Comments Add Comment

प्यूठानका पहिरो पीडितले पाए राहत

rahat_pyuthan

२१ साउन, प्यूठान। अविरल वर्षसँगै आएको पहिरोका कारण विस्थापित भएकाहरुलाई प्यूठानमा राहत वितरण कार्य शुरु भएको छ । सडक अवरुद्ध हुँदा बजार क्षेत्रमा थन्किएका राहत सामाग्रीहरु पीडित सम्म पुर्‍याउन थालिएको छ ।

विभिन्न निकायहरुले संकलन गरेको खाद्य तथा गैर खाद्य सामाग्रीहरु वितरण शुरु गरिएको जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

पहिरोबाट प्रभावित १३ गाविसकै लागि विहिवारदेखि वितरण शुरु गरिएको हो । फोप्ली गाविसका लागि फोप्ली-२ लुप्लुङसम्म सामाग्री पुर्‍याइएको छ । खवाङ, लुङ, स्याउलिवाङ, डामृ, लिघाका लागि धर्मावती धाइरेसम्म सवारी मार्फत सामाग्री पुर्‍याइएको छ । त्यहाँबाट बोकाएरै दुई घण्टाको यात्रामा बाहाने पुर्‍याइएको छ ।

 ओखरकोट, लिवाङ, खुङ र पुँजाको लागि नारिकोटको रातामाटाबाट राहत वितरण थालिएको छ । अर्खा, रजवाराको लागि खुङको सालिविसौनाबाट राहत वितरण थालिएको छ । गैर सरकारी संस्था महासंघ प्यूठान मार्फत जिल्लामा क्रियाशिल सामाजिक संस्थाहरु, कारितास नेपाल, आक्स फाण्डेसन काठमाण्डौं, पतञ्जली योग पीठ, होटल व्यवसायी संघ प्यूठान, आइएमइ इन्टरनेश्नल, नेपालगञ्ज उद्योग बाणिज्य संघ, नेपालगञ्ज क्षेत्रका लायन्स क्लवहरुले पीडितहरुका लागि खाद्यान्न सामाग्री वितरण गरेका छन् ।

राजनीतिक दलहरु पनि राहत वितरणमा सक्रिय 

 जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले पनि पीडितसम्म राहत पुर्‍याउन सक्रियता देखाएको छ । १३० परिवारका लागि २५ किलो चामल, ५ केजि दाल सहित खाद्य सामाग्री वितरण थालिएको नेकपा एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले बताए ।

राष्ट्रिय जनमोर्चाले प्रति मृतक पाँच हजारका दरले नगद सहयोग प्रदान गरेको छ । नेकपा माओवादी केन्द्रले संकलन गरेको खाद्य सामाग्री फोप्लीमा वितरण गरेको छ । नेपाली कांग्रेस प्यूठानले पार्टी सदस्यहरुबाट संकलन गरेको सहयोग रकमबाट खाद्यान्न सामाग्री खरिद गरि वितरण गरिएको कांग्रेस सभापति अम्मरराज भण्डारीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment