Comments Add Comment

रक्सौल नेपाली युवाकालागि नशासेवन गर्ने अखडा

Drugs१४ असोज, वीरगन्ज । लागुऔषध सेवनकर्ताका लागि सीमापारि भारतको रक्सौलमा रहेका औषधि पसलले कोरेस्क बार खोलेपछि नेपाली युवाका लागि त्यस्ता बार नशा गर्ने अखडाका रुपमा प्रयोग हुँदै आएका छन् ।

रक्सौलबजारको मयूरीगल्ली, डङ्कनरोड, पोस्टअफिस अड्डामा रहेका दर्जनौँ औषधि बिक्रेताले त्यस्तै बार सञ्चालन गरी आफ्ना ग्राहकलाई सेवा दिँदै आइरहेका छन् । त्यस्तो बारमा नियमित ग्राहक वीरगन्जका लागुऔषध सेवा गर्ने युवा हुन् ।

युवाका लागि लागुऔषध सेवन गर्न जाँदा औषधि पसलपछाडि बारमा पुग्दछन् जहाँ टेबुल, कुर्सी र पानीका बोतल राखिएको हुन्छ । युवाको मागअनुसार टेबुलमा लागुऔषध सजिलै आउने गर्दछ ।

बाहिर लागुऔषध सेवन गर्दा पक्राउ पर्ने डरले युवाले त्यस्तो बारको सहारा लिने गरेको वीरगन्ज छपकैयाका एक युवाले बताए ।

कुलतमा फसेका युवाका लागि यस्ता बार गन्तव्यस्थलका रुपमा विकसित हुँदै गइरहेका छन् ।

नेपाल–भारतबीच रहेको खुला सीमाका कारण लागुऔषध सेवन गर्ने सो सुरक्षित स्थानका रुपमा रहेको अर्का युवकले बताएका छन् । यस सम्बन्धमा भारत रक्सोलका एक प्रहरी अधिकृतसँग जिज्ञासा राख्दा उनले नाम नछाप्ने सर्तमा औषधि पसलले नै प्रेस्किृप्सनमा लेखेर दिने गरेकाले हामीले त्यस्ता युवालाई कारबाही गर्न नसकेको बताए ।

तर पर्साका प्रहरी उपरीक्षक राजबाबु श्रेष्ठले नेपाली प्रहरीले मात्र केही गर्न नसक्ने भन्दै त्यसका लागि भारतीय प्रहरी पनि सक्रिय हुनुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साको एक तथ्याङ्कअनुसार अघिल्लो वर्षको साउनदेखि चालु वर्षको भदौसम्म १६२ जना लागुऔषध ओसारपसार तथा सेवन गर्नेलाई पक्राउ गरी कारबाही गरिएको छ । लागुऔषध सेवनकर्ताको सङ्ख्या बढ्दै गएपछि त्यसलाई रोक्न नेपाल प्रहरी मात्र नभएर भारतीय प्रहरी पनि सक्रिय हुनुपर्ने वीरगन्जवासीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment