Comments Add Comment

फेसबुकले बचायो आत्महत्या गर्न हिँडेकी युवतीको ज्यान

Facebook२५ साउन, काठमाडौं । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ ।

सामाजिक सञ्जालबाट आत्महत्या गर्ने सूचना पाएकै आधारमा महानगरीय अपराध महाशाखाले युवतीलाई उद्धार गरेको हो । एमबीबीएस अध्ययन गरिरहेकी ती युवतीले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्न लागेको स्टाटस पोस्ट गरेकी आजको राजधानी दैनिकमा समाचार छ ।

प्रहरीका अनुसार स्टाटस पोस्ट गरेलगत्तै उनी जोगवनीबाट सिधै बनारसतर्फ लागिन् । सो स्टाटस पोस्ट गरेपछि आफूसँग भएको मोबाइलसमेत सम्पर्क विच्छेद गरेर उनी बनारसतर्फ गएकी थिइन् । उनको स्टाटस पढेपछि परिवार निकै चिन्तित बन्यो ।

उनका परिवारका सदस्य तत्कालै महानगरीय अपराध महाशाखामा सो सूचना लिएर पुग्यो । ती युवतीकी आमा र बहिनीले सो घटनाबारे सवै कुरा महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सवेन्द्र खनाललाई बताएपछि खनालले तत्कालै मोरङ प्रहरीमा सम्पर्क गरी उद्धारमा खटाए ।

कपिलबस्तु स्थायी ठेगाना भई काठमाडौंमा बस्दै आएकी उनकी आमा र बहीनीले सो घटनापछि निकै तनाबमा थिए ।  उनको आमाको मोबाइल भारतीय नम्बरबाट मिसकल आएको थियो । आमाको मोबाइलमा आएको भारतीय नम्बरमा कल गरी विराटनगर प्रहरीलाई त्यसको लोकेसन दिई भारतीय प्रहरीलाई समेत सहयोग मागेका थिए ।

स्रोतका अनुसार भारतीय नम्बर जोगबनीनजिकै रहेको रेल्वे स्टेसनमा कार्यरत आरटीओको रहेको पत्ता लागेको थियो। खनालले सोधपुछ गरेपछि युवतीले आफूसँग मोबाइल नभएको र घरमा फोन गर्न मोबाइल मागेको बताएको स्टेसनका कर्मचारीले जानकारी दिएका थिए ।

रेल्वे स्टेसनमा काम गर्ने ती कर्मचारीले युवती बनारसको रेल चढेर गएको जानकारी दिएपछि खनालले बिहार पुलिसको कटियारस्थित स्टेसनका प्रमुखलाई फोन गरेर सहयोग मागेका थिए ।

ती युवतीलाई भारतीय प्रहरीले आइतबार साँझ रेलमा यात्रा गरिरहेकै अवस्थामा नियन्त्रणमा लिन सफल भयो ।

आगामी बिहीबारबाट परीक्षा रहेका कारण यस विषयमा परीक्षा सकेपछि  मात्रै युवतीसँग सोधपुछ गरिने महाशाखाले जनाएको छ । परीक्षा  नजिकै आएकाले ती युवती विक्षिप्त भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment