६ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले नारायणगढ-मुग्लिन सडक विस्तारको काम असोज १० गतेदेखि ३० गतेसम्मकालागि बन्द गर्न सडक विभागलाई पत्राचार गरेको छ ।
बाटो बनाउने कामले सवारी साधनको जाम हुने र यात्रुहरुले सास्ती पाउने भएकाले २० दिनसम्म सडक विस्तारको काम नगर्न विभागले भनेको छ ।
‘सवारी जाम भएसँगै चाडपर्व मनाउन घर जाने यात्रुले पनि सास्ती भोग्नुपर्ने र समयमै गन्तव्यमा पुग्न नसकिने अवस्थालाई मध्यनजर राख्दै सडक विभागलाई काम रोक्न पत्राचार गरिएको हो,’ विभागका प्रवक्ता बसन्त अधिकारीले अनलाइनखबरलाई भने ।
विभागले दशैंमा घर जाने यात्रुहरुको सुविधालाई ध्यान दिँदै नारायणगढ-मुग्लिन सडकखण्डका खाल्डा खुल्डी पुर्ने काम गरिरहेको छ ।
विभागले सडक विभागलाई बाटो निर्माण कार्य बन्द गरेर मर्मतमात्र गरिदिन समेत आग्रह गरेको छ ।
अधिकारीका अनुसार यातायात व्यवस्था विभागले बाटो निर्माण कार्य रोक्न आग्रह गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समेत पत्र पठाएको छ ।
यातायात व्यावसायीहरुले दशैंको अगि्रम टिकट बुकिङ खुलाउँदा नै सडक निर्माण बन्द गरी मर्मत गर्नुपर्ने माग राखेका थिए ।
विभागले पनि व्यावसायीहरुको माग सम्बोधन गर्दै सडक निर्माण बन्द गराउन सम्बन्धित निकायलाई पत्राचार गरेको हो ।
प्रतिक्रिया 4