Comments Add Comment

चोरलाई रातभर हैरानी ! पैसा हाल्ने फलामे सेफमा कागजका खोस्टा !

चोरको खल्तीमा सन्तानेश्वर महादेवको २० हजार भेटी !

२३ भदौ, काठमाडौं । विहीबार बिहानै काठमाडौंको चन्द्रागिरिमा चार जना चोरले प्रहरीमाथि गोली चलाएको खबर आयो । प्रहरीहरुले चोर समात्न नसके पनि टाटा सुमो गाडीमा राखिएको फलामको गह्रुंगो सेफचाँहि बरामत गरेर ल्याए ।

Money-Ssafeबन्दुक पड्काउँदै प्रहरीको पञ्जाबाट भाग्न सफल ती चोरले रातभरि पाएको अनाहकको दुःखचाँहि निकै रोचकखालको छ । राति नै ललितपुरको चापागाउँस्थित सन्तानेश्वर बचत तथा ऋण सहकारी संस्थाको पैसा राख्ने फलामे सेफ हराएको थियो । चोरहरुले पैसा राखेको होला भन्ने ठानेर आधारातमा चोरेको सो सेफमा भने एक रुपैयाँ पनि थिएन, कागजपत्र मात्रै राखिएको थियो ।

चापागाउँ वृत्तका डीएसपी श्याम राईका अनुसार विहीबार राति करिब साढे १२ बजे चापागाउँस्थित सन्तानेश्वर बचत तथा ऋण सहकारी संस्थाको सेफ चोरी भयो । महिलाले मात्रै चलाएको सो सहकारीको कार्यालय सन्तानेश्वर महादेव मन्दिरसँगै छ ।

चोरहरुले ग्रीलको ताला फोरेर सेफ उठाएका थिए ।’राति साढे १२ बजेतिर गाडी र मोटरसाइकलको आवाज छिमेकीले सुनेका रहेछन्,’ डीएसपी राईले अनलाइनखबरसँग भने, ‘चोरले सहकारीको ग्रिलको ताल्चा फुटाएर सेफ चोरेको देखिन्छ ।’

कागज भरिएको गह्रुंगो फलामे सेफलाई पैसा ठानेर ठसठसी कन्दै दुःखका साथ उठाएका चोरहरु बिहान उज्यालो हुँदा नहुँदै ना १ ज ३९४८ नम्बरको टाटा सुमो चढेर मधेसतिर लागे । काठमाडौंबाट सर्लाही चल्ने गाडी थानकोटबाट चन्द्रागिरिको जंगलतिर उकालो चढ्यो ।

यसैवीच प्रहरीलाई शंका लाग्यो र थानकोट प्रहरीले गाडीको पिछा गर्न थाल्यो । केही माथि जंगलमा पुगेपछि चोरहरु गाडी छाडेर बन्दुक पड्काउँदै पाखातिर भागे । प्रहरीका अनुसार चोरले गोली चलाएका थिए । उनीहरु ४ जना थिए ।

चारजना चोरलाई समात्न नसकेका प्रहरीहरुले टाटा सुमोभित्र रहेको सेफ भने बरामत गर्न सफल भयो । बरामद गरिएको सेफ काठमाडौं प्रहरी परिसर टेकुमा ल्याइयो ।

लगत्तै चापागाउँबाट सहकारीका सञ्चालकहरु टेकु पुगे । उनीहरुले सेफ आफ्नै सहकारीको भएको सनाखत गरे । त्यसपछि उक्त सेफ ललितपुर प्रहरीलाई बुझाइयो ।

ललितपुर परिसरका एसपी अशोक सिंहले चापागाउँको सन्तानेश्वर ऋण तथा सहकारी संस्थाबाट चोरी भएको सेफ र चन्द्रागिरीमा बरामद भएको सेफ एउटै भएको अनलाइनखबरलाई बताए । काठमाडौं परिसरले सेफ आफुहरुको जिम्मा लगाएको सिंहले बताए ।

चोरको खल्तीमा सन्तानेश्वर महादेवको भेटी !

रातभरि फलामे सेफ यताउति उचालेका चोरहरुलाई सन्तानेश्वर महादेवको मन्दिरमा चढाइएको भेटीले भने केही राहत दिएको छ । मन्दिरमा चढाइएको ठाउँबाट निकालेर ओभानो ठाउँमा सुकाइएको २० हजार ८ सय रुपैयाँ भेटी उनीहरुले फलामे सेफसँगै चोरेर लगेका थिए ।

सहकारीको कार्यालय र सन्तानेश्वर मन्दिर सँगै भएकाले उनीहरुले भेटीसमेत उम्काउन सफल भएका हुन् ।

दुई वर्षअघि पनि सो सहकारीमा चोरहरु पसेका थिए । तर, स्थानीयले थाहा पाएर राति नै लखेटेका थिए । यसपटक भने चोरहरुले सहकारीको सेफसँगै सन्तानेश्वर महादेव मन्दिरमा चढाइएको २० हजार ८ सय रुपैयाँ भेटीसमेत चोरेको डीएसपी राईले बताए ।

प्रहरीले कागज भरिएको फलामे सेफ त चन्द्रगिरिमा फेला पार्‍यो, तर राजधानीमा चोरी गरेर प्रहरीलाई समेत गोली दाग्दै मधेसतिर सामान लैजाने ती हतियारधारी चोरलाई नियन्त्रणमा लिएर सार्वजनिक नगर्दासम्म राजधानीवासीले कसरी सुरक्षित महसुस गर्ने ? प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment