Comments Add Comment

बाढी पीडितलाई पनि भूकम्प पीडितसरह राहत दिनुपर्छः पूर्वमन्त्री शर्मा

'प्यूठानको पुनर्स्थापनामा राज्यको ध्यान पुगोस्'

३ भदौ, प्यूठान । बाढी पहिरोले सबैभन्दा बढी मानविय र भौतिक संरचनामा क्षति पुर्‍याएको प्यूठान जिल्लाको पुनर्स्थापनामा तत्काल राज्यको ध्यान जानु पर्ने पूर्वसामान्य प्रशासन मन्त्री रेखा शर्माले बताएकी छन् । जिल्लाको गाउँ-गाउँमा पुगेर बाढी पहिरो पीडितलाई राहत वितरण गर्दै आएकी शर्माले अधिकांश ठाउँहरु बस्नै नमिल्ने देखिएकाले पुनर्स्थापनामा जरुरी रहेको बताइन् ।

Rekha-Sharma
फाइल तस्वीर

प्रेस सेन्टर नेपाल प्यूठानले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भनिन्, ‘जिल्लाका कैयन गाविसहरुका जनताको स्थायी बसोबासका निम्ती उचित ठाउँ खोज्न जरुरी छ ।’

‘बाढी पीडितलाई पनि भूकम्प पीडितसरह राहत’ 

उनले बाढी पहिरो पीडित जनताहरुलाई पनि भूकम्प पीडितलाई दिएअनुसार नै राहत सुविधा सरकारले उपलब्ध गराउनुपर्ने बताइन् । त्यसका लागि आफूले सरकारलाई दबाव दिइरहेको पूर्वमन्त्री शर्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘परिवारविहीन बालबालिकाको पालन पोषण, पढाइ लेखाईदेखि सम्पूर्ण जिम्मा राज्यले नै लिनुपर्छ । त्यसका लागि दवाव सिर्जना गर्ने काम हाम्रो हो ।’

विपदको बेला एकजुट भएर उद्धार, राहत र पुनर्स्थापनामा खटिरहेका सम्पूर्ण प्यूठानी जनताको प्रशंसा गर्दै उनले अबका दिनमा पनि यसलाई अझै मजबुत ढंगले निरन्तरता दिनुपर्ने बताइन् ।

राहत वितरण र पुनर्स्थापनामा जति धेरै राजनीतिक दल, संस्था वा अन्य निकाय आउँछन्, पीडितहरुले त्यति नै बढी सहयोग पाउने हुँदा सहयोगीहरुलाई प्रतिष्पर्धाको रुपमा राहत वितरण र पुनर्स्थापना गर्ने वातावरण बनाइदिनुपर्ने शर्माले धारणा राखिन् ।

बाढी पहिरोमा परेर माओवादी केन्द्रका केन्द्रीय नेता हरीबहादुर केसी लगायत प्यूठानी जनताको निधनले सिंगो पार्टी र प्यूठान जिल्लालाई अपुरणीय क्षति पुगेको उनले बताइन् ।

जोखिम अध्ययनको माग

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा प्यूठान जिल्ला इन्चार्ज कृष्णध्वज खड्काले नेपाल सरकारले गृह मन्त्रालयको विपद ब्यवस्थापन केन्द्रबाट पीडित समक्ष राहत पुग्न नसकेको कारण जिल्लाकै मातहतमा चल्ने गरी छुट्टै विपद ब्यवस्थापन निकायको स्थापना गर्नु पर्नेमा जोड दिए ।

सोझासाझा प्यूठानी जनता भएकाले अहिलेसम्म संकट सहेर बसेको भन्दै उनले जोखिम अध्ययन गरी पुनर्स्थापनामा तुरुन्त लाग्नु पर्ने बताए ।

१५ लाख २६ हजार रुपैयाँ बराबरको राहत वितरण

यसैगरी प्यूठान-काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष शिवहरी आचार्यले पहिरो पीडितका लागि सहयोग जुटाउन आफूहरु लागिपरेको बताए ।

कार्यक्रममा जिल्लाका विभिन्न प्रभावित गाविसमा गरी करिव १५ लाख २६ हजार रुपैयाँ बराबरको राहत वितरण गरेको जानकारी दिइएको थियो ।

नेपाली जनप्रगतिशिल मंच अस्ट्रेलियाबाट १ लाख, ६८ हजार ४ सय, राप्ती समाज दक्षिण कोरियाबाट २ लाख ६२ हजार ५ सय, प्यूठान घर भई अमेरिका बस्दै आएका कुलराज पोख्रेलबाट २ लाख रुपैयाँ सहयोग उपलब्ध भएको भन्दै सबै सहयोगी दाताहरुलाई उनले धन्यवाद दिए ।

– राधिका भुसालको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment