+
+
Shares

भारतले बनाएको एकतर्फी बाँध भत्कियो, फेरि बनाउन खोज्दा विरोध

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १२ गते १५:०७

Saptari Flood (7)

१२ साउन, सप्तरी । अविरल वर्षासँगै यतिबेला सप्तरी जिल्लाका विभिन्न गाविस डुबानमा छन् । एकातिर सप्तकोशीका ढोकाहरु समयमै नखोलिनु र अर्कोतिर सीमावर्ती नदीमा भारतले एकतर्फी बाँध बनाएका कारण सप्तरीबासीहरु थप सास्ती झेल्न बाँध्य छन् ।

यसैवीच सप्तरीको सीमावर्ती क्षेत्रमा पर्ने कुनौलीमा भारतले बनाएको एकतर्फी बाँध बाँढीले भत्काइदिएको छ । नेपाली भूमि डुबानमा पार्ने गरी चार वर्ष पहिले भारतले एकतर्फीरुपमा सो बाँध बनाएको थियो ।

यसैबीच लगातारको वर्षाले सप्तरीको अधिकांश ठाउँ जलमग्न भएपछि भारतले कुनौलीमा बाँध्न लागेको एकतर्फी बाँध तत्काल नबाँध्ने भएको छ ।

करिब चार वर्ष अगाडि भारतले बाँधेको एकतर्फी बाँधका कारण नेपालतर्फका गाविसहरु जलमग्न हुँदै आएका छन् । तर, पछिल्लोे शनिबार बाढीकै कारण यो बाँध एक्कासी भत्किएको थियो ।

बाँध भत्किएपछि सोमबार भारतीय अधिकारीहरुले सो स्थलको निरीक्षण गरी तत्कालै बाँधको मर्मत गर्ने र फेरि बाँध्ने कोशिस गरेका थिए । तर, नेपाली पक्षको विरोधका कारण भारतीयहरु पछि हटेका छन् ।

भारतीय पक्षले पुनः यो बाँध बाँध्न लाग्दा सोमबार बिहान नेपाल तथा भारतका सुरक्षा अधिकारी एवं प्राविधिकहरुको संयुक्त बैठक बसेको थियो । सोही बाँधका कारण नेपालमा डुबान भइरहेकाले तत्कालै सो बाँध नबाँध्न नेपाली पक्षले आग्रह गरेको थियो । सो छलफलपछि भारतले तत्काल बाँध नबाँध्नेमा सहमति जनाएको सशस्त्र प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए ।

भारतले तत्कालै बाँध बाँधेको खण्डमा सप्तरीमा थप क्षति हुने भएकाले यस्तो सहमति गरिएको उनले बताए ।

अविरल वषर्ाका कारण खाँडो नदीको बाँध भत्केर आएको बाढीको पानी सकरपुरा गाविसका सबै वडाका बासिन्दाको घरमा पसेको थियो । सकरपुराका सबै तथा लौनिया र तिलाठीका केही घरमा दुईदेखि तीन फिटसम्म पानी जमेको छ । शुक्रबार रातिदेखिको अविरल वषर्ाका कारण जिल्लाका करिब तीन हजारभन्दा बढी घर डुबानमा परेका थिए । सबैभन्दा बढी सकरपुराका घर डुबानमा परेको छ । यहाँका ५ सयभन्दा बढी घर डुबानमा परेको प्रहरीको भनाइ छ ।

खाँडो खोलाको बाँध भत्केर आएको बाढीले सकरपुरा, तिलाठी, लौनिया, बभनगामाकट्टी, विषहरियासहितका गाविसका घरहरु डुबानमा परेका थिए ।

यस्तै महुली खोलाको बाँध भत्केर आएको बाढीले भारदह, पोर्ताहा गाविसका घरहरु डुबानमा परेका थिए ।

बाढीका कारण सप्तरी सदरमुकाम राजविराजसहित सकरपुरा, लौनिया, तिलाठी, कोइलाडी, दिघवा, महदेवा, मधवापुर, भगवतपुर, बथनाहा, भारदह, पोर्ताहा, मैनाकडेरी, विषहरिया, कोइलाडी बर्साइन, को मधेपूरा, बभनगामाकट्टी गाविसका साथै कञ्चनरुप तथा सप्तकोशी नगरपालिकाका धेरै घर डुबानमा परेका छन् ।

उता कोशी ब्यारेजमा पानीको सतह उच्च भएसँगै सप्तरी र सुनसरीका अधिकांश बस्तीहरु जोखिममा परेका छन् । ब्यारेजको पुलमा सवारी साधनमाथि चेकिङ गर्न निर्देशन दिन भारतले ब्यारेजका ढोकाहरुको तालाचाबी आफूले बोकेर बसेको र समयमा पानीको निकास नखोलिदिँदा जिल्लाबासीहरु डुबानको थप त्रासमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?