Comments Add Comment

परराष्ट्रमा शेखरलाई रोक्ने उपेन्द्र ! मन्त्रिपरिषद विस्तारको तयारी

राप्रपा र नेकपा संयुक्तबाट पनि मन्त्री बन्दै

sekher-koirala-1

२३ साउन, काठमाडौं । पहिलो मन्त्रिपरिषद गठनमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाको नाम नपर्दा नेपाली कांग्रेसका धेरै नेता-कार्यकर्ता आश्चर्यमा परे । धेरै केन्द्रीय सदस्यहरुले नै यो खबरलाई सहजै पत्याउन सकेनन् ।

तर, प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा मन्त्री हुने कांग्रेसका नेताहरुमा शेखर परेनन् । उनी परराष्ट्रमन्त्री बन्ने लगभग पक्काजस्तै थियो । तर, कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक मात्र मन्त्री बने ।

शेखर कोइरालाजस्तै मन्त्रीका लागि छनौट भएका अर्जुननरसिंह केसी पनि गृह मन्त्रालय नपाएको भन्दै सपथ खान गएनन् ।

उच्च स्रोतहरुका अनुसार मन्त्रीको सूचीबाट शेखर कोइरालाको नाम काटिनुमा उपेन्द्र यादवको भूमिका छ । प्रचण्ड सरकारलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव संयोजक रहेको संघीय गठवन्धनले समर्थन गरेको छ ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको वार्तामा परराष्ट्र मन्त्रालय यादवका लागि राख्नेबारे छलफल भएको थियो ।

मधेसी मोर्चा सरकारमा आउने भए परराष्ट्र मन्त्रीमा हाल कसैलाई पनि नियुक्त नगर्ने दुई नेताको तयारी थियो । जसका कारण अन्तिम समयमा आएर देउवाले शेखरलाई परराष्ट्रमन्त्री बनाउन सकेनन् ।

देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार देउवाले कोइरालालाई स्वास्थ्यमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, चिकित्सकसमेत रहेका डा. शेखरले परराष्ट्रबाहेक अरु मन्त्रालयमा जान्न भनेपछि पहिलो चरणमा उनी मन्त्री बनेनन् ।

अब शेखरले परराष्ट्र नै पाउने

तर, मधेसी मोर्चा तत्काल सरकारमा आउने सम्भावना नरहेपछि परराष्ट्र मन्त्रालय कांग्रेसले नै लिने भएको छ । र, यसमा डा. शेखर कोइरालालाई नै पठाउने तयारी भइरहेको देउवानिकट एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई बताए ।

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच शनिबार भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको छ । सम्भवतः मंगलबार मन्त्रिपरिषद् विस्तार हुनेछ ।

नेताहरुका अनुसार नेपाल विद्यार्थी संघको महाधिवेशन सकिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने देउवाको प्रस्ताव प्रचण्डले स्वीकार गरेका छन् । नेविसंघको महाधिवेशन आइतबार सुरु भएको छ ।

मंगलबार हुन सक्ने मन्त्रिपरिषद विस्तारमा सरकारको नेतृत्व गरिरहेको माओवादी र कांग्रेससँगै राप्रपा र नेकपा संयुक्त पनि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment