Comments Add Comment

फेवातालमा डुङ्गा पल्टिदा हराएकाहरु अझै भेटिएनन्

Fewa tal (1)

२५ साउन, पोखरा ।  फेवातालमा सोमबार अपरान्ह डुङ्गा पल्टिदा बेपत्ता दुई जनाको खोजीकार्य भइरहेको छ ।

सोमबार साँझसम्म खोज्दा पनि फेला नपरेपछि मंगलबार विहानैदेखी खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सोमबार अपरान्ह डुङ्गा पल्टिदा बेपत्ता भएका काठमाडौं चक्रपथका १९ वर्षीय प्रतिक श्रेष्ठ र बसुन्धराका २३ वर्षीय एलिन केसीलाई फेला पार्न सकिएको छैन ।

उनीहरुको खोजीको लागि सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित स्थानीय माझीको टोली प्रयोग गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्रचार्यले जानकारी दिए । उनका अनुसार डुङ्गा पल्टिएको ठाउँलाई केन्द्रमा राखेर नजिकका क्षेत्र तथा तालको तल्लो क्षेत्रमा खोजी भइरहेको छ ।

बेपत्ता भएका प्रतिक केही दिनअघि जापानबाट नेपाल आएका हुन् भने एलिन पनि केही दिनअघी मात्र अष्टे्रलियाबाट आएका हुन् ।

अष्ट्रेलियाबाट आएका एलिन र जापानबाट आएका प्रतिकसहित ७ जनाको टोली काठमाडौंबाट घुम्नका लागि पोखरा आएका थिए । डुङ्गा पल्टिदा अन्य ६ जनाको भने सकुशल उद्धार गरिएको थियो । उद्धार गरिएका मध्ये पाँच जनाको गण्डकी मेडिकल कलेजमा उपचार गरिएको छ भने एक जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

तालपारीबाट वराहीघाटतर्फ र्फकने क्रममा तिव्र गतिमा चलेको हावाका कारण डुङ्गामा पानी पसेर डुङ्गा पल्टिएको डुङ्गामा सवार घाइते सौगात श्रेष्ठले बताए । सामान्यता ६ जना मात्र चढ्न मिल्ने डुङ्गामा ८ जना सवार हुँदा डुङ्गा अनियन्त्रित भएको हुनसक्ने प्रहरी आशंका छ ।

डुङ्गामा सवार यात्रुले लाइफ ज्याकेट नलगाउँदा क्षेति भएको प्रारम्भिक अनुमान गरिएको छ । कास्कीका सबै तालमा डुङ्गा सयर गर्दा लाइफ ज्याकेट अनिवार्य गरिएपनि ब्यबसायी र यात्रुको लापर्वाहीका कारण यस्ता घट्ना बेलाबेला दोहोरिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment