Comments Add Comment

उर्जित पटेल बने भारतीय रिजर्भ बैंकको नयाँ गभर्नर

urijeet-patel
५ भदौ, काठमाडौं । भारतीय रिजर्भ बैंक (आरबीआइ) को नयाँ गभर्नरमा उर्जित पटेल नियुक्त भएका छन् । भारतीय अर्थमन्त्री अरुण जेटलीको प्रस्तावमा मन्त्रिपरिषदले ५२ वर्षे पटेललाई आगामी ३ वर्षका लागि भारतीय अर्थतन्त्र हाँक्ने गभर्नरको जिम्मेवारी सुम्पिएको हो ।

गभर्नर रघुराम राजनको कार्यकालमा पटेलले मौद्रिक नीति विभागसहित डेपुटी गभर्नरकोरुपमा काम गरेका थिए । राजनको कार्यकाल सकिएपछि पटेललाई नयाँ गभर्नर नियुक्ति गरिएको हो । पटेललाई गभर्नरका लागि सरकारी समितिले सिफारिस गरेको थियो ।

त्यसो त, आफु अर्को कार्यकालका लागि दाबी नगर्ने बताउँदै गभर्नर राजनले नै पटेललाई गभर्नर बनाउन सिफारिस गरेका थिए ।

नवनियुक्त गभर्नर पटेलका अघि मूल्यवृद्धि नियन्त्रण र आर्थिक नीति र मौदि्रक नीतिबीच तालमेल मिलाउनु नै मुख्य चुनौति भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघिका गभर्नर राजनले आफ्नो कार्यकालमा मूल्यवृद्धि नियन्त्रण र बैदेशिक मुद्रा सञ्चितिमा उल्लेख्य प्रगति गर्दै भारतीय अर्थतन्त्रमा सुधार ल्याएका थिए ।

भारतीय अर्थमन्त्री जेटलीले ट्वीट गर्दै नवनियुक्त गभर्नर पटेलको समर्थन गरेका छन् । पटेलले आरविआइको नेतृत्व सफलतापूर्वक गर्नेमा आफु पूर्णविश्वस्त रहेको जेटलीले बताएका छन् ।

भारतीय निजी क्षेत्रले पनि पटेल गभर्नर हुँदा मौदि्रक नीति प्रभावकारी बन्ने भन्दै खुसी व्यक्त गरेका छन् ।

पटेलले अमेरिकी विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । विश्वका ठूला अर्थतन्त्रहरुमध्ये भारतको अर्थतन्त्र पनि पर्छ । त्यसैले भारतीय रिजर्भ बैंकको गभर्नरले लिने नीतिले विश्वभर प्रभाव पार्ने भएकाले नयाँ गभर्नरको नियुक्तिलाई चासोपूर्णरुपमा हेरिन्छ ।

नेपालको कूल व्यापारको दुई तिहाई हिस्सा भारतसँग हुने भएकाले भारतीय गभर्नरले लिने नीतिले नेपालमा निकै ठूलो प्रभाव पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment