Comments Add Comment

धादिङ बस दुर्घटना: ‘घाइतेहरु बचाउ-बचाउ भन्दै थिए’

'दुर्घटना भएको डेढ घण्टापछिमात्र प्रहरी पुग्यो'

Dhading_Accident_Injured (4)
त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएका धादिङ बस दुर्घटनाका एक घाइते

११ असोज, काठमाडौं । ‘बसका पार्टपुर्जाहरु टुक्रा-टुक्रामा छरिएका थिए । वरिपरि घाइतेहरु छटपटिँदै चिच्याइरहेका थिए । शवहरु पनि यत्रतत्र छरिएका थिए । कोही बसमा च्यापिएका थिए । अवस्था यति भयावह थियो कि व्यक्त गर्नसक्ने अवस्था छैन ।’

 

धादिङको मार्पाक-६ मा मंगलबार भएको बस दुर्घटनाको प्रत्यक्षदर्शी स्थानीय शिक्षक अमृत पोखरेलले अनलाइखबरसँग टेलिफोन वार्तामा यसरी व्याख्या गरे-

दुर्घटना धादिङबाट उत्तरी मार्पाक गाविसको वडा नम्बर ६ मा भएको हो । दुर्घटना भएको थाहा पाउँदा बित्तिकै म पनि घटनास्थल पुगें । मृतक र घाइतेका आफन्तहरु घटनास्थलमा चिच्याइरहेका थिए । दुर्घटनास्थलबाट गाउँ नजिकै भएकाले आफन्त र परिवारका सदस्यहरु पनि तुरुन्तै घटनास्थल पुगेका थिए ।

घाइतेहरुले पानी-पानी भनिरहेका थिए । कोही मलाई बचाऊ, अस्पताल लगिदेऊ भन्दै थिए । रगत बगिरहेको थियो । तर के गर्ने, कसरी गर्ने एकछिन अलमलमा परियो ।

गाडीभित्र मान्छे किचिएको देखिन्थ्यो । धेरैजनाले बचाउ-बचाउ भन्दै थिए तर उद्धार हुन सकिरहेको थिएन । स्थानीयबासीसँग मिलेर मैले पनि केहिलाई उद्धार गरें ।

Amrit_Pokhrel
अमृत पोखरेल

जिल्ला सदरमुकाम धादिङबेशीबाट मार्पाक जाँदै गरेको बसले विभिन्न सामानसहित भरी मानिस बोकेर उँभो लाग्दै थियो । वर्षामा सानो पहिरो खसेर बाटो भिरालो परेको थियो । त्यहिँनेर बस दुर्घटनामा परेको हो । सबै गाडी त्यहाँ पुग्दा कोल्टो परेर जान्थे । तर त्यो गाडी धेरै लोड भएकाले अगाडि बढ्न नसकेर तल्तिर झर्‍यो ।

जहाँबाट गाडी झर्‍यो, त्यहाँ जमिन थोरै भासिएको देखिन्छ । त्यसपछि गाडी बजारिँदै टुक्रा-टुक्रा भएर करिब २ सय मिटर तल झरेको छ । (धादिङ प्रहरीले भने बस ५ मिटर तल झरेको बताएको छ ।)

दुर्घटना भएको डेढ घण्टापछिमात्र प्रहरी पुग्यो

बस करिब विहान ११ बजे दुर्घटनामा परेको थियो । तर दिउँसो १ बजेसम्म उनीहरुलाई अस्पताल लैजाने व्यवस्था भएको थिएन । प्रहरी पनि पुगेको थिएन । दुर्घटना भएको करिब साढे एक घण्टापछिमात्र प्रहरी घटनास्थल पुगेको थियो ।

दुर्घटनास्थलबाट करिब २ घण्टा पैदलयात्रा पछि खहरे भन्ने ठाउँमा मात्र नजिकको स्वास्थ्य चौकी छ । त्योभन्दा नजिक कुनै स्वास्थ्य चौकी छैन । नजिकै करिब १० मिनेटको दुरीमा एउटा मेडिकल छ । मेडिकलका एक स्वास्थ्यकर्मीले भएका औषधि लिएर उपचारको कोशिस गरिरहेका थिए । तर प्राथमिक उपचारले मात्र गम्भीर घाइतेको जीवन रक्षा गर्ने स्थिति थिएन ।

घटना भएको करिब साढे एक घण्टापछि बल्ल ६ जना नेपाल प्रहरी घटनास्थल आए । तर ती प्रहरीलाई घटनास्थलका विरामीका लागि उपचारको व्यवस्था गर्न, घाइतेको उद्धार र मृतकको सनाखत गर्न निकै अप्ठेरो भइरहेको थियो ।

(घटनास्थलमा रहेका स्थानीय शिक्षक अमृत पोखेलसँग भएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment