Comments Add Comment

अपहरण मुक्त भारतीय बालिकालाई नेपाल प्रहरीले अभिभावकको जिम्मा लगायो

Sparsha-Agrawal
बालिका स्पर्श अग्रवाल आफ्नो अभिभावकसँग

२४ साउन, विराटनगर । भारतको बिहारस्थित कटिहारबाट अपहरणमा परेकी बालिकालाई नेपाल प्रहरीले उद्धार गरी परिवारलाई जिम्मा लगाएको छ । गत बुधबार केजी कक्षामा अध्ययनरत बालिका स्पर्श अग्रवाल बिहारबाट अपहरणमा परेकी थिइन् ।

उनलाई पथरीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोलीले उद्धार गरी अभिभावकको जिम्मा लगाएको हो । ति बालिकालाई शनिश्चरे नगरपालिकाको पथरी बजारस्थित रिता साहको घरबाट प्रहरीले सकुशल मुक्त गरेको थियो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उद्धार गरिएकी बालिकालाई उनका बुवा भानु र आमा सपनाको जिम्मा लगाइएको थियो । भानु र सपनाले नेपाल प्रहरीले सकुशल उद्धार गरिदिएकामा नेपाल प्रहरीलाई धन्यवाद दिए ।

प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेका अनुसारमा अपहरणमा संलग्न सुनसरीको इनरुवा नगरपालीका-५ का ४४ वर्षीय दिनेश गुप्ता पक्राउ परेका छन् । गुप्ताको साथबाट एक थान ल्यापटप र चार वटा मोबाइलको सिमकार्ड बरामद भएको छ ।

पत्रकार सम्मेलनमा भने प्रहरीले गुप्तालाई सार्वजनिक गरेन ।

मावली घर सुनसरीको इटहरी रहेकी बालिकालाई अपहरणकारीले गाडीमा राखेर सुनसरीको कप्तानगञ्जको बाटो हुँदै नेपाल भित्र्याएको र उक्त जानकारी नेपाल प्रहरीले पाएको १८ घण्टापछि प्रहरी टोलीले उनलाई मुक्त गर्न सफल भएको नायव महानिरीक्षक घिमिरेले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले पैसाको लागि बालिकालाई अपहरण गरेको र चार जनाको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment