Comments Add Comment

नाटकः पुरुष शक्तिको चेपुवामा परेकी ‘माधवी’

निर्देशक टंक चौलागाईंसँग बार्तालाप

पुरुष सत्ताले नारीलाई उपभोगको साधन बनाएको प्रतिनिधि पात्र हुन् माधवी । दानवीर पिताबाट दानमा सुम्पिएकी छोरी जब कुनै युवकको हातमा पुग्छे, ऊ घुमाइ फिराई राजाहरूको भोग्या हुन विवश हुन्छे ।

एउटा साधकको उद्देश्य प्राप्तिका लागि भोगविलासको साधन बने पनि उसले फेरि पनि त्याग र निष्ठाको कठघरामा उभिनुपर्छ । भोग्या बनाउने पात्रप्रति प्रेमले समर्पित भएर आफूलाई दाउमा लगाउने माधवीबारे त्यो पात्र शंकालु भइरहन्छ – ‘खासमा माधवी के सोच्छे ? उसको मनमा के खेलिरहेको छ ?’

पुरुष सत्ताको खेलखोर दर्शाउने ऋग्वेदकालीन नाटक ‘माधवी’ अहिले शिल्पी थिएटरमा मञ्चन भइरहेको छ । माधवीको विषयमा मदनमणि दीक्षितले गहन उपन्यास लेखेका छन् । यो नाटक भने थिएटर प्रज्ञाले भारतीय लेखक भीष्म साहनीको नाटकलाई अनुवाद गरी शिल्पीसँगको सहकार्यमा तयार पारेको हो । घिमिरे युवराज र अर्चना पन्थीको मुख्य अभिनय रहेको नाटकमा जीवन बराल, प्रदीप रेग्मी, सरोज अर्याल, राम केएसी, प्रदीप रेग्मी, किशोरकुमार चौलागाईँ लगायतको अभिनय छ ।

यही नाटकको विषयमा निर्देशक टंक चौलागाईंसँग अनलाइनखबरले गरेको कुराकानी:

Tanka-Chaulagain
टंक चौलागाईं

नाटक गर्न नयाँ विषयहरू पनि थिए होलान्, पौराणिक विषयजस्तुकै नाटक किन छानियो ?

– पहिले हामीले ‘चौतारा लक्ष्मीनारायण’ भन्ने ऐतिहासिक विषयवस्तुको नाटक गरेका थियौं । त्यसपछि पौराणिक विषयमै काम गरौं भन्ने कुरा भयो । मलाई जंगबहादुरको बारेमा नाटक गर्न मन थियो । जंगबहादुर सम्बन्धी थुप्रै किताब पनि पढेँ । तर, चरित्रहरूमा अझै काम गर्न सकिएन । राम लोहनी सरले माधवी नाटक गर्न सुझाएपछि यो छनोट गरियो ।

महिलालाई कसरी साधनको रूपमा प्रयोग गरिएको छ भनेर देखाइएको छ यो नाटकमा । हिन्दूसहित सबै धर्मका गुरु र धर्मावलम्बीहरूलाई यसले व्यङ्ग्य गरेको छ । महिलाबाटै सबै कुरा प्राप्त भए पनि उसलाई सबैतिर साधनकै रूपमा प्रयोग गरिएको पाइन्छ । नारीवादी दृष्टिकोणबाट लेखिएको यस्तो गतिलो नाटक अरु नभेटेकैले माधवी छानेको हो ।

नाटककी पात्र माधवीको भोगाइ र आजका नेपाली नारीको अवस्था उस्तै छ कि फरक देख्नुहुन्छ ?

– केही पनि फरक छैन । यो नाटक गरिरहँदा मैले आफूलाई पनि असाध्यै विश्लेषण गरेँ । यो नाटक गर्दा मलाई श्रीमतीले निकै सघाइन् । नाटकको पात्रलाई आफ्नो व्यक्तिगत जीवनसँग जोडेर हेर्दा आफूले श्रीमतीलाई जतिसुकै राम्रो गरुँ भन्दा पनि केही न केही भइरहेकै हुँदो रहेछ । यस्तो नगरुँ भन्दा पनि न्याय गर्न नसकिने । व्यक्तिगत जीवनका साथै समाजमा पनि यस्ता घटना थुप्रै छन् । यसैले गर्दा पुरुष र महिलाको सम्बन्धमा टकराव र फाटो आएको देखिन्छ ।

नाटक तयार पार्न कति समय र मिहिनेत लाग्यो ?

– पहिले त भीष्म साहनीको मूल नाटक खोज्नै समय लाग्यो । काठमाडौंका पुस्तक पसलमा मगाउँदा पनि नाटकको पुस्तक आएन । पछि भारतबाट निकै प्रयास गरेर थिएटर भिलेजका विमल सुवेदीले पुस्तक ल्याइदिनुभयो । त्यसलाई अनुवाद गर्ने क्रममा झन्डै आठ महिना लाग्यो । कलाकारहरूलाई नाटक पढ्न र रिहर्सलको समय गरी ठ्याक्कै डेढ महिना लाग्यो । मूल नाटक साढे दुई घन्टाको र अलिक अल्छीलाग्दो थियो, हामीले थोरै भए पनि नयाँ तरिकाले प्रस्तुत गर्ने प्रयास गर्‍यौं ।

यो नाटकमा २०/२२ जना कलाकार छन् । मैले स्कुलमा एकैचोटि ८०/९० जना विद्यार्थीसँग पनि नाटक गरेको छु, थिएटरमा भने अलिक गाह्रो हुने रैछ । स्कुलमा सबै विद्यार्थी एकै ठाउँमा हुने भएकोले सजिलो हुन्छ । तर, थिएटरमा विभिन्न काममा व्यस्त कलाकारहरूलाई रिहर्सलका क्रममा नियमित जुटाउनुपर्‍यो । माधवी भन्ने क्यारेक्टरलाई बनाउन सबैभन्दा बढी मिहिनेत पर्‍यो । यो क्यारेक्टरको लागि उपयुक्त हुने थिएटरमा नियमित काम गर्ने कोही पनि साथी देखिनँ । एकदमै नयाँ कलाकार लियौं । यसले झन् काँचो माटो जसरी आफूले चाहेजस्तो आकारमा ढाल्न सकियो ।

नाटक तयार भएर हेरेपछि निर्देशकको रूपमा आफू कति सन्तुष्ट हुनुभयो ?

– केही कुरा खडि्कए पनि सन्तुष्ट नै छु । चुनौतीपूर्ण विषयवस्तु भएकोले यो नाटक गर्दा एक हिसाबले जोखिम लिएकै हो । रिहर्सलको अघिल्लो दिनसम्म पनि नाटक यो र्फममा आउँछ भन्ने थिएन । किनभने धेरैजसो नयाँ कलाकार हुनुहुन्थ्यो, नयाँ कलाकारले नाटकको मर्मअनुसार भाव नबुझिदिँदा समस्या हुन्थ्यो । हामीले नाटक तयार पार्ने क्रममा धेरै जनासँग अन्तर्क्रिया गर्‍यौं । माधवीकै विषयमा शोध गर्ने प्रेम भण्डारी लगायतसँग कलाकार साथीहरूलाई छलफल गरायौं । त्यसपछि साथीहरूलाई कथा बुझ्न केही सजिलो भयो ।

पहिलेको समय नाटकमा उतार्दा मञ्च निर्माण, वेशभूषा, संवाद प्रस्तुति लगायतमा न्याय गर्न कत्तिको चुनौती हुन्छ ?

– एकदमै गाह्रो काम हो । के गर्ने भनेर निर्णय गर्नुपर्छ । जस्तै, सेटमा आश्रम छ भने रुखको छेउछाउमा झोपडी बनाउने कि नयाँ तरिकाले गर्ने भन्ने निर्णय लिन एकदम चुनौती हुन्छ । नाटकको थिम के हो, त्यसले के माग्छ भन्ने कुरालाई आधार बनाएर सेट निर्माण गर्ने कि कथामा जे छ त्यस्तो बनाउने भनेर निर्णय लिन गाह्रो हुन्छ । माधवीमा हामीले सबैजसो कुरा प्रतीकात्मक रूपमा प्रयोग गरेका छौं । सबै मिलाउन चुनौती भए पनि न्याय गरेका छौं भन्ने लाग्छ ।

Madhviदर्शकबाट कस्ता प्रतिक्रिया पाउनुभएको छ ?

– पुरानो विषय भएकोले मान्छेहरू निदाउँछन् होला भन्ने लागेको थियो । तर, राम्रो प्रतिक्रिया पाइरहेको छु । मलाई कमेडी र हल्काफुल्का विषयका नाटकहरू खासै मन पर्दैन । हेरुन्जेल रमाइलो भए पनि त्यस्ता नाटकले केही महत्व राख्दैनन् । त्यही भएर गाह्रो नाटक खोजियो । धेरै जनाले मदनमणि दीक्षितको ‘माधवी’ उपन्यास गाह्रो भएकोले पढ्न सकिएन, यो नाटक हेरेर बुझ्न सजिलो भयो भनेर प्रतिक्रिया दिएका छन् । मास नआए पनि एउटा क्लास आउँछ भनेर नै यो नाटक छानेको हो । हेर्ने जतिले राम्रो भनेपछि खुसी लागेको छ ।

केही गुदी भएको कुरा देखाउँछु भनेर सीमित मान्छेको लागि मात्र नाटक बनाउँदा व्यावसायिकरूपमा सफल भइएला त ?

– व्यावसायिकतामा खासै अप्ठेरो नपर्ने रैछ । खर्च उठ्छ । नाटक बनाउँदा लक्षित वर्ग सोच्नैपर्छ । तर, व्यावसायिकताका लागि केही न केही टुल्स प्रयोग गर्नैपर्छ । स्कुल र कलेजको विद्यार्थीलाई टार्गेट गर्ने हो कि अरु के उपाय लगाउने ?

मैले सुनेअनुसार एमएको कोर्समा ‘माधवी’ पढ्नुपर्छ । हरेक नाटकमा नयाँ-नयाँ दर्शक आइरहेका हुन्छन् । कतिपय नाटक नराम्रो बने पनि अनावश्यक हल्लाखल्ला र स्टन्टले पनि चलेका देखिन्छन् । त्यसको पछि त लाग्ने कुरा भएन । मासलाई टार्गेट नगरे पनि नाटकले विषयको गम्भीरता अनुसार दर्शकलाई तान्छ ।

थिएटर प्रज्ञाको अर्को नाटक पनि यस्तै पौराणिक तथा ऐतिहासिक विषयको आउँछ कि के योजना छ ?

– योपटक नयाँ नाटक गर्नुपर्छ भन्ने लागेको छ । तीन महिनापछि काम थाल्ने तयारी हुँदै छ । त्यो पनि विदेशी नाटक नै हो । तर, माधवी नाटकप्रति दर्शकबाट पाएको प्रतिक्रियाले यस्तै गहन विषयवस्तुको नाटक खोज्ने कि भन्ने पनि छ । किनभने हामीले दर्शकको ठूलो दायरा खोजेर नहुने रैछ । सीमित दर्शकको लागि नाटक बनायो भने राम्रो हुने रैछ ।

प्रस्तुति: जोतारे धाइबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment