१८ साउन, काठमाडौं । प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारमा सहभागी हुने इच्छा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले देखाइसकेका छन् । त्यस्तै कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि सरकारमा आउन सक्ने भित्री संकेत गरिरहेको छ । तर, थापा र गच्छदारलाई सरकारमा आउनबाट रोक्ने खेल सुरु भएको छ, जसले प्रचण्ड-सरकारलाई कमजोर बनाउनेछ र तालाचाबी मधेसी मोर्चाको हातमा सुम्पने छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कमल थापा नेतृत्वको राप्रपा नेपाल र विजय गच्छदार नेतृत्वकोसरकारमा सामेल नगराउन कांग्रेस र माओवादीलाई गतिलै दबाव दिएको छ । संभवतः यही कारणले हुनुपर्छ, मंगलबार प्रचण्डले प्रधानमन्त्रीका लागि उम्मेद्वारी दर्ता गरिरहँदा उनका साथमा विजयकुमार गच्छदार थिएनन्, उपेन्द्र यादवहरुमात्रै थिए ।
मधेसी मोर्चाले यी थापा र गच्छदारका यी दुई शक्तिलाई सरकारमा सहभागी गराइए सहमतिको वातावरण धमिलो बन्ने सन्देश पठाएको कांग्रेसका एक नेताले अनलाइनखबरलाई बताए । ‘उहाँहरुले विजय गच्छदार र कमल थापाको नाममा गम्भीर रिजर्भेशन राख्नुभएको छ’ ती नेताले अनलाइनखबरसँग भने ।
गच्छदारले आफूलाई सरकारमा जानबाट रोक्ने हिम्मत भए रोकेर देखाउन चुनौती दिएको भोलिपल्टै कांग्रेस र माओवादीका दोस्रो तहका नेताहरुबीच यसबारे सिंहदरबारको संसद सचिवालयमा छलफल भएको थियो ।
मधेसी मोर्चासँग सहमति गर्नु अब बन्ने सरकार र सत्ता गठबन्धनको मुख्य प्राथमिकता रहेकाले उनीहरुलाई भड्काउने ढंगले काम गर्न नहुने ती दलका नेताहरुको सुझाव छ । यसका लागि गच्छदारलाई केही समय रोकेरै भए पनि मधेसी मोर्चालाई फकाउने रणनीतिमा कांग्रेस र माओवादी लागेको स्रोत बताउँछ ।
‘मधेसी मोर्चाकोसरकारले सम्बोधन गर्न सक्ने मागलाई क्याबिनेटबाट निर्णय गर्ने र संविधान संशोधनको मागमा राजनीतिक सहमति जुटाउने ढंगले अघि बढ्ने तयारी भइरहेको छ’ ती कांग्रेस नेताले भने ।
तर, गच्छदार र कमल थापालाई सरकारमा लिन नहुने मोर्चाको अनौपचारिक दबावलाई शेरबहादुर देउवा र प्रचण्डले नोटिसमा लिएको ती कांग्रेस नेताले बताए । ‘गच्छदारको सवालमा उहाँहरु दुईतर्फी दबावमा हुनुहुन्छ, तर, कमल थापाको सवालमा सायद त्यस्तो नहोला’ उनले भने ।
मधेसी मोर्चालाई विश्वासमा लिनकै लागि भए पनि पहिलो चरणमा गच्छदारलाई सरकारमा सहभागी नगराइने उच्च स्रोतले जनाएको छ । पहिलो चरणमा कांग्रेस, माओवादी, नेकपा संयुक्तलगायत अविश्वास प्रस्ताव दर्ता गराउने दलहरुमात्रै सहभागी भएको सरकार गठन हुनेछ ।
यद्यपि मंगलबार प्रचण्डको उम्मेद्वारी दर्तामा विजय गच्छदारको पार्टीबाट योगेन्द्र चौधरीले उपस्थिति जनाएका थिए । फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउन ठूलै शक्तिले दबाव दिइरहेको स्रोतको भनाइ छ ।
उता कमल थापालाई पनि माओवादी अध्यक्ष प्रचण्डले दुई दिन अघि भेटेर सरकारलाई सघाउन आग्रह गरेका छन् । र, यही आग्रहअनुसार राप्रपा नेपालले सरकारलाई समर्थन गर्न सक्ने संकेत दिइरहेको छ ।
आफ्नो सरकारमा राप्रपा नेपाललाई समेत सहभागी गराउन सके शक्ति आर्जन गर्न सकिने र मधेसी मोर्चा, राप्रपा, फोरम लोकतान्त्रिक र साना दललाई समेत समेट्न पाए राष्ट्रिय सहमतिको रुप दिन सकिने विश्वासमा प्रचण्ड रहेको स्रोत बताउँछ ।