Comments Add Comment

प्रचण्डले थाले तीनबुँदे सहमति कार्यान्वयन, उपेन्द्र भन्छन्- राम्रो संकेतका रुपमा लिएका छौं

prachanda_morcha meet

२१ साउन, काठमाडौं । नवगठित सरकारले मधेसी मोर्चा/संघीय गठवन्धननसँग भएको तीनबुँदे सहमति कार्यान्वयन थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहण गरेको भोलिपल्टै शुक्रबार मोर्चा र गठवन्धनका नेताहरुसँग वार्ता गरेका छन् । मधेसी मोर्चा र गठवन्धनले यसलाई सकारात्मक कदम भनेको छ ।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको उपस्थितिमा सिंहदरबारमा भएको वार्तामा सहमति कार्यान्वयन प्रक्रियाबारे छलफल भएको छ ।

बैठकमा तीनबुँदे सहमतिको दोस्रो बुँदा कार्यान्वयनबारे सकारात्मकक छलफल भएको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले अनलाइनखबरलार्इ बताए । उनका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले तीनबुँदे सहमतिलाई कसरी प्रभावकारीरुपमा कार्यान्वयन गर्न सकिन्छ भनेर सुझाव मागेका छन् ।

यादवका अनुसार प्रधानमन्त्री प्रचण्डले शुक्रबार नै क्याबिनेट बैठक राखेर आवश्यक निर्णय गर्ने जानकारीसमेत गराएका छन् । छलफलमा गृह र कानुन सचिवलाई पनि बोलाइएको थियो ।

गृहसचिवले मृतकलाई सहिद घोषणा र पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय यसअघि पनि भएको सो छलफलमा बताएका थिए । तर, पीडित परिवार सम्पर्कमा नभएकाले केहीले राहत पाएका छैनन् भने मृतकको संख्यामा पनि फरक-फरक दाबी छ । मधेसी मोर्चाले शहीद ६० जना भनेको छ । तर, गृह प्रशासनले यो संख्यालाई स्वीकार गरेको छैन ।

बैठकमा गृहसचिवले मोर्चाका नेताहरुलाई विवरण पेश गर्न आग्रह गर्दै जिल्ला प्रशासनबाट पनि तथ्यांक लिएर यकिन गर्ने बताएका छन् । यसैगरी कानुन सचिवले भने मुद्दा फिर्ताका लागि मन्त्रालयले यसअघि नै मापदण्ड बनाएको भन्दै त्यसअनुसार प्रक्रिया अघि बढाउन तयार रहेको ब्रिफिङ गरेका छन् ।

मधेसी मोर्चाका नेताहरुका अनुसार तीनबुँदे सहमतिको दोस्रो बुँदाका अधिकांश विषय शुक्रबार मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रचण्डको प्रतिवद्धता छ । आन्दोलनका क्रममा भएका भएका घटनाका छानविनका लागि आयोग गठन गर्ने सहमति भने केही दिनमा कार्यान्वयनमा आउने प्रचण्डले बताएका छन् ।

फोरम गणतान्त्रिकका अध्यक्ष यादवले भने, ‘हिजो राति ११ बजे हामीलाई खबर आयो । हाम्रो वीचमा पनि छलफल भएको थिएन । त्यसैले केही दिन गृहकार्य गरेर आयोग गठन गर्ने समझदारी भएको छ ।’

बैठकमा राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने सहमति कार्यान्वयनका लागि कार्यदल बनाएर गृहकार्य सुरु गर्नेबारे छलफल भएको छ ।

बैठकपछि संघीय गठवन्धनका संयोजक एवं फोरम अध्यक्ष उपेन्द्र यादवले सञ्चारकर्मीहरुसँग भने, ‘प्रधानमन्त्रीको सपथ लिएकै भोलिपल्ट यसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता आउनुलाई ‘गुड गेश्चर’का रुपमा लिन सकिन्छ ।’

मुख्य विषय राजनीतिक समाधान भएको भन्दै यादवले  यसलाई पनि चाँडै पहल सुरु हुनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment