+
+

राष्ट्र बैंकले ३ दिनमा १३० करोड नयाँ नोट बाँड्यो, शुक्रबारसम्म बाँडिने

बजारमा २० रुपैयाँको नोट हाहाकार

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १९ गते १०:२९

Dashain_New_Note

१९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकको थापाथली शाखाले ३ दिनमै सर्वसाधारणलाई १ अर्ब ३० करोड रुपैयाँ नयाँ नोट बाँडेको छ । आगामी शुक्रबारसम्म सर्वसाधारणलाई नयाँ नोट बाँडिने राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए ।

गत आइतबारदेखि राष्ट्र बैंकले सीधै सर्वसाधारणलाई नयाँ नोट बाँड्न थालेको थियो । ‘थापाथली शाखाबाट मात्रै ३ दिनमा १ अर्ब ३० करोड नयाँ नोट बाँडिएको छ,’ पंगेनीले भने ।

राष्ट्र बैंकले यसअघिनै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट वितरण गरिसकेको छ भने उपत्यका बाहिरका आफ्ना पाँचवटा क्षेत्रीय कार्यालय मार्फत पनि सर्वसाधारणलाई सीधै नयाँ नोट वितरण गरिरहेको छ । उपत्यका बाहिरका कार्यालयहरुबाट कति नयाँ नोट वितरण गरियो भन्ने तथ्यांक आइनसकेको उनले बताए ।

पंगेनीका अनुसार राष्ट्र बैंकको थापाथली शाखाबाट आइतबार ३० करोड, सोमबार ४५ करोड रुपैयाँ नयाँ नोट सर्वसाधारणलाई बाँडिएको थियो भने र मंगलबार ५० करोड रुपैयाँको हाराहारीमा बाँडिएको हो ।

दशैं-तिहार र छठका लागि मात्रै ८ अर्ब रुपैयाँको हाराहारीमा बजारमा नयाँ नोट जाने आँकलन गरिएको उनले जानकारी दिए । ‘हाम्रो आँकलन चाडबाडमा ८ अर्ब रुपैयाँ नयाँ नोट बजारमा पठाउनुपर्ने हुन्छ भन्ने हो,’ पंगेनीले भने, ‘तर, बजारले जति माग्छ त्यति पठाउन तयार छौं ।’

राष्ट्र बैंकले बजारमा नोट प्रवाह नगरेका कारण नोटको अभाव हुन नदिने पंगेनीको भनाइ थियो ।

राष्ट्र बैंकबाट सीधै साट्दा एक सर्वसाधारणले सय रुपैयाँ र सोभन्दा कम दरका सबै दरका २/२ बण्डलका दरले ३७ हजार रुपैयाँ नयाँ नोट साट्न पाउने उनले बताए । गत वर्षको दशैंका एक व्यक्तिले २२ हजार रुपैयाँ मात्रै साट्न पाउँथे ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारी, कर्मचारीका निकट मान्छे, पहुँचवाला मान्छे र बैंकका ठूला ग्राहकलाई मात्रै नयाँ नोट दिएपछि राष्ट्र बैंकमा सर्वसाधारणको ठूलो लाइन लागेको छ ।

यद्यपि राष्ट्र बैंकमा पनि कर्मचारीहरुले भित्रैबाट लाखौलाख रुपैयाँ नयाँ नोट साट्ने गरेका छन् । नयाँ नोट साट्न राष्ट्र बैंकमा सर्वसाधारणहरु ५/६ घण्टासम्म लाइन बसेका छन् ।

बजारमा २० रुपैयाँको नोट हाहाकार

20 rs

यसैवीच बैंकहरुमा गएर तपाईले २० रुपैयाँको नयाँ नोट माग्नुभयो भने पाउनुहुन्न । बैंकका कर्मचारीले २० को नयाँ नोट छैन भन्ने जवाफ दिन्छन् । किन ?

बैंकका कर्मचारीहरुको जवाफ सुनेपछि पक्कै पनि तपाईँलाई रीस उठ्न सक्छ । तर, नेपाल राष्ट्र बैंकले नै २० रुपैयाँको नयाँ नोट निकै कम बजारमा पठाएको छ । जसका कारण बजारमा २० रुपैयाँको नोटको हाहाकार भएको हो ।

माथिल्लो व्यवस्थापनको सोर्स फोर्स लगाउनुभयो भने मात्रै बैंकबाट २० रुपैयाँको नोट साट्न पाउनुहुनेछ । राष्ट्र बैंकले नै बैंक तथा सर्वसाधारणलाई २० रुपैयाँको नोट मागेजति नदिएको बैंकर र सर्वसाधारणहरुको गुनासो छ ।

‘राष्ट्र बैंकमा १ करोड रुपैयाँ साट्न जाँदा ८० लाख १०० को बाँकी अरु र २० को चाहिँ अत्यन्तै कममात्रै दिन्छ,’ एक बैंकरले अनलाइनखबरसँग भने, ‘जसकारण हामीले सर्वसाधारणलाई २० को नोट उपलब्ध गराउन सकेका छैनौं ।’

यो वर्ष राष्ट्र बैंकले २० रुपैयाँ दरका २१ करोड थान नयाँ नोट छापेको थियो । तैपनि बजारमा चाहे जति पठाएको भने छैन ।

तर, राष्ट्र बैंकका प्रवक्ता भने आवश्यकता अनुसार बजारमा नोट पठाइएको दाबी गर्छन् ।

‘बजारमा चाहिएजति नोट पठाएका छौं,’ पंगेनीले भने, ‘त्यसरी २० को नोटको हाहाकार त नहुनुपर्ने हो ।’

सुरुमा साट्नेहरुले २० रुपैयाँको नोट बढी साटेका कारण पछि साट्नेहरुले नपाएको हुनसक्ने पंगेनी बताउँछन् ।

‘काउन्टरमा पहिला २० को बाँडेर सकिएकाले पछि आउनेलाई २० को नोट नदिइएको हुनसक्छ,’ उनले भने ।

त्यसो त प्रत्येक वर्ष चाडबाडमा कुनै न कुनै दरको नोटको हाहाकार हुँदै आएको छ । गत वर्ष पनि बैंक तथा सर्वसाधारणले ५० रुपैयाँका दरका नोट मागेजति साट्न पाएका थिएनन् ।

राष्ट्र बैंकले गत असोज ९ देखि १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट दिएको थियो भने असोज १६ गतेदेखि २१ गतेसम्म सीधै सर्वसाधारणलाई प्रतिव्यक्ति ३७ हजार रुपैयाँसम्म नयाँ नोट सटहीको सेवा उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?