म जन्मिएको भर्खर तीन दिन भएको थियो । रेशमी कपडाको झोलुंगोमा सुताइएको म आफ्नो वरिपरिको संसार बडो विचित्र मानेर हेरिरहेको थिएँ । त्यही बेला मेरी आमाले मलाई रेखदेख गर्ने धाईआमासँग सोध्नुभयो – ‘कस्तो छ मेरो बच्चालाई ?’
धाईआमाले बताइन् – ‘खूब रमाइरहेको छ । मैले अहिलेसम्म तीनचोटि दूध ख्वाइसकेँ । मैले यत्तिको सन्तोकी बच्चा आजसम्म देखेकी छैन ।’

उसको कुरा सुनेर मलाई निकै रिस उठ्यो र कराउन थालेँ – ‘आमा, यसले झुटो बोलिरहेकी छ । म सुतेको ओछ्यान निकै साह्रो छ र उसले ख्वाएको दूध पनि नमीठो थियो । यसको स्तन पनि निकै दुर्गन्धित थियो । म निकै दुःखी छु आमा ।’
तर, मेरो कुरा न आमाले बुझिन्, न त धाईआमाले नै । किनभने मैले जुन भाषामा कुरा गरिरहेको थिएँ, त्यो त त्यो दुनियाँको भाषा थियो, जहाँबाट म आएको थिएँ ।
जब म २१ दिनको भएँ, मेरो नामकरण गरियो । त्यसबेला पादरीले मेरी आमासँग भने – ‘तपाईंले त धेरै खुशी मान्नुपर्छ, किनभने तपाईंको छोराको त जन्म नै इसाईको रुपमा भएको छ ।’
म उसको कुरा सुनेर निकै आश्चर्यमा परेँ । मैले त्यो पादरीलाई भनेँ – ‘त्यसो हो भने स्वर्गमा तिम्री आमाले निकै दुःख मान्नुपर्छ, किनभने तेरो जन्म इसाईको रुपमा भएको थिएन ।’
तर, विडम्बना पादरीले मेरो भाषा बुझ्न सकेन ।
फेरि सात वर्षपछि एक ज्योतिषीले मलाई हेरेर मेरी आमालाई बतायो – ‘तिम्रो छोरा राजनेता बन्नेछ र धेरै मान्छेको नेतृत्व गर्नेछ ।’
उसले त्यति भन्नासाथै म जोडले चिच्याएँ – ‘यो भविष्यवाणी गलत हो । किनभने म त संगीतकार बन्न चाहान्छु । अरु केही होइन, मात्र संगीतकार ।’
तर, मेरो उमेर नै सानो भएकाले कसैले मेरो कुरालाई गम्भीरतापूर्वक लिएनन् । यो देखेर मलाई साह्रै दिक्क लाग्यो ।
३३ वर्षपछि मेरी आमा, धाईआमा र पादरी सबै जना बितिसकेका छन्, ईश्वरले उनीहरुको आत्मालाई शान्ति दिऊन् । त्यो ज्योतिषी भने अझै पनि जीवितै छ । हिजो ऊ सँग मन्दिरको ढोकानेर भेट भयो । जब हामीबीच कुरा भयो, उसले भन्यो – ‘म सुरुदेखि नै जान्दथेँ, तिमी महान् संगीतकार बन्नेछौ । मैले तिमी सानो छँदै यो भविष्यवाणी गरिदिएको थिएँ । तिम्रो आमालाई पनि तिम्रो भविष्यको बारेमा त्यही बेला बताएको थिएँ ।’
मैले उसको कुरामा विश्वास गरेँ । किनभने यतिबेलासम्ममा त म आफैंले पनि त्यो दुनियाँको भाषा बिर्सिसकेको थिएँ ।
- जिब्रान (सन् १८८३ जनवरी ६ – १९३१ अप्रिल १० ) लेबनानका प्रख्यात साहित्यकार हुन् । ‘द प्रफेट’ उनको सर्वाधिक रुचाइएको कृति हो । द म्याडम्यान, द वान्डरर, मिरर्स अफ सल, सेक्रेट अफ द हार्ट लगायत उनका अन्य कृतिमा दर्शनको गहिराइ पाइन्छ ।
प्रतिक्रिया 4