बीस वर्ष भएछ शान्ति र क्रान्तिको बिहे भएको । शान्तिलाई आज पनि त्यो दिनको याद आउँछ, जुन दिन क्रान्तिले मायाको जाल बिछ्याएर उसलाई आफ्नो बनाएको थियो ।

अझै याद आउँछ त्यो कालरात्रिको, जुन समय क्रान्तिले शान्तिलाई जीवनभर साथ नछोड्ने कसम खाएर प्रेमलाई बिहेमा परिणत गरेको थियो ।
समय आफैंमा चलायमान हुन्छ, चल्दै गयो ।
शान्तिको आँखाबाट आँसु झर्न त परको कुरा, मुहारलाई उदास समेत हुन नदिने क्रान्ति पनि फेरियो । सुखका कम र दुःखका बढी दिनहरु बिते । एकदिन अचानक क्रान्तिले शान्तिसामु सम्बन्ध विच्छेदको कुरा गर्यो ।
शान्तिको हँसिलो मुहारमा औंसी छायो ।
साथीहरुको कुरा सुन्दा थाहा भयो, क्रान्तिले नयाँ विद्रोहीसँग अफेयर चलाएको रहेछ । क्रान्तिले शान्तिसँगै जिउने-मर्ने भनेर खाएको कसम झुटो पो रहेछ । उसले शान्तिसँग बिहे गर्नु बाध्यात्मक परिस्थितिको उपज हो भन्ने राजनीतिक शब्द बोल्न थालेछ ।
यो समाजले शान्ति र क्रान्तिको बीचमा आएकी विद्रोहीको पनि गल्ती देखेन । समाजले न शान्तिलाई न्याय दियो, न त विद्रोहीलाई नै बुहारी स्वीकार्यो ।
त्यसैले आजकाल क्रान्ति र विद्रोही कसैले नदेख्ने ठाउँमा डेटिङ जान्छन् ।
शान्ति चाहिँ क्रान्ति आएर परिवारमा सुख फर्कने दिन पर्खँदै अशक्त छोरो परिवर्तनलाई काखी च्यापेर बसेकी छे ।
प्रतिक्रिया 4