Comments Add Comment

कालोबजारी रोक्न भोलिदेखि सरकारी अनुगमन टोली बजारमा

Pasal३१ साउन, काठमाडौं । आपूर्ति मन्त्रालयको नेतृत्वमा मंगलबारदेखि विशेष बजार अनुगमन सुरु हुने भएको छ । बजारमा अस्वाभाविक रुपमा भइरहेको मूल्यवृद्धि र अखाद्य मिसावटविरुद्ध सरकारले विशेष अनुगमन सुरु गर्न लागेको हो ।

यसअन्तरगत विशेष गरी दैनिक उपभोग्य वस्तुका ठूला विक्रेतादेखि खुद्रा विक्रेताहरुकोमा सरकारी अनुगमन टोली पुग्नेछ ।
आपूर्तिमन्त्री दीपक बोहोराले अनुगमन सुरु गर्नेबारे आइतबार उद्योगी ब्यवसायीहरुसँग छलफल पनि गरेका थिए । उद्योगीहरुले केही दिन अनुगमन रोकेर मौज्दातको विवरण लिन सरकालाई आग्रह गरेका थिए ।

तर, मन्त्री बोहोराले त्यसलाई अस्वीकार गर्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागलाई अनुगमन छिटो थाल्न निर्देशन दिएका छन् ।

सोमबार सबै प्राविधिक तयारी सकाएर मंगलबारबाट अनुगमन थाल्न लागेको आपूर्ति विभागका महानिर्देशक गोकुल धितालले अनलाइनखबरसँग बताए ।

मुख्य रुपमा बजारमा भइरहेको कालोबजारी, अद्याद्य वस्तुको विक्री वितरण, अस्वाभाविक मूल्यवृद्धि, मिसावट, मिति नाघेका खाद्य पदार्थको विक्री वितरणर गुणस्तरहिनतालाई नियन्त्रण गर्नेगरी अनुगमन सुरु गरिने उनले बताए ।
‘उपभोग्य वस्तुको गुणस्तरीयता कति छ भन्नेमा हाम्रो ध्यान रहनेछ’ महानिर्देशक धितालले भने, ‘जुनसकै बाहानामा भइरहेकोे कालोबजारीलाई केही हदसम्म भए पनि नरुत्साहित गर्न विशेष अनुगमन गर्न लागिएको हो ।’

चाडपर्व नजिकिँदै गर्दा बजारमा अभावको कारण देखाउँदै मूल्य बढाउने क्रम तीव्र भएको छ । यसैकारण उपभोक्ताहरु निकै मारमा परेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई ‘रिजल्ट दिन’ सचिवहरुलाई बोलाएरै निर्देशन दिएका थिए । त्यसपछि आपूर्ति मन्त्रालयले बजारमा अनुगमन बढाउन चासो देखाएको हो ।

सरकारले कस्ता उद्योग, विक्रेता, व्यापारी र गोदामलाई लक्षित गरेर अनुगमन गर्ने भन्नेबारे खुलाएको छैन । तर, दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारीलाई अबको अनुगमनले चिर्न सफल हुने विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment