Comments Add Comment

कमेडी टाइम्स विथ स्वप्न शिरोमणि !

व्यंग्यः अब हामीलाई कसले देखाउँछ सपना ?

Dreaming

सपना देखाउँदा देखाउँदै, हँसाउँदा हँसाउँदै कमेडी ‘टाइम्स विथ स्वप्न शिरोमणि’ सकिएको पत्तै भएन ।

अब कसले देखाउँछ हामीलाई यस्ता मीठा-मीठा सपना ? अनि कसले सुनाउँछ यस्ता राम्रा-राम्रा टुक्का ? कसले सिकाउँछ तरह-तरहका उखान ?

प्रजातन्त्र आएपछिको यो ६५ वर्षमा, अनि गणतन्त्र आएको यो १० वर्षमा धेरैले धेरैथरि सपना देखाए । कसैले सिंगापुरका सपना देखाए त कसैले स्वीटजरल्याण्डका । सिंगापुरका सपना झिंगापुरको यथार्थतामा प्रष्फुटन भए भने स्वीटजरल्याण्डका सपना लुटगरल्याण्डमा ।

किनकि ती सबै सपना कलाविहीन सपना थिए, कलाविहीन नाटकजस्तै । यकिनका साथ भन्न सकिन्छ कि ती सपनाहरु सपना देखाउन नजान्ने शिकारुले देखाएका उट्पट्याङ् टाइपका सपना थिए । तब न ती आजसम्म पनि मजाकका सपनामा दरिएका छन् । न लठैत मात्तिएका थिए, न जनसाधारण तात्तिएका थिए ती सपना सुनेर ।

तर, विगत ९/१० महिनादेखि जस्ता सपनाहरू सुन्दै आएका छौं, त्यति आनन्ददायी, रोमाञ्चक, स्वणिर्म अनि कलात्मक सपना न कसैले देखाएको थियो, न कसैले देखाउने नै छ । भूतो न भविष्यति ।

लठैतहरू त स्वप्न शिरोमणिका भक्त हुनै नै भए, अरू सामान्यजनलाई पनि ती सपनाहरूले तानेको थियो । तिनै सपनाले सरकारको इज्जत धानेको थियो । त्यसैले जाँदा जाँदै स्वप्न सम्राटलाई कोटीकोटी नमन !

अब कसले झारिदेला आकाशका तारा ? कसले भनिदेला बाटाभरिको पानीलाई यही हो रारा ? अनि कसले देखाइदेला गजाननका लामा लामा राष्ट्रवादी दारा ? कसले लेला मन्त्रालय खण्डीकरणको अभिभारा ? कसले बनाउला सरकारलाई उपप्रधानमन्त्री नै उपप्रधानमन्त्रीले हराभरा ?

सयौं कमेडी मुभी, हास्य सिरियल र नाटक हेरेर प्राप्त नहुने मनोरन्जन ती सपना, उखान -टुक्का र गफले दिँदै आएको थियो, त्यो पनि निःशुल्क रूपमा । मनोज गजुरेल, धुर्मुसलगायतका राष्ट्रियस्तरका हास्य कलाकारहरूले त सार्वजनिकरूपमै उखान उस्तादले आˆनो गरी खाने उपक्रम उखाड्न लागेको गुनासो जाहेर गरेकै हुन् । पंक्तिकारले पनि मेरीबास्सै, गजुरेलियन कमेडी हेर्न छाडेर यिनै उखान टुक्का र सपनाबाट भरपुर मनोरञ्जन लिएकै हो । यही अवधिमा टेलिभिजनबाट प्रसारण हुँदै आएका हास्य रसयुक्त कतिपय कार्यक्रमहरु बन्द हुनु संयोगमात्र होइन कि !

अब कसले गराउँछ यस्तो पौष्टिक मनोरञ्जन ? अब कसले गर्छ यस्तो व्यवसायिक स्वप्नकारिता ?कसले गर्छ यति निर्भिक टुक्काकारिता ? अनि कहाँ पाउनु यति गतिला गफकर्मी ?

सपना पूरा गर्न ल्याकत चाहिन्छ सामथ्र्य चाहिन्छ त्यो सबैलाई थाहा भएको कुरा हो, तर सपना देखाउन पनि ल्याकत र सामर्थ्य चाहिन्छ अनि कला चाहिन्छ भन्ने कुरा यो एक वर्षमा नेपालमा सिद्ध भएको छ । यो समयमा यस्तै सामर्थ्य र कलाको परीक्षण भयो । फेसबुकका भित्तादेखि जग्गाका कित्तासमेत यस्तै सपनै सपनाहरूले सजिए । सपना र टुक्कायुक्त भाषणहरू रेडियो र टेलिभिजनमा खुब बजिए । देशमा स्वप्नकाल र टुक्का टाइम मजैसँग चल्यो । कसैले-कसैले क्यावात् भने । कसैले वाइयात भने।क्यावात् र वाइयात भन्नेहरूको मारामारीले फेसबुकका भित्ताहरू चर्किए । कमेन्टका बाकसहरू आरोप प्रत्यारोपले भरिए । यो क्रम अझै पनि जारी छ ।

अब दुई बर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाई जनताको पेट कसले पाल्देला ? अनि फोहोरबाट इन्धन कसले निकाल्देला ? कसले लगाइदेला दाउराको लाइन ? अनि कसले पुर्‍याइदेला घर-घरमा ग्यासका पाइपलाइन ?

शैलेश भट्टराई
शैलेश भट्टराई

किनकि एकाएक घर-घरमा ग्यासका पाइपलाइनदेखि एक बर्षभित्र लोडसेडिङ अन्त्यका सपनाहरू सत्ताच्यूत भएका छन् र सत्ताच्यूत भएका छन् चुच्चे रेलदेखि चाइनिज तेलसम्मका सपना । अनि राष्ट्रिय ध्वजावाहक पानीजहाजको सपनादेखि तुइन तुहाउनेसम्मका सपना । आफैं तेल उत्खनन् गरेर विदेशमा बेच्ने सपना । ती सब सपना अहिले हुरीले उडाइदिएको छ ।

हुरीबाट तीन हजार मेघाबाट बिजुली निकाल्ने सपना पनि हुरीले नै उडाइदिएको छ । अर्थात् मुरलीधरले गाएको सुपरहिट गीत ‘उडायो सपना सबै हुरीले’ फेरि एकपटक हिट हुने भएको छ ।

खैर ! जे भए पनि मीठो सपना देख्दादेख्दै कसैले निन्द्रा भङ्ग गर्दा जति रीस उठ्छ, पंक्तिकारलाई पनि आज त्यस्तै रीस उठेको छ । त्यही भएर आज ती सपना टिकाउने जुलुसमा स्वतन्त्र भएर जानु छ । अलिअलि भत्ता खानु छ । स्वप्न सम्राटको प्रशस्ति गाउनु छ । विपनामा देख्न भोग्न नपाएका धेरै कुराहरू कमसेकम सपनामा देख्न पाइराखिएकै थियो । आखिर कसको के बिगारेका थिए र ती सपना र टुक्काहरूले ? कम्तिमा मनोरञ्जनात्मक युगमा जिउन त पाइराखिएको थियो ।

अब कसले अलाप्छ राष्ट्रियताका लामालामा रागहरू? कसले देखाउँछ सुनको फूल फूल्ने वागहरू ? कसले देखाउँछ आफू बाहेक अरूका राष्ट्रघाती दागहरू ? कसले देखाउँछ महाकालीमा फूलेको अनि नाकाबन्दीमा फक्रिएको ‘राष्ट्रवाद’ को फूल ? कसले देखाउँछ सेनापति प्रकरणमा फूटेको ‘राष्ट्रवाद’को मूल ?

अब कसले बोकाइदेला काँध काँधमा मूढा ? कसले टेकाइदेला काला बजारिया सामु जनतालाई घुँडा ? अब कसले दिने मधेसीहरूलाई यूपी र विहार ? कसले ल्याइदिने बाह्रैमास दसैं र तिहार ? अनि कसले ल्याइदिन्छ भूकम्प पीडितहरूलाई बहारै बहार ? कसले बेचिदिन्छ अब स्याटेलाइटबाट बिजुली ? अनि कसले देखाउँछ तराईमै हिउँचुली ?

भारतका पूर्वराष्ट्रपति कलाम भन्थे – ‘सपना त्यो होइन, जुन निदाउँदा देखिन्छ । सपना त्यो हो, जसले निदाउनै दिँदैन ।’ कलामको सपनासम्बन्धी यो विख्यात वाणी नेपालमा यसरी फिट भयो- ‘सपना त्यो होइन, जुन निदाउँदा देखिन्छ । सपना त्यो हो, जसले निदाउनै नदिई पेट मिचीमिची हँसाउँछ ।’

यसरी सपना देखाउँदा देखाउँदै उखान टुक्का सुनाउँदा सुनाउँदै हँसाउँदा हँसाउँदै ‘कमेडी टाइम्स विथ स्वप्न’ शिरोमणि सकिएछ । त्यसैले जाँदा जाँदै स्वप्नशिल्पीलाई एकपटक फेरि कोटीकोटी नमन !

अन्त्यमा

जसले सपना देख्छ, उसले केही गर्छ यो सही हो । भारतीय कवि अवतार सिंह ‘पाश’ ले त्यसै भनेका होइनन्- ‘सब से खÞतरनाक होता है हमारे सपनों का मर जाना’ अर्थात् सपनाहरूको मृत्यु सबैभन्दा खतरनाक हुन्छ । तर, जसले सपनाहरू केवल अरूलाई देखाउन, बेच्न र हँसाउन मात्र देख्छ, त्यस्ता सपनाहरूको मृत्यु खतरनाक हुन्छ जस्तो लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment