२३ भदौ, काठमाडौं । सरकारले विदेशी जेलमा रहेर ब्लडमनी कुरिरहेका नेपाली कामदारलाई छुटाउन ५ लाख रुपैयाँ सीडमनी दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री भएपछि पहिलो पटक संसदलाई विहीबार सम्बोधन गर्दै प्रचण्डले ब्लड मनी अभावका कारण विदेशी जेलमा रहेका नेपालीहरुलाई छुटाउन पहल गर्ने बताए । यसका लागि सरकारले ५ लाख रुपैयाँ सीडमनी दिने बताए । बाँकी रकम भने देश-विदेशबाट जुटाउने उनले बताए ।
अहिले विदशेमा ब्लड मनी कुरिरहेकाहरुलाई सरकारले ५० हजारसम्म सीड मनी दिन सकिने व्यवस्था छ । सरकारी तथ्यांक अनुसार यो रकम अहिलेसम्म एक जनाले मात्र पाएका छन् । सरकारले दुबईको जेलमा ब्लडमनी कुरिरहेका अनिल खालिङलाई ५० हजार दिएको थियो ।
प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई दिने राहत पनि बढाएको घोषणा गरे । उनले थप २ लाख रुपैयाँ दिने संसदमार्फत घोषणा गरेका हुन् ।
अहिले वैदेशिक रोजगार कल्याणकारी कोषबाट ३ लाख रुपैयाँ दिइन्छ । तर, कोषले कार्यविधि परिवर्तन गरेर ५ लाख पुर्याउने तयारी भइरहेको थियो । प्रधानमन्त्रीले यसलाई बढाएर सात लाख रुपैयाँ बनाउने घोषणा गरेका छन् ।
प्रतिक्रिया 4