।

अब संविधानका विरोधी कोही भएनन्

मधेसी मोर्चाले संविधान कार्यान्वयनमा सहभागिता जनाएको विषयलाई विघटित संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कानुनी भाषामै मिलाएर पुष्टि गरे । संविधानको धारा किटेरै ल्याइएको अविश्वास प्रस्तावमा उपेन्द्र यादव, अशोक राई लगायतले हस्ताक्षर गरेको प्रसंग झिक्दै नेम्वाङले भने-यो खुसीको कुरा हो,अब संविधान अस्वीकार गर्ने सांसद यहाँ कोही हुनुहुन्न ।

ओलीको आश्चर्यभाव !

दिउँसो सहमति प्रयास गर्ने शीर्ष बैठकमा सुवास नेम्वाङ र भीम रावललाई पठाएर बालुवाटारमा बसेका प्रधानमन्त्री ओली संसद चल्ने भएपछि संसद भवन पुगेका थिए । उनी संसदको कारवाहीको लगभग सबै समयमा धैर्यतापूर्वक सुनेर बसे ।

प्रचण्डले अविश्वास प्रस्ताव पेश गर्ने क्रममा आफूमाथि आक्षेप लगाइरहँदा उनी कहिले हाँस्ने र कहिले आश्चर्यको भाव दर्शाउने गर्दै थिए । प्रचण्डले तीन नेताबीचको गोप्य बैठकका कुरा समेत चुहाउन थालेपछि शेरबहादुर देउवा भने अप्ठेरो मान्दै थिए ।

विष्णु पौडेलको एमाले छाड्ने कुरा !

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयक र ऋण तथा जमानत विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा कांग्रेस र माओवादीलाई प्रहार गर्न छाडेनन् । उनले ऋण नलिई देश सञ्चालन गर्न कांग्रेसका मिनेन्द्र रिजाललाई चुनौति दिदै,यदि त्यसो गरेमा एमाले छाडेर उनकै पार्टीमा लाग्ने जवाफ समेत दिए ।

ओलीमाथि आशंका

व्यवस्थापिका संसदमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धारावाहिकरुपमा एक घण्टासम्म बोले । उनले प्रधानमन्त्री केपी ओलीले संघीयता नरुचाएको र गणतन्त्रविरोधीहरुसँग प्रेम गरेको आरोप लगाए । आफूले गठबन्धन तोड्नज नचाहे  पनि ओलीले धकेलेर यो अवस्थामा पुर्‍याएको प्रचण्डको गुनासो थियो । राष्ट्रिय एकता र आन्तरिक राष्ट्रियता सुदृढ गर्नुपर्ने भन्दै प्रचण्डले निकै भावुक एवं सारगर्भित भाषण गरे । प्रचण्डले अर्थमन्त्र विष्णु पौडेललाई पनि जवाफ दिन भ्याए । केपी ओलीसँग आफ्नो व्यक्तिगत सम्बन्ध नराम्रो नरहेको भन्दै दृष्टिकोणमा भिन्नता देखा परेको उनले बताए । प्रचण्डले आत्मकेन्दि्रत एवं संघीयताविरोधी भएको आरोप लगाइरहँदा प्रधानमन्त्रीले ध्यानपूर्वक सबै आरोपहरु सुनेका थिए । प्रचण्डले ओलीमाथि प्रहार गरिरहँदा शेरबहादुर देउवाचाँहि घरिघरि ओलीतिर फर्केर हेर्थे ।

सभामुखको अलमल

विधेयक पारित गर्ने र दफावार छलफलका लागि निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सभामुख ओनसरी घर्ती पटक पटक अलमलमा परेको प्रष्टै देखिन्थ्यो । उनले एकपटक झुक्किएर हुन्छ र हुन्न भन्ने परिणाम समेत उल्टो भन्ने अवस्था आएको थियो ।

सभामुखले पटक पटक गल्ति बोल्दा माओवादी अध्यक्ष प्रचण्ड तनाबग्रस्त मुद्रामा देखिएका थिए भने पूर्व सभामुख सुवास नेम्वाङ अप्ठेरो मान्दै हाँसिरहेका थिए । संयोग कस्तो छ भने सभामुखको अगाडि पूर्व सभामुख नेम्वाङ साम्नेकै लहरको पहिलो रो मा बस्छन् ।

गच्दार गायब

शुक्रबारको संसद बैठकमा प्रधानमन्त्री पछिको बरियताका उपप्रधानमन्त्री बिजय गच्छदार देखिएनन् । तर, उनको पार्टी फोरम लोकतान्त्रिक तर्फका स्वास्थ्य मन्त्री रामजनम चौधरी भने सहभागि थिए । गच्छदारले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हल्ला चले पनि औपचारिक निर्णय आएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment