Comments Add Comment

एन्फा अध्यक्षका लागि नरेन्द्र र कर्मा भिड्ने, विज्ञानराज पनि पछि हटे

Karma and Narendra

९ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा नरेन्द्र श्रेष्ठ र कर्मा छिरिङ शर्मा भिड्ने भएका छन् । उम्मेदवारीको घोषणा गरेका टासी घले र नेपाल प्रहरीका एआईजी तथा पूर्व खेलाडी विज्ञानराज शर्मा भने पछि हटेका छन् ।

एन्फाका उपाध्यक्ष एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माले उम्मेदवारी दर्ताको अन्तिम दिन उपाध्यक्षसहित उम्मेदवारी घोषणा गरे । उनको प्यानलबाट उपाध्यक्षका लागि दीपक खातीको उम्मेदवारी परेको छ ।

खाती एन्फाका पूर्व केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय फुटबलर हुन् । आफु समर्थित जिल्ला फुटबल संघका अध्यक्ष तथा क्लबका प्रतिनिधिसहित एन्फा कम्प्लेक्स सातदोवाटो पुगेर कर्मा र दीपकले उम्मेदवारी दर्ता पनि गराएका छन् ।

लामो समयदेखि एन्फा सुद्धीकरण अभियानको नेतृत्व गरेका शेर्पाको उम्मेदवारी घोषणा कार्यक्रममा एन्फाका असन्तुष्ट भनिएका पदाधिकारी, जिल्ला फुटबलका प्रतिनिधि र क्लव प्रतिनिधिको उपस्थिति थियो । एन्फामा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका शेर्पाले आफूलाई २० वटा जिल्ला फुटबल संघ र ७ वटा क्लबको समर्थन रहेको शेर्पाको दाबी छ ।

Karma Chhiring Sherpa (1)

आर्थिक पारदर्शीता प्रमुख एजेण्डा

एक बर्षे कार्यकालका लागि हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएपछि कर्माले एन्फामा आर्थिक पारदर्शीतामा बिशेष जोड दिए ।

आफुहरुको लामो संघर्षपछि एन्फामा लोकतान्त्रिक प्रक्रिया सुरु हुन लागेकोमा खुसी व्यक्त गर्दै कर्माले अध्यक्षमा आफू निर्वाचित भए आर्थिक, प्रशासनिक र नीतिगत पारदर्शीता लागू गर्ने बताए । ‘यसअघि एन्फा सुद्धीकरणमा हामीले चलाएको लामो अभियानको एक अध्याय सकिएको छ र दोस्रो अध्याय आगामी कार्तिक ८ गतेबाट सुरु हुन्छ’ कर्माले भने ।

एन्फाका अहिलेसम्मको कार्यसमितिको आर्थिक पारदर्शीता नभएकोमा रुष्ट देखिएका कर्माले आफू निर्वाचित भएमा त्यसको भोलिपल्टैदेखि आर्थिक नियमावली परिवर्तन गर्ने उद्घोष गरे । भुटानको फुटबलको उदाहरण दिँदै उनले भने, ‘भुटानले फुटबलको बिकास गरिरहेको छ, तर नेपालमा किन हुन सकेन ? यो सबै अघिल्लो नेतृत्वको अपारदर्शी कामले नै भएको हो ।’

आर्थिकको साथसाथै प्रशासनीक र नीतिगत पारदर्शीताका बारेमा पनि आफुले एक बर्षे कार्यकालमा सुधारको अभियान सुरुवात गर्ने योजना कर्माले सुनाए ।

फुटबल बिकासमा बिकेन्द्रीकरण गर्ने

फुटबल बिकासको लागि ग्रासरुट लेभलबाटै काम सुरु गर्नुपर्ने कर्माको ठहर छ । त्यसका लागि फुटबल बिकासमा बिकेन्द्रीकरण गर्ने योजना कर्माले ल्याएका छन् ।

प्रत्येक प्रदेश र स्थानीय तहमा फुटबलको गतिविधि बढाउने, एन्फाको बिधानमै उल्लेख भएका १७ उपसमितिलाई सक्रिय बनाउने तथा एन्फामा सामूहिक नेतृत्वको प्रणाली बिकास गर्ने उनले बताए ।

अध्यक्षका उम्मेदवार कर्माको योजना अनुसार एन्फामा आवद्ध रहेका ४५ जिल्लामा फुटबल ट्रेनिङ सेन्टर बनाउने, ७ वटा प्रदेशमा महिला र पुरुषका लागि छुट्टा छुट्टै एकेडेमी बनाउने र प्रदेश तहमा अण्डर १२, अण्डर १४, अण्डर १६ र अण्डर १८ फुटबल टोली बनाइनेछ ।

यता क्लबलाई बलियो बनाउन एन्फाको अनुदानमा बृद्धि गर्ने योजना उनले ल्याएका छन् । क्लबहरुलाई कर्पोरेट हाउससँगको संग्लग्नता बढाउने, सर्वसाधारणले सेयर किन्न पाउने गरी व्यवसायिक रुपमा बिकास गर्नुपर्ने उनको योजना छ ।

 

बिज्ञानराज शर्मा पछि हटे

Bigyan Ran Sharma (7)एन्फा अध्यक्षको प्रत्यासीका रुपमा देखिएका पूर्व राष्ट्रिय फुटबलर तथा नेपाल प्रहरीका एआइजी बिज्ञानराज शर्माले भने उम्मेदवारी दर्तानै गर्नन् ।

पूर्व राष्ट्रिय टोलीका डिफेण्डर शर्माले एन्फाको निर्वाचन प्रक्रियाका कारण उम्मेदवारी दिन नसकेको बताए । एन्फाको बिधानमै उल्लेख भएको अध्यक्षका लागि ५/५ जना पस्तावक र समर्थक रहनुपर्ने व्यवस्थाका कारण आफुले उम्मेदवारी दिन नसकेको उनले बताए । चार बर्षे कार्यकालका लागि गृहकार्य सुरु गर्ने उनको भनाइ छ ।

अनलाइनखवरसँग कुरा गर्दै शर्माले भने, ‘यसअघिको नेतृत्वले आफुबाहेक अरुलाई आउनै प्रतिबन्ध लगाउने किसिमको बिधान बनाएको रहेछ ।’

धेरै समयपछि फुटबलमा फर्कन लागेकाले धेरैले नयाँ सोचेको र कोही पनि खुलेर आफ्नो समर्थनमा आउन नचाहेको उनले बताए ।

कात्तिक ८ मा चुनाव

anfa bulding 1एन्फा अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि आगामी कार्तिक ८ गते चुनाव हुँदैछ । निर्वाचनका लागि नरेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गरिसकेका छन् । उनी एन्फाका बर्तमान कार्यबाहक अध्यक्ष हुन् र उनलाई पूर्व अध्यक्ष गणेश थापाका विश्वास पत्र मानिन्छ ।

आर्थिक अनियमिता लगायतका आरोप लगाए फिफाले थापामाथि प्रतिवन्ध लगाएपछि र बरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि यी दुई पद चयनका लागि निर्वाचन हुन लागेको हो ।

उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिनमा अध्यक्षका लागि २ र उपाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

एन्फा उपाध्यक्षका लागि श्रेष्ठ प्यानलबाट मणि कुवँर चुनावी प्रतिस्पर्धामा छन् भने पूर्व राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंहले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

एन्फाको चुनावमा ४५ जिल्ला फुटबल संघ, १२ ए डिभिजन, ५ बी डिभिजन र ३ सी डिभिजन क्लवका साथै खेलाडी संघ, रेफ्री संघ, महिला संघ र प्रशिक्षक संघ गरी ६९ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment