Comments Add Comment

नौ सय इलाकालाई नै गाउँपालिका बनाउनेबारे कांग्रेसमा बहस

७५ जिल्लाका सभापतिहरु ७ प्रदेशको समूहगत छलफलमा जुटे

Congress Leader६ भदौ, काठमाडौं । बानेश्वरस्थित आनन्द इभेन्ट पार्टी प्यालेसमा कांग्रेसका इस्टकोटधारी नेताहरु हातमा डायरी बोकेर सोमबार बिहानैदेखि  भेला भएका छन् ।

बिहानको खानासमेत पार्टी प्यालेसमै खाने गरी भेला भएका कांग्रेस नेताहरु स्थानीय निकायको संरचना कस्तो बनाउने भन्नेबारे पार्टी प्यालेसमा छलफल गर्दैछन् ।

कांग्रेसले आइतबारदेखि राजधानीमा ७५ वटै जिल्लाका जिल्ला सभापतिहरुको दुई दिने भेला आयोजना गरेको हो । जिल्ला सभापतिको भेलामा पार्टीका केन्द्रीय सदस्य एवं पदाधिकारीसमेत सहभागी छन् ।

पहिलो दिन आइतबार स्थानीय निकायको पुनःसंरचनासम्बन्धी सामान्य अवधारणाबारे बि्रफिङपछि ७ वटा समूह विभाजन गरिएको एक नेताले बताए । प्रत्येक समूहमा सातै प्रदेशका जिल्ला सभापतिहरु र सो क्षेत्रमा बसोबास गर्ने केन्द्रीय सदस्यहरु सहभागी छन् ।

जिल्ला सभापतिको भेलाबारे जानकारी दिँदै मोरङ जिल्ला सभापति एवं सांसद डिगबहादुर लिम्बुले अनलाइनखबरसँग भने, ‘हिजो सामान्य अवधारणामा छलफल भयो, आज सातवटै समूहले ग्रुप डिस्कसन गरेर भेलामा आ-आफ्नो प्रदेशको धारणा प्रस्तुत गर्नेछन् ।’

स्थानीय निकाय पुनसंरचनासम्बन्धी आयोगले अघि सारेको ५६५ स्थानीय तहको संरचनाले जनतालाई सर्वसुलभ सेवा प्रदान गर्न नसक्ने भएकाले यसको संख्या बढाउनुपर्ने कांग्रेसभित्र समान धारणा रहेको लिम्बुले बताए ।

‘३१ सयको हाराहारीमा गाउँपालिका, करिब अढाीसय नगरपालिका लगायतका संरचना रहेका ठाउँमा ५६५ मात्रै स्थानीय निकाय बनाउँदा जनताको सेवा सर्वसुलभ हुन सक्दैन,’ मोरङ क्षेत्र नं ९ का जनप्रतिनिधिसमेत रहेका लिम्बुले अनलाइनखबरसँग भने, ‘कम्तिमा प्रत्योक जिल्लाभित्रका इलाकाहरुलाई गाउँपालिकाको स्वरुप दिनुपर्छ भन्ने बारे हाम्रो एक नम्बर प्रदेशको सहमूगत छलफलमा कुरा उठेको छ ।’

उदाहरणका लागि आयोगले मोरङ जिल्लामा हाल १३ वटा स्थानीय निकायको प्रस्ताव गरेको छ । तर, इलाकाहरुलाई स्थानीय निकाय बनाउने हो भने १७ इलाका रहेको मोरङमा १७ वटा स्थानीय निकायहरु बन्न सक्छन् ।  हाल ९ वटा चुनाव क्षेत्र रहेको मोरङमा अब ६ वटा चुनाव क्षेत्र रहने छन् ।

यसरी जिल्ला विकास समितिमा प्रतिनिधित्व गर्ने इलाका समितहरुलाई नै गाउँपालिकाको स्वरुप दिने हो भने देशभरि करिब साढे ९ सय स्थानीय निकाय बनाउनुपर्ने कांग्रेसका नेताहरुले हिसाब निकालेका छन् । यद्यपि जिल्ला सभापतिहरुको समुहगत छलफल नसकिएकाले कांग्रेसले के गर्ने भन्नेबारे निश्कर्ष भने निकालिसकेको छैन ।

जिविस अन्तरगतका इलाकाहरुलाई गाउँपालिका बनाउने हो भने ९ सयको हाराहारीमा मात्रै स्थानीय तह बन्ने भएकाले त्यसमा २/३ सय अन्य संरचना थप गर्न कांग्रेसको अर्को पनि प्रस्ताव छ, त्यो हो- संविधानले भनेको विशेष संरक्षित क्षेत्र अन्तरगत केही संरचनाहरु बनाउने । त्यसो गर्दा १२ सयसम्म स्थानीय निकाय बनाउनुपर्ने कांग्रेस नेताको भनाइ छ ।

संविधान अनुसार गठन गरिएको स्थानीय संरचनासम्बन्धी आयोगले प्रस्ताव गरेको मापदण्डबारे कांग्रेसले असहमति राख्दै जिल्ला सभापतिहरुको भेला बोलाएको हो । सरकारले आयोगलाई दिएको मापदण्ड सरकारले परिवर्तन गर्न सक्ने कांग्रेस नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment