Comments Add Comment

अधिकांश सरकारी भवन समयमै बन्दैनन्

Nirman-Project८ साउन, धनकुटा ।  सहरी विकास भवन निर्माण डिभिजन कार्यालय धनकुटा अन्तर्गत संखुवासभाको मकालु गाविसमा रहेको स्वास्थ्य चौकी भवनको निर्माण सुरु भएको पाँच वर्ष वितिसक्दा पनि त्यसले पूर्णता पाएको छैन ।

२०६७ साल असारमा ३ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्पन्न यो आयोजनाको लागि दुई पटक म्याद थप भइसकेको छ । तर, अझै निर्माण कार्य पूरा हुन सकेको छैन । संखुवासभाको सदरमुकाम खाँदबारीबाट मकालु गाविस पुग्न करिब एक साता लाग्छ । सडक सञ्जाल पुग्न नसकेको सो स्थानमा सामान ढुवानीमा समस्या भएको भन्दै समयमा निर्माण हुन नसकेको भनाइ ठेकेदारको रहेको छ ।

भौगोलिक रुपमा विकट गाविस मकालुमा अन्य सरकारी संरचना निर्माण गर्दा समेत यस्ता समस्या आउने गरेको छ । ठेकेदारले यातायातको समस्या देखाएर बजेट थप गर्नुपर्ने अवस्था सिर्जना गर्दै आएका छन् ।

त्यस्तै प्रवृत्ति २०६९ साल जेठमा ठेक्का स्वीकृत भई निर्माण सुरु भएको धनकुटाको कुरुलेतेनपा गाविसमा रहेको स्वास्थ्य चौकी भवनमा देखिएको छ । यो भवनको लागि एक पटक म्याद थप भई अर्को दोस्रो पटक पनि म्याद थपको क्रम चलिरहेको छ । तर कहिले बनिसक्छ भन्न सकिने अवस्था छैन । धनकुटाको विकट गाविसको रुपमा चिनिने सो क्षेत्रमा पानीको समस्याका कारण समयमा निर्माण गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ । यद्यपि पानीको त्यो समस्या ठेक्का लागेपछि सिर्जना भएको होइन ।

यता सोही समयमा निर्माण सुरु भएको धनकुटाको चुम्माङ्ग गाविस स्थित स्वास्थ्य चौकीको भवन बनिसकेको छैन, अवस्था उस्तै छ । लामो समयदेखि ठेकेदारले काम गर्न छाडेको छ । भनिन्छ, अहिले ठेकेदार कम्पनीविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

मकालु, कुरुलेतेनपा र चुम्माङ्ग गाविसका स्वास्थ्यचौकी भवनसहित सहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालय धनकुटा अन्तर्गत २०६६ सालयता एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रमका लागि निर्माण कार्य जिम्मा लगाइएका एक अर्ब रुपैयाँ भन्दा बढीका २६ योजनाहरु निर्माणधीन अवस्थामा रहेकारह्यै छन् ।

धनकुटा सहित कोशी पहाडी जिल्ला तेह्थुम, संखुवासभा र भोजपुरका विभिन्न स्थानमा निर्माण गर्न लागिएका बाँकी स्वास्थ्य चौकीका भवन निर्माण पूरा गर्न पनि पटकपटक म्याद थप गरिसकिएको शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालय धनकुटाका.प्रमुख दिगम्वर ढाकुरले जनाएका छन् ।

स्वास्थ्य चौकीको भवन ठेक्का लागेको मितिबाट १८ महिना र जिल्ला अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यालयका भवन भने तीन वर्षभित्र निर्माण गरिसक्नु पर्ने नियम छ । तर, अधिकांश योजना तोकिएको समयमा सम्मन्न नभई पटकपटक म्याद थप गर्नुपर्ने हुन्छ । यी भवन समयमै निर्माण सम्पन्न नहुँदा यी स्वास्थ्य चौकीले साँघुरो तथा जीर्ण भवनबाटै आम जनतालाई स्वास्थ्य सेवा दिन बाध्य छन् । कतिपय स्वास्थ्य संस्थाले भवन नभएको कारण स्वास्थ्य सेवा सुविधा दिन सकेको छैन । जसले गर्दा स्थानीयवासी सानो सेवा लिन पनि सुविधासम्पन्न सहर तथा महँगा निजी अस्पताल धाउन बाध्य छन् ।

समस्या स्वास्थ्यका भवनमा मात्रै होइन, सबै प्रकारका सरकारी निर्माण कार्यको प्रवृत्ति उस्तै छ । तोकिएको समयमा निर्माण कार्य हुन नसक्नु मुख्य समस्याको विषय बन्ने गरेका छन् । सोही समयमा ठेक्का लागेका अन्य कार्यालयका योजना पटकपटकको म्याद थपपछि निर्माण भएको र कतिपय हालसम्म पनि बन्ननसकेको अवस्था छ । तर, त्यही काम ठेकेदारबाट खोसेर उपभोक्ता समितिलाई दिएपछि समयमै पूरा भएका उदाहरणहरु पनि छन् ।

जिल्ला प्राबिधिक कार्यालय धनकुटा अन्तर्गत २०६६ सालमा ठेक्का लागेको ८६ योजनामध्ये तीनवटा योजनामा ठेक्का तोडेर उपभोक्ता समितिमार्फत हालै सम्पन भएका छन् ।  अर्को एक योजना हालसम्म पनि पूरा हुन सकेको छैन । बाँकी ८२ योजना पटकपटकको म्याद थपपछि मात्र पूरा गर्न सकिएको जिल्ला प्राविधिक कार्यालय धनकुटाका सूचना अधिकारी दिपनारायण झा बताउछन् ।

यता सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनकुटाका प्रमुख दिगम्वर ठाकुर भौगोलिक विकटता, कामदार अभाव, निर्माण सामग्री अभाव, महँगी, पेटी ठेकेदारको हावी, तोकिएको भन्दा ज्यादै न्यून दरमा ठेक्का लिनु लगायतका कारणले समयमै निर्माण कार्य नहुने गरेको बताउछन् । उनी भन्छन्, ‘तोकिएको समयमै काम गरिसिक्न सुपरभिजन कार्यलाई नियमितता दिनुपर्छ ।’

तराईभन्दा पहाडी र हिमाली क्षेत्रमा काम ढिलो हुने भएकाले भौगोलिक अवस्था अनुसार निर्माण समयावधि निर्धारण गर्नुपर्ने सुझाव दिंदै उनी भन्छन्, ‘अर्काको ठेक्काको काम लापरबाहीपूर्ण ढङ्गले गर्ने हुँदा पेटी ठेकेदारी प्रथा हटाइनुपर्छ । इस्टिमेटभन्दा ज्यादै थोरैमा ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति पनि छ । त्यसैले कतिसम्म घटेर बोलपत्र हाल्न पाउने हो त्यो पनि निर्धारण गरिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment