Comments Add Comment

माओवादी पूर्वमन्त्री दम्पत्ती राहत बाँड्न गाउँ-गाउँमा

Rekha Sharma and Krishnadhoj Khadka
प्यूठानका बाढी पहिरो पीडितलाई राहत बाँड्दै माओवादी नेताद्वय रेखा शर्मा र कृष्णध्वज खड्का (दायाँ)

२ भदौ, प्यूठान । राजधानीमा मन्त्री बन्न हानथाप भइरहेका बेला माओवादी केन्द्रका एक दम्पत्ती बाढी पहिरो पीडितलाई राहत बाँड्न प्यूठानका विकट गाउँमा देखिए । जनतालाई परेको पीडामा मल्हम लगाउन गाउँ आएका दम्पत्ती हुन् पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्मा र उनका पति कृष्णध्वज खड्का ।

शर्मा र खड्का माओवादी केन्द्रका नेता हुन् । प्यूठानका बाढी पहिरो प्रभावित क्षेत्रमा नगद तथा खाद्यान्न सामाग्री वितरणमा झण्डै एक हप्तादेखि उनीहरु सक्रिय छन् ।

पूर्वमन्त्री शर्माले लुङ, डामृ, खवाङ, स्याउलिवाङ र फोप्ली गाविसको वडानम्बर ७ मार्केमा राहत वितरण गरेकी छन् । यसैगरी उनका पति खड्काले अर्खा, रजवारा, पुजा, तुसारा, ओखरकोट, नारीकोट, बाँदीकोट, फोप्ली, मच्छी, रातामाटामा राहत वितरण गरेका छन् ।

Krishnadhoj-Khadka,-Pyuthan

मृतक एकजना बराबर ५ हजार नगद र २५ किलोको एक बोरा चामलको दरले पीडितहरुलाई राहत वितरण गरिएको छ । यसैगरी पूर्णरुपमा घर क्षति भएर विस्थापित भएका परिवारलाई नगद ३ हजारसँगै एक बोरा चामल र पहिरोको उच्च जोखिममा परेर विस्थापित भएका परिवारलाई पनि १-१ बोरा चामल राहत वितरण गरिएको पूर्वसामान्य प्रशासन मन्त्री शर्माले जानकारी दिइन् ।

बहाने क्षेत्रमा १४ मृतकका परिवार, ६६ पूर्ण घर क्षति भएका र उच्च जोखिममा रहेकालाई गरी बुधबारमात्रै १ सय १५ बोरा चामल वितरण गरिएको छ ।

माओवादी केन्द्र र प्यूठान-काठमाडौं जनसम्पर्क मञ्चले संकलन गरेको करिब ६ सय बोरा चामल, नगद र त्रिपाल स्थानीय प्रशासनको समन्वयमा पीडितहरुलाई वितरण गरिएको नेता खड्काले जानकारी दिए ।

मृतक परिवारलाई एक लाख र सहुलियत ऋण दिने प्रतिबद्धता

राहत वितरण टोलीमा शर्मा र खड्कासँगै माओवादी पोलिटव्युरो सदस्य पितबहादुर एमसी, सांसद पुनाराम थापा, नवराज अधिकारी, केन्द्रीय सदस्य कृष्ण अधिकारी, प्यूठान-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष शिवहरी आचार्य, सदस्य राजेन्द्र भट्टराई, प्रकाश जिसी, कृष्ण घिमिरे, राधा अधिकारी, बबी शर्मालगायत छन् ।

Pyuthan-lanslide-Victimराहत वितरण कार्यक्रममा बाढी पहिरोले प्यूठानमा पुर्‍याएको क्षतिबारे दुःख व्यक्त गर्दै पूर्वमन्त्री शर्माले राज्यबाट पाउने सेवा सुविधाबाट प्यूठानी जनतालाई वञ्चित हुन नदिने प्रतिबद्धता जनाइन् । अहिले वितरण गरिएको राहत पर्याप्त नभएकाले अझै बढाउँदै लैजाने पनि उनले बताइन् ।

‘नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले प्रत्येक मृतकको परिवारलाई १-१ लाख नगद र २ बण्डल जस्तापाता दिने निर्णय गरिसक्नु भएको छ,’ उनले भनिन्, ‘त्योसँगै घर बनाउनका लागि बैंकबाट सहुलियत ब्याजमा ऋण लिन पाउने व्यवस्था पनि हामीले गर्ने छौं ।’

परिवार गुमाएका बाल बालिकाहरुको पढाई-लेखाईदेखि अभिभावकत्वको भूमिकाको जिम्मा पनि सरकारले नै लिनुपर्ने पक्षमा आफू रहेको शर्माले जानकारी दिइन् ।

प्यूठान-काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष शिवहरी आचार्यले राहत संकलन कार्यमा स्वदेश तथा विदेशबाट सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।

गत असार महिनामा आएको बाढी र पहिरोमा परेर प्यूठानका बिभिन्न गाविसमा ५३ जनाको मृत्यु भएको स्थानीय प्रशासनको तथ्यांक छ ।

– राधिका भुसालको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment