
१२ असोज, काठमाडौं । पाकिस्तानमा हुने १९ औं सार्क शिखर सम्मेलनमा बंगलादेशले पनि भाग नलिने घोषणा गरेको छ । यसअघि भारतले पाकिस्तान आतंकवादीको केन्द्र बनेको भन्दै भाग नलिने बताएको थियो ।
नेपालमा आयोजित १८ औं सार्क शिखर सम्मेलनले पाकिस्तानको राजधानी इस्लामावादमा १९ औं सम्मेलन गर्ने निर्णय गरेको थियो ।
बंगलादेशकी प्रधानमन्त्रीका प्रेस सल्लाहकार इकबाल शोभन चौधरीले बंगाली सेवासँग कुराकानी गर्दै बंगलादेश पनि आगामी सार्क शिखर सम्मेलनमा सहभागी नहुने बताए ।
उनले भनेका छन्, ‘केही घरेलु परिस्थितिका कारण पाकिस्तानमा आयोजना हुन लागेको सार्क सम्मेलनमा हाम्रो देशले भाग लिँदैन ।’
इस्लामावादमा आगामी नोभेम्बर ९ र १० तारिखमा सार्कको १९ औं शिखर सम्मेलन हुँदैछ । हाल नेपाल सार्क राष्ट्रहरुको अध्यक्ष छ ।
भारतले मंगलबार पाकिस्तानमा हुने सार्क सम्मेलनमा भाग नलिने बताएको थियो । ‘क्षेत्रीय सहयोग र आतंकवाद एक साथ चल्न सक्दैनन् । त्यसैले भारत इस्लामावाद सम्मेलनमा सहभागी हुँदैन,’ भनेर भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीट गरेका थिए ।
Regional cooperation and terror don’t go together. India pulls out of SAARC Summit in Islamabad pic.twitter.com/jabKoaBegJ
— Vikas Swarup (@MEAIndia) September 27, 2016
भारतले यसबारे सार्कको अध्यक्ष नेपाललाई जानकारीसमेत दिइसकेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । भारतीय मिडियाहरुले आफ्नो विदेश मन्त्रालयलाई उद्धृत गर्दै लेखेका छन्, ‘भारतले नेपालसँग भनेको छ कि एक देशमा यस्तो माहोल बनेको छ जुन शिखर बैठकका लागि उपयुक्त छैन ।’
सार्कमा नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेश, श्रीलंका, मालदिभ्स र अफगानिस्तान सदस्य राष्ट्र छन् । यी सार्कका राष्ट्रहरुको बैठक हरेक वर्ष अंग्रेजी अल्फाबेट अनुसार नाम आउने देशहरुमा पालैपालो हुने गर्दछ ।
भारत प्रशासित काश्मीरको उडी भन्ने स्थानमा हालै भएको एक हमलामा १९ भारतीय सैनिकको मृत्यु भएको थियो । यस आक्रमणमा पाकिस्तानको हात रहेको भारतले आरोप लगाएको छ, जसका कारण भारत-पाकिस्तान सम्बन्ध थप चिसिँदै गएको छ । यसैकारण भारतले सार्कको इतिहासमै पहिलोपटक शिखर सम्मेलन बहिस्कार गर्ने निर्णय लिएको छ ।
प्रतिक्रिया 4