Comments Add Comment

साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि

झमकलाई दिइएको उपाधि विवादमा, सुर्खेतका नेताहरुद्वारा कार्यक्रम बहिस्कार

Jhamak-Samman

२० भदौ, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधिबाट सम्मान गरेको छ । तर, विश्वविद्यालयको यस कदम विवादमा तानिएको छ ।

राजधानीमा विश्वविद्यालयले सोमबार आयोजना गरेको विशेष दीक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झमकलाई सो उपाधि अर्पण गरेका हुन् ।

उपाधि पाएपछि झमक घिमिरे साहित्य कला प्रतिष्ठानकी काठमाडौं संयोजक अनिता लामाले झमकको लिखित मन्तव्य पढेर सुनाएकी थिइन् । पत्रमा झमकले आफूले विद्यावारिधि पाउँदा खुसी लागेको उल्लेख गरेकी छिन् । विद्यालय भर्ना भएर आफूले कहिल्यै पढ्न नपाए पनि प्रकृतिको अध्ययन गरेर पनि धेरै कुरा सिक्न सकिँदो रहेछ भनेर जीवनयात्रामा जानेको उनको मन्तव्यमा लेखिएको छ ।

सुर्खेतमा रहेको विश्वविद्यालयले गत जेठ २६ गते उनलाई मानार्थ विद्यावारिधि दिने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न विश्वविद्यालयको पाँचौं सभाले विद्यावारिधिको उपाधि दिने प्रस्ताव पारित गरेको थियो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य र शिक्षा एकै सिक्काको दुई पाटो भएको चर्चा गर्दै झमकको प्रतिभाले सिंगो नारी जगत्लाई नै अभिप्रेरित गरिरहेको बताइन् ।

यस्तै, विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री प्रचण्डले झमक जस्तो प्रेरणादायी प्रतिभालाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको उल्लेख गरे ।

झमकले आफ्नो संघर्षपूर्ण जीवनको बारेमा लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ ले ०६८ सालको मदन पुरस्कार पाएको थियो । सो कृति अंग्रेजी, चिनियाँ, आसामी, हिन्दी लगायत विभिन्न भाषामा अनुवाद भइसकेको छ ।

सुर्खेतका नेताद्वारा बहिस्कार

पीएचडी अध्यापनको योजना नै नबनाएको विश्वविद्यालयले ‘कृतित्व र व्यक्तित्व’ आधारमा साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान गर्नु उचित नहुने भन्दै दलहरुले विरोध जनाएका छन् । साथै सोमबारको कार्यक्रम सुर्खेतका सबै दलहरुका प्रतिनिधिले बहिस्कार गरेका छन् ।

नेकपा माओवादी केन्द्रका सुर्खेत जिल्ला अध्यक्ष कृष्ण जिसीले भने, ‘स्थानीय सबै सरोकारवालालाई उपेक्षा गरी पिएचडी थालनी नै नभएको विश्वविद्यालयले पिएचडीको उपाधि दिन हतार गर्नुको कुनै औचित्य छैन ।’

झमक जस्तो सम्मानित ब्यक्तित्वलाई विवादमा तानेर विश्वविद्यालय प्रशासनले ठूलो भूल गरेको जिसीको आरोप छ ।

जिल्लास्तरीय नेताबाट यस्तो भनाइ आइरहे पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले भने कार्यक्रममा उपस्थित भएर घिमिरेलाई सम्मान गरे ।

दीक्षान्त समारोह नेपाली कांग्रेसका जिल्ला सभापति कमलराज रेग्मी र नेकपा एमालेका जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीले पनि बहिष्कार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment