२२ भदौ, काठमाडौं । वि.सं. ०४९ सालमा नेपाल प्रशासन सेवाको हुलाक सेवाबाट निजामती सेवामा प्रवेश गरेका अर्थसचिव डा. शान्तराज सुवेदी सेवा प्रवेश गरेको २४ बर्षपछि सर्वोत्कृष्ट कर्मचारीका रुपमा सम्मानित भएका छन् ।
निजामती सेवामा हाल ८२ हजार कर्मचारी छन् । तर सचिव शान्तराज नै कसरी सर्वोत्कृष्ट भए ? सरकारद्वारा सम्मानित भएलगत्तै अर्थ मन्त्रालयमा भेटेर सचिव सुवेदीलाई हामीले यस्तो प्रश्न गर्यौँ ।
जवाफमा उनले भने- ‘म नै सर्वोत्कृष्ट कर्मचारी होइन/नहुन सक्छु । छानिएकामध्ये सर्वोत्कृष्टका रुपमा सिफारिस भएँ । मभन्दा धेरै सर्वोत्कृष्ट कर्मचारी पनि हुनुहुन्छ र उहाँहरुको मूल्यांकन नभएको पनि हुनसक्छ ।’
अर्थसचिव सुवेदीले आफ्नो सम्मानलाई निजामती सेवामा रहेर इमान्दारितापूर्वक काम गरेको परिणामको रुपमा बुझेका छन् । उनले भने, सबै कर्मचारीले इमान्दार भएर काम गरे भने यस्तो अवसर आउँछ । २४ वर्षमा आज बल्ल मेरो मूल्यांकन भएको छ, मूल्यांकन हुन बाँकीको पनि हुन्छ ।
तर, पुरस्कृत हुने कर्मचारीमात्र राम्रा र अरु नराम्रा भनेर बुझ्न नहुने सुवेदीको बुझाइ छ । राम्रा काम गर्नेहरु सबैको कुनै न कुनैबेला एकपटक सबैले देख्ने गरी मूल्यांकन हुने उनले बताए ।
निजामती यात्रा अनुभव
बहुदल आएपछि ०४९ मा निजामती सेवामा प्रवेश गरेका सुवेदी निजामतीभित्र सधैँ सफलमात्र हुने भाग्यमानी कर्मचारी हुन् । पहिलो प्रयासमै उनी लोकसेवाबाट अधिकृतमा उत्तीर्ण भए । त्यहाँबाट शुरु भएको सुवेदीको निजामती सेवाको यात्रा सधै सफलताउन्मूख छ ।
शुरुका चार बर्ष हुलाक सेवाबाट काम थालेका उनी त्यसपछि आन्तरिक प्रतिस्पर्धामा राजस्व समूहमा प्रवेश गरे । सुवेदीले राजस्व समूहमा अधिकृतका रुपमा ०५९ सम्म बिताए । त्यतिबेलै खुल्ला प्रतिस्पर्धाबाट उनी उपसचिव बने ।
सामान्य प्रशासन समूहबाट उपसचिव उत्तीर्ण भएका सुवेदीले आठ महिनासम्म सामान्य प्रशासन मन्त्रालयमा रहेर काम गरे ।
सुवेदी यति भाग्यशाली ठहरिए कि शाखा अधिकृतबाट उपसचिव भएको आठ महिना पुग्दानपुग्दै सहसचिवमा उतीर्ण भए ।
सुवेदीले छोटो समयमै अधिकृत, उपसचिव र सहसचिव हुन खुल्ला तर्फबाट लोकसेवामा प्रतिस्पर्धा गरे । र, हरेक पटक पास भइरहे ।
उनी भन्छन्, ‘उपसचिवका रुपमा ८ महिनासम्म सामान्य प्रशासन मन्त्रालयमा रहँदा निकै सुधार गरेँ । पुराना विज्ञापनहरु, रोक्किएर बसेका फाइलहरु अगाडि बढाएँ । मिल्ने काम हुनेतिर र नहुनेलाई नहुनेतिर बनाएर छाडेँ ।’
प्रमुख जिल्ला अधिकारी हुने सपनाले निजामतीमा
हरेक व्यक्तिका जस्तै सुवेदीका पनि सपनाहरु थिए, भरपर्दो जागिर खाने र प्रतिष्ठा पनि कमाउने । उनले आफ्नो सपना यसरी सुनाए ।
‘म गाउँघरमा हुर्किएको एउटा सामान्य मान्छे । त्यतिखेर सिडिओलाई निजामती सेवाको अत्यन्त मर्यादित पद मानिने म पनि प्रमुख जिल्ला अधिकारी हुन पाए हुन्थ्यो लागिरहन्थ्यो ।
मैले निजामती सेवालाई सुरक्षित पेशाका रुपमा पनि लिएको हुँ, जसले पनि लिने त्यही हो ।’
निजामती सेवाभित्रैका सन्दर्भमा सचिव सुवेदीले अघि भने, निजामती सेवाभित्र पुरै खराब मान्छे मात्र छैनन्, सबै भ्रष्ट पनि होइनन् । राम्रा काम गर्ने इमान्दार नैतिकवान कर्मचारीहरु पनि छन् भन्नेबारे म पहिले पनि जानकार थिएँ ।
निजामती सेवामा काम गर्ने कर्मचारीलाई हेर्ने दृष्टिकोण त्यतिबेला अत्यन्त्यै सकारात्मक थियो । निजामती सेवाप्रति जनताको आशा र अपेक्षा पनि अत्यन्तै उत्साहजनक थियो । यिनै कुराले पनि निजामतीप्रति मलाई आकर्षित गरायो । तर, अहिले त्यस्तो अवस्था रहेन ।
प्रशासनलाई बिगारेको राजनीतिक परिवर्तनले हो
परिवर्तन अर्थात क्रान्तिका अर्थ सकारात्मकतर्फ उन्मूख भन्ने हुन्छ । नेपालको हरेक राजनीतिक परिवर्तनलाई राज्यले सकारात्मकरुपमा लिएको छ । तर, यस्तो परिवर्तनले निजामती सेवालाई नकारात्मक असर पारेको सचिव सुवेदीको गहिरो बुझाइ छ ।
उनी भन्छन्, राजनीतिक परिवर्तनपश्चात व्यवस्थामा खुकुलोपन आयो । र, कर्मचारीहरुले त्यसको दुरुपयोग गर्दा निजामती सेवा बदनाम बन्यो ।
विकृतिहरु मौलाए । त्यसमा मुख्यतः ट्रेड युनियन पनि दोषी छ । निजामती र राजनीतिवीचको दुरी पनि फरक पर्दै गयो । राम्रो पद पाउन, कमाउ कार्यालय पुग्न वा यस्तै अनैतिक कामका लागि कर्मचारी र राजनीतिक नेतृत्ववीच सम्वन्ध गाँस्ने र त्यस्ता मान्छेहरुले सरुवादेखि सबैखाले आकर्षक ठाउँहरुमा अवसर पाउने स्थितिको सुरुवात भएको उनको बुझाइ छ ।
त्यही स्थितिले निजामती सेवा इतिहासकै सबैभन्दा बढी बदनाम भएको उनको तर्क छ ।
उनले अघि भने, सेवाग्राहीले सेवा लिन जाँदा राम्रो र सहज तरिकाले सेवा पाएनन्, कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहारमा नकारात्मक स्वभावहरु बढ्न थाले । र नागरिकले पनि निजामती कर्मचारी र समग्र सेवालाई नकारात्मक नजरले हेर्न थालेको उनको बुझाइ छ ।
सचिव सुवेदीको दावी छ, निजामती सेवा सुध्रँदैछ । सेवा प्रवाहमा गुणस्तर ल्याउने, सेवाग्राहीप्रति उत्तरदायी बन्ने, गुनासा सुन्ने र काम भएन भने क्षतिपूर्ति दिनेसम्मका वडापत्र आएका छन् । यी कदमहरुले निजामतीको छवि सकारात्मक बन्न थालेको सचिव सुवेदीको विश्लेषण छ ।
सुवेदीका गर्व गर्ने दिनहरु
भर्खरै अर्थशास्त्रमा विद्यावारिधि गरेका सचिव डा.सुवेदीले २४ बर्षको निजामती सेवाको यात्रामा पहिलोपटक यति महत्वपूर्ण पहिलो पुरस्कार पाए । उनी भन्छन्, ‘आफ्नो पेशामा सर्वोत्कृष्ट बनेको छु, मेरा लागि जीवनकै सबैभन्दा ठूलो खुशीको दिन हो ।’
निजामतीभित्र रहेर सधैँ निष्ठावान भएर काम गरेको र त्यसकै परिणाम पुरस्कृत भएको दाबी गर्छन् उनी ।
‘आफूलाई दिएको जिम्मेवारी इमादारितका साथ गर्नुपर्छ भनेर काम गरेँ । सहसचिव भएपछि ०६१ माग १९ को राजनीतिक परिवर्तनपछि बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइयो ।’
ती दिनहरु सम्झँदै उनी भन्छन्, त्यो १४ महिनाको अवधिमा मैले भ्रष्टाचारविरुद्ध अभियान नै चलाएको थिएँ । मेरो कार्यालयलाई भ्रष्टनचारमुक्त कार्यालय घोषणा गरेर आफैँले बारामा भ्रष्टाचार मुक्त गराउने सपथ खाएँ । र, कर्मचारीलाई पनि सपथ खुवाएँ ।’
त्यतिबेला गरेको कामको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रसंशा गरेको उनलाई सम्झना छ । उनी भन्छन्- ‘म कुनै पनि सेवाग्राहीले त्यत्तिकै दुख पाउनु हुन्न भन्ने ठान्थेँ र त्यहीअनुसार काम गर्थे ।’
उनले भने, प्रमुख जिल्ला अधिकारी हुँदा बृद्धभत्तामा अनियमितता गर्ने थुप्रै गा.वि.स सचिवहरुलाई कारबाही गराएँ । त्यस्ता गाविस सचिवविरुद्ध अख्तियारमा मुद्दा चलाउने काम गरेँ । व्यक्तिको नियन्त्रणमा पुगेका सार्वजनिक जग्गा खोज्ने र अख्तियारमा उजुरी गर्ने गरेको थिएँ । त्यसो गर्दा धेरै रिसाएका पनि होलान् ।
अख्तियारमा बस्दा अप्ठ्यारो
प्रधानमन्त्री कार्यालयअन्तर्गत हेलो सरकारमा निकै धेरै उजूरी र गुनासाहरू आउँथे । गुनासाहरु तत्काल सम्बोधन गर्न ताकेता गर्दा कोही रिसाउने, अप्ठेरो मान्ने हुन्थ्यो ।
त्यस्तै अख्तियारमा रहँदा धेरै कर्मचारी अनुसन्धानको दायरामा आउँथे, त्यतिबेला धेरैले अख्तियारका कर्मचारीले सहयोग गरिदिएनन् भन्नेखालका गुनासा आउने गरेको सुवेदीको स्मरण छ । उनी भन्छन्- ‘यसक्रममा त्यहाँ हुँदा पनि सहयोग गरेन भनेर कोही रिसाए पनि होलान् । तर, कानुनको परिधिमा बसेर मैले उनीहरुलाई केही सहयोग गर्न सक्ने हुँदैन ।
अख्तियारमा ९० प्रतिशत उजुरी झूटा
अनलाइनखबरसँगको कुराकानीमा सचिव डा. सुवेदीले भिन्नै कुरा सुनाए । अख्तियारमा बसेर हेर्दा देशमा भ्रष्टाचारको अवस्था कस्तो देखियो भन्ने जिज्ञासामा उनले भने- ‘जति बाहिर भनिन्छ, कर्मचारी प्रशासन र समाजमा त्यति धेरै भ्रष्टाचार मौलाएको होइन रहेछ । यदि बाहिर सञ्चारमाध्यमले भनेको जस्तै भ्रष्टाचार भएको हुन्थ्यो भने त देश नै रहँदैनथ्यो / डुबिसक्थ्यो ।
उनले थपे- मेरो बुझाइमा अख्तियारमा परेका ९० प्रतिशत उजूरीको कुनै तूक छैन ।’
पछिल्लो समय धेरै गुनासा र उजुरी आउने गरेका छन्, तर ती प्रतिशोधपूर्ण उजुरीहरु छन् । कसैप्रति प्रतिसोध साँध्न र कसैलाई अप्ठेरोमा पार्ने उद्देश्यले अख्तियारमा उजुरी पर्ने गरेको उनको बुझाइ छ । तर, वास्तविक मदमासी गरेकाबारे भने कम उजूरी आउने गरेको छ ।
खुट्टा तान्ने विकृति बढ्यो
अख्तियारमा पर्ने उजुरीकै सन्दर्भमा सुवेदीले भने समाजमा एकले अर्कोलाई कसरी दुःख दिन सकिन्छ भन्ने सोच बढेको देखेको छु । अख्तियारमा आएका उजूरी हेर्दा अर्कोलाई कसरी पछाडि तान्ने, कसरी अगाडि जानबाट रोक्ने जस्तो भावनाले उजुरीहरु आएको देखेँ । देश अगाडि बढ्न नसक्नु आर्थिक विकास नहुनु, निजामती सेवाले राम्रो गति नलिनुमा यिनै कारणहरु मुख्य हुन् भन्ने मैले ठानेँ ।
आफूले राम्रो काम नगर्ने र गर्नेलाई पनि गर्न नदिने, ठेक्कापट्टामा एउटालाई ठेक्का पर्यो भने अर्कोले मुद्दा हालेर रोकिदिने जस्ता समस्या मौलाएको छ ।तर, वास्तविक भ्रष्टाचार/विकृति बाहिर आउँदै आउँदैन, त्यो खोज्नुपर्ने अवस्थामा छ ।
पछिल्लो समय आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा लैजाने, ठेक्कापट्टामा मिलोमतो गर्ने र ठूला आयोजनाहरुमा हुने ठूला भ्रष्टाचारहरु केलाइरहेको सुवेदीको दाबी छ ।
अन्त्यमा
भर्खरै अख्तियारबाट अर्थ मन्त्रालयमा सरुवा गरिएका सचिव सुवेदीसँग अर्थ मन्त्रालयअन्र्तगत लामो समय राजस्व महाशाखामा बसेको अनुभव छ । त्यतिबेला राजस्व सेवालाई व्यवस्थित गर्न आफूले भूमिका खेलेको उनको दावी छ ।
सुवेदी भन्छन्, मैले राजस्व संकलनको लक्ष्य हासिल गर्न मेहनतपूर्वक काम गरेँ । ती कामहरुको अहिले आएर मूल्यांकन गरेको महसुस भएको छ ।
यसअघि अर्थ मन्त्रालयको सचिव हुँदा एकै बर्ष अध्यादेशबाट तीनवटासम्म बजेट ल्याएको उनको अनुभव छ । त्यतिखेर मुलुकलाई कालोसूचीबाट जोगाउन भूमिका खेलेको उनको थप दाबी छ ।
‘प्रधानमन्त्री कार्यालय गएपछि प्रधानमन्त्री कार्यालयलाई सक्रिय बनाउन पनि मेहनत गरेको थिएँ’ उनले भने, ‘त्यसपछि अख्तियारमा पनि राम्रो सुधार गरेको छु ।’
प्रतिक्रिया 4