Comments Add Comment

फेवातालमा डुंगा पल्टदा हराएका दुईको शव चार दिनपछि भेटियो

Fewa tal (1)२७ साउन, पोखरा । फेवातालमा सोमबार अपरान्ह डुङ्गा पल्टिदा बेपत्ता भएका दुई जनाको शव चार दिनपछि भेटिएको छ । डुङ्गा पल्टिएकै दिनदेखि बेपत्ताको खोजी गरिएपनि विहीबार विहान उनीहरूको शव भेटिएको हो ।

डुङ्गा पल्टिएर वेपत्ता भएका काठमाडौं चक्रपथका १९ वर्षीय प्रतिक श्रेष्ठ र काठमाडौं बसुन्धराका २३ वर्षीय एलिन केसीको शव विहीबार विहान भेटिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्रचार्यले जानकारी दिए ।

विहीबार विहानैदेखि शव खोज्न शुरु गरिएको थियो । प्रहरी, सशस्त्र प्रहरी र माझीको टोली विहीबार पनि डुङ्गा पल्टिएको भन्दा दक्षिणी क्षेत्रलाई केन्द्रीत गरेर शव खोजिरहेको थियो ।

विहान करीब साढे ७ बजे एलिन केसीको शव पानीमा तैरिरहेको अवस्थामा देखिएको थियो । डुङ्गा दुर्घटना भएको भन्दा करीब ३ सय मिटर दक्षिणमा केसीको शव भेटिएको थियो । त्यसको करीब आधा घण्टापछि प्रतिक श्रेष्ठको शव पनि पानीमा तैरिरहेको अवस्थामा भेटिएको थियो । श्रेष्ठको शव केसीको शव भेटिएको भन्दा करीब ३ सय मिटर दक्षिणमा र डुङ्गा दुर्घटना भएको भन्दा करीब ६ सय मिटर दक्षिणमा भेटिएको कास्की प्रहरीले जनाएको छ ।

मृतक दुबैको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । पोष्टमार्टम पश्चात आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । मृतकका आफन्त यसअघी नै पोखरा आइसकेका छन् ।

डुङ्गा पल्टिएर मृत्यु भएका प्रतिक श्रेष्ठ केही दिनअघि जापानबाट नेपाल आएका हुन् भने एलिन केसी पनि केही दिनअघी मात्र अष्ट्रेलियाबाट आएका हुन् । उनीहरु साथीहरुसँग मिलेर रमाइलो गर्न पोखरा आएका थिए ।

पोखरा घुम्न आएका उनीहरु सोमबार दिउँसो तालपारी घुम्न गएका थिए । खाना खाएर ताल वारी र्फकने बेलामा डुङ्गा पल्टिदा उनीहरु बेपत्ता भएका थिए । सो डुङ्गा पल्टिदा अन्य ६ जनाको भने सकुशल उद्धार गरिएको थियो । उनीहरु उपचार पछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment