Comments Add Comment

कन्डक्टरदेखि सुपरस्टारसम्म रजनीकान्तको यात्रा  

rajanikanta in kabaliमुम्बई । रजनीकान्तले अभिनय गरेको फिल्म ‘कबाली’ शुक्रवारदेखि विश्वभर रिलिज भएको छ । यस फिल्मको व्यापारले यसअघिका विभिन्न रेकर्ड तोडिसकेको छ । रजनीकान्तको क्रेज यस्तो छ, टिकटको अग्रीम बुकिङ सकिए पनि टिकट पाउने आशामा दर्शकहरु आधा रातदेखि नै काउन्टर अगाडि लाम लागेको देखिए ।

अहिलेका सुपरस्टार रजनीकान्तको विगतबारे धेरैलाई थाहा नहुन सक्छ । उनी फिल्ममा आउनुअघि प्लम्बरको काम गर्थे । एक समय उनले कुल्लीको काम पनि गरेका थिए ।

सन् १९५० मा बैंगलोरको एक मराठी परिवारमा जन्मिएका रजनीकान्तको खास नाम शिवाजी राव गायकवाइ हो । चार सन्तानमध्ये उनी सबैभन्दा कान्छा हुन् । उनका बुबा रामोजी राव एक प्रहरी कन्स्टेवल थिए । उनकी आमाको मृत्युपछि घरको आर्थिक स्थिति निकै नाजुक बन्यो । त्यो समयमा उनले बसको कन्डक्टर भएर समेत काम गरे ।

कन्डक्टर हुँदा सिठी बजाउने र यात्रु बोलाउने उनको शैली निकै फरक थियो । उनको फरक शैली देखेरै उनका साथीहरुले मद्रास फिल्म इन्स्टिच्युटमा भर्ना हुने सल्लाह थिए ।

एक समय त्यही इन्स्टिच्युटमा मञ्चन गरिएको नाटक हेर्न रजनीकान्त गएका थिए । त्यसै क्रममा निर्देशक के बालाचन्द्रको नजर उनीमाथि पर्‍यो । निर्देशक यति प्रभावित भए, आफ्नो फिल्ममा अभिनय गर्ने मौका दिए ।

सन् १९७५ मा २५ वर्षको उमेरमा उनले तमिल फिल्म ‘अपूर्वा रागनागल’ मा पहिलो ब्रेक पाएका थिए । सो फिल्ममा कमल हसन मुख्य भूमिकामा थिए । जम्मा १५ मिनेटको रोल रहेको रजनीकान्तको भूमिकालाई त्यतिबेला कसैले नोटिस गरेन ।

Rajnikanth-Wallpaper-2

निर्देशक के बालाचन्द्रसँग रजनीकान्तको पहिलो भेट फिल्म इन्स्टिच्युटमा भएको थियो । पहिलो भेटमै उनलाई अफिसमा आउन निम्ता दिएका बालाचन्द्रले दोस्रो भेटमा फिल्ममा लिन लागेको जानकारी दिए । त्यतिबेला बालाचन्द्रले रजनीकान्तबारे आफ्ना साथीसँग कुरा गर्दै भनेका थिए – ‘यो मान्छे एकदिन तामिलनाडुमा तुफान बनेर आउँछ’ ।

नभन्दै उनलाई चर्चित हुन समय नै लागेन । आज पनि रजनीकान्त बालाचन्द्रलाई आफ्नो गुरु मान्छन् ।

तमिल फिल्म उद्योगका अर्का निर्देशक एस पी मुथुरामनले रजनीकान्तको फिल्मी इमेज बदल्न भूमिका खेलेका थिए ।

फिल्म ‘भुभाना और केलिभीकुरी’ मा मुथुरामनले रजनीकान्तलाई फस्ट हाफमा भिलेन र सेकेन्ड हाफमा हिरो बनाए । फिल्म अत्यधिक सफल भयो । सोही फिल्म सफल भएपछि रजनीकान्तलाई लिएर दोस्रो मेलोड्रामा बनाउने घोषणा गरे ।

मथुरामनकै फिल्म ‘अरिल्लीरुन्ती औरवाथु भाराइ’ मा रजनीकान्तले आफ्नो भाइको लागि सबथोक छोडेर हिँड्ने त्यागी मान्छेको भूमिका खेले । फिल्मको अन्तिममा उनी एउटा बूढो पात्रको रूपमा देखिन्छन् । यही फिल्मबाट उनी महिला फ्यानको बीचमा लोकप्रिय भए । मुथुरामनले बनाएका उक्त दुवै फिल्म रजनीकान्तको जीवनका महत्वपूर्ण फिल्म मानिन्छन् ।

अर्का निर्देशक जे महेन्द्रनको फिल्मवाट उनी अभिनेताको रुपमा स्थापित भएका थिए । तर, फिल्मी दुनियाँबाट उनी पूर्णरूपमा सन्तुष्ट थिएनन् । एकपटक अभिनय छोड्ने मुड समेत बनाएका उनलाई कमल हसन, के बालाचन्द्र लगायतले रोकेका थिए ।

निर्देशक के बालाजीको फिल्म ‘बिल्ला’बाट उनको फिल्मी करिअरको दोस्रो इनिङ सुरु भएको मानिन्छ । यसपछि उनले धेरै सुपरहिट फिल्म दिए । उनले वर्षमा दुईभन्दा बढी फिल्ममा अभिनय गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment