Comments Add Comment

प्रधानमन्त्रीद्धारा लाप्राक एकीकृत नमुना बस्तीको शिलान्यास, १२ महिनाभित्र घर बनिसक्ने

laprak_foundation-laying

२१ असोज, काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निमार्ण गर्न लागेको गोर्खाको लाप्राकस्थित एकीकृत नमुना वस्तीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलन्यास गरेका छन् ।
शुक्रबार बिहान लाप्राक पुगेका प्रधानमन्त्री प्रचण्डले ६ सय १२ घरसहितको नमुना वस्तीको शिलन्यास गरे । सो अबसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र प्रधानमन्त्री प्रचण्डले एनआरएनले बनाएको बस्ती विकाश गुरुयोजनाको संयुक्तरुपमा अनावरण पनि गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले लाप्राकको वस्तीले पुरै देशलाई नयाँ सन्देश दिने बताए । ‘यो एकीकृत वस्ती मात्र हैन, नमुना वस्ती पनि हो’ उनले भने- यसले देशलाई नै नयाँ सन्देश दिन सक्छ, अरु सयौं नमुना वस्तीहरु वन्न सक्छन ।’

गैरआवासीय नेपालीहरुको राष्ट्रभक्ति देखेर आफु निकै प्रभावित भएको भन्दै उनले भने-‘यो निकै चुनौतीपूर्ण काम हो, सजिलो छैन, तर, शेष घलेजीको परिचय त्यसै बनेको हैन, उहाँहरुले आँटेपछि काम पुरा गर्नुहुन्छ भन्ने मलाई बिश्वास छ ।’

भूकम्पबाट घरबिहीन हुन पुगेका एक हजार परिवारलाई घर निर्माण गरिदिने गैरआवासीय नेपाली संघको घोषणा अन्र्तगत गोर्खाको लाप्राकमा एकीकृत नमुना वस्ती बनाउन लागिएको हो । यो वस्ती निर्माणका लागि सवै खर्च गैरआवासीय नेपाली संघले गर्ने छ ।

लाप्राक एकीकृत वस्ती विकाश गुरूयोजना अनावरण गर्दै प्रधानमन्त्री प्रचण्ड र एनअारएन अध्यक्ष
लाप्राक एकीकृत वस्ती विकाश गुरूयोजना अनावरण गर्दै प्रधानमन्त्री प्रचण्ड र एनअारएन अध्यक्ष शेष घले

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले वस्ती निर्माणको शिलन्याससँगै गैरआवासीय नेपाली र लाप्राकबासीको सपना पुरा हुन लागेको बताए ।

‘हामीले एक बर्ष पहिले नै वस्ती निर्माणको सुरुवात गर्न चाहान्थ्यौं, हामीले त्यसका लागि चाहिने सवै पैसा संकलन पनि गरिसकेका थियौं’ अध्यक्ष घलेले भने-‘प्राधिकरण बन्न ढिलाई हुनु र समयमै स्वीकृति पाउन नसक्नुका कारण पनि हामीले चाहेजस्तो छिटो गर्न सकेनौं, ढिलै भए पनि अब नमुना वस्ती विकाशको सपना पुरा हुने भएको छ ।’

अध्यक्ष घलेले केही दिनमै निर्माण कार्य सुरु हुने र आगामी १२ महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको जानकारी दिए ।

laprak-prachanda

गत बर्ष बैशाख १२ गते आएको बिनासकारी भूकम्पबाट ध्वस्त भएको लाप्राक गाउँलाई सोही गाविसको केही माथि रहेको गुम्सीपाखाका स्थानान्तरण गरी वस्ती विकाश गर्न लागिएको हो ।

लाप्राकमा ६ सय १२ घर बनाउने योजना रहेकोमा हाल सरकारले उपलब्ध गराएको जग्गामा ४ सय ४४ घरमात्र अटने भएका छन् । बाँकी १५० घरका लागि नयाँ ठाउँमा जग्गा खोज्नुपर्ने भएकाले सो जग्गा पनि उपलब्ध गराइदिन अध्यक्ष घलेले प्रधानमन्त्रीसँग अनुरोध गर्नुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्रीले बाँकी जग्गा पनि सरकारले नै उपलब्ध गराउने र गैरआवासीय नेपाली संघले ६ सय १२ घर नै बनाउन पाउने आश्वासन दिए ।

laprak-prachanda-2

लाप्राक एकीकृत वस्तीमा बिद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन, स्थानीय भेषभुषा र संस्कृति झल्कने संग्रहालय लगायतका संरचना बन्नेछन् । वस्तीमा होम स्टे र सामुदायिका गेष्टहाउस बनाइ गाउँलेलाई आम्दानीको स्रोतसमेत ब्यबस्था गरिदिने संघको योजना रहेको छ ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तलगायत बिभिन्न देशबाट आएका गैरआवासीय नेपालीहरुको उपस्थीति थियो ।

laprak_foundation-laying-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment