Comments Add Comment

दोविल्ला–फलेवास सडकको बिजोग

५ असोज, फलेवास (पर्वत) । ठेकेदारको लापरबाही र सडक विभागको बेवास्ताका कारण पर्वतको सदरमुकामसँग ग्रामीण क्षेत्रलाई जोड्ने दोविल्ला–फलेवास सडकको कालोपत्र उप्किएको छ । बर्खायाममा कालोपत्र गरिएको र गुणस्तरहीन काम भएकाले एक महिनामै कालोपत्रको बिजोग भएको हो ।

एक महिना नपुग्दै सडकको कालोपत्र उप्किएको भन्दै स्थानीयवासीले त्यसप्रति विरोध दर्शाएका छन् । जिल्लामै पहिलोपटक ग्रामीण सडकमा गरिएको कालोपत्र उप्किएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । उक्त सडकखण्डअन्तर्गत सिल्मीको फाँटमा कालोपत्र गरिएको सडकमा बाढीपछि पूरै खोल्सा परेका छन् ।

Roadन्यूनतम तीन इन्चसम्म बाक्लो कालोपत्र गर्नुपर्ने भएपनि एक इन्च मात्र गरिएकाले सामान्य वर्षाले पनि असर गरेको हो । पछिल्लो साता कालोपत्र गरिएको करिब एक सय मिटर सडक पुनः कालोपत्र गर्नुपर्ने अवस्थामा पुगेको छ । स्थानीयवासीले मापदण्डअनुसारको सामग्री नराख्दा र सडक विभागका कर्मचारीले ठेकेदारसँग मिलोमतो गर्दा कालोपत्र एक साता पनि नटिकेको बताएका छन् ।

“वर्षाका समयमा खोल्साको बाढीलाई एउटा ह्युमपाइपले धान्दैन, कल्भर्ट हाल्ने सुझाव दिँदा नमान्दा सडकमा थप क्षति भयो,” स्थानीयवासी यामनारायण श्रेष्ठले गुनासो गरे । खोल्साको बाढीले ठाउँठाउँको सडकसमेत बगाएको छ । लामा कन्सट्रक्सन प्रालिले एक हजार छसय मिटर सडक खण्डको कालोपत्र गर्ने गरी ठेक्का लिएको हो । तीन करोडमा ठेक्का आह्वान गरे पनि ठेकेदारले ३८ प्रतिशत छाडेर लिएको थियो ।

ठेकेदार कम्पनीले गुणस्तरमा बेइमानी नगरेको दाबी गरेको छ । ठेकेदार डिबी तामाङले सडक विभागका कर्मचारीकै निगरानीमा भएको कामलाई दोष दिन नमिल्ने बताउनुभयो । उहाँले सबै मापदण्ड पूरा गरेर कालोपत्र गरिएको तर सडक माथिबाट आएको बाढीले केही असर गरेको बताए ।

सडक डिभिजन कार्यालय बागलुङका प्रमुख राजेश पौडेलले ठेकेदारलाई कामका लागि जिम्मा दिएकाले कालोपत्र उप्केको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले ठेकेदारले ढिलाइ गर्दा बर्खायाममा पनि काम भएको र बाढीका कारण केही ठाउँमा सामान्य असर गरेको हुनसक्ने बताए । उक्त स्थानमा पुनः कालोपत्र गर्न ठेकेदारलाई निर्देशन दिइसकिएको बताइएको छ ।

दोविल्ला–फलेवास सडक कालोपत्र गर्न १८ करोड रुपैयाँ खर्च हुने भएको छ र ३ वर्षसम्ममा फलेवाससम्मको सडक कालोपत्रे हुने भएको छ । दोबिल्ला–फलेबास सडकको निर्माण कार्य २०५१ सालदेखि सुरु भएको थियो । उक्त सडकको ट्र्याक खोल्न र स्तरोन्नति गरी ग्राभेल गर्न अहिलेसम्म करोडाैं रुपैयाँसमेत खर्च भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment