News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको निर्यात १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ ।
- सोही अवधिमा आयात ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ भने व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ देखिएको छ ।
- पहिलो तीन महिनामा भारतसँग २ खर्ब ७१ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ, र निर्यातमा वनस्पति तेलको हिस्सा सबैभन्दा धेरै रहेको छ ।
११ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) मै निर्यात व्यापार खर्बमाथि उक्लिएको छ ।
भन्सार विभागका अनुसार असोज मसान्तसम्म १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । जुन अघिल्लो आव २०८२/८३ को सोही अवधिको तुलनामा ५७.०३ प्रतिशत धेरै हो ।
अघिल्लो आव असोजसम्म ७२ अर्ब ७८ करोड बराबर वस्तु निर्यात भएको थियो । कुल निर्यातले गत आव नयाँ रेकर्ड बनाएको थियो । सोही आवमा कुल ३ खर्ब १५ अर्बमाथिको वस्तु निर्यात भएको थियो । चालु आव प्रथम त्रैमासिक अवधिको आँकडाले यो रेकर्ड उछिन्ने संकेत गरेको छ ।
उता, चाडबाडका कारण आयातमा उस्तै उछाल कायम रह्यो । असोजमा मात्र कुल २ खर्ब ४५ अर्ब २६ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । जसले गर्दा पहिलो त्रैमासमा कुल आयात ३८.१८ प्रतिशत वृद्धि भई ६ खर्ब ४६ अर्ब ७८ करोड बराबर पुगेको छ । गत आव पहिलो तीन महिनामा ४ खर्ब ६८ अर्ब बराबरको मात्र आयात भएको थियो ।
आयात र निर्यात दुवैमा भएको उच्च वृद्धिले यस वर्ष पहिलो तीन महिनामै कुल वैदेशिक व्यापार आकार ४०.७१ प्रतिशत विस्तार भएको छ । वैदेशिक व्यापार आकार ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ बराबर पुगेको छ । गत आव असोजसम्म ५ खर्ब ४० अर्ब बराबर मात्र वैदेशिक व्यापारको आकार थियो ।
असोजसम्म व्यापार घाटा भने ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ बराबर देखिन्छ । जुन अघिल्लो आव सोही अवधिको तुलनामा ३४.७१ प्रतिशत बढी हो । गत आव पहिलो त्रैमासमा व्यापार घाटा ३ खर्ब ९५ अर्ब रुपैयाँ बराबर थियो ।
यस वर्ष कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा ११.५९ प्रतिशत सुधार भई १५.०२ प्रतिशत पुगेको छ । आयात हिस्सा १.८० प्रतिशत खस्किएर ८४.९८ प्रतिशत कायम भएको तथ्यांकमा देखिन्छ ।
उच्च आयातमा सबैभन्दा ठूलो हिस्सा इन्धन र वनस्पति तेलको कच्चापदार्थले ओगटेको छ । तीन महिनामा नेपालले १ खर्ब १९ अर्ब रुपैयाँ बराबर इन्धन आयात गरेको छ । ६६ अर्ब ६६ करोड बराबर वनस्पति तेलको कच्चापदार्थ आयात भएको भन्सार विभागले जानकारी दिएको छ । तीन महिनामा सवारीसाधन र त्यसको कच्चापदार्थ आयातमा मात्र ५३ अर्ब १९ करोड विदेशिएको छ ।
मेसिन र मेकानिकल पार्टपुर्जा आयात ४२ अर्ब ११ करोड, विद्युतीय उपकरण ४० अर्ब ८४ करोड, आइरन र स्टिल ३९ अर्ब ३७ करोड र मल आयातमा ३२ अर्ब ७५ करोड रुपैयाँ विदेशिएको छ ।
निर्यातमा सबैभन्दा ठूलो हिस्सा वनस्पति तेलकै छ । तीन महिनामा ५९ अर्ब ३२ करोड बराबर तेल निर्यात भएको छ । दोस्रो स्थानमा रहेको धागो ४ अर्ब ९७ करोडको निर्यात भएको छ ।
चिया, कफी तथा मसला निर्यात ४ अर्ब ६५ करोड बराबर छ । कार्पेटजन्य वस्तु निर्यात ३ अर्ब ७२ करोड बराबर भएको देखिएको छ ।
सबैभन्दा धेरै आयात हुने वस्तु कुन ?
वस्तुगत हेर्दा पहिलो तीन महिनामा आयात भएको वस्तुको सबैभन्दा अग्रस्थानमा कच्चा सोयाबिन तेल छ । जुन ५२ अर्ब ६० करोड बराबर आयात भएको छ ।
दोस्रो स्थानमा डिजेल छ । जुन ४७ अर्ब ३१ करोड बराबर आयात भएको छ । पेट्रोल २४ अर्ब ६२ करोड र खाना पकाउने एलपी ग्यास २३ अर्ब १८ करोड बराबर आयात भएको भन्सार विभागले जनाएको छ ।
त्यसैगरी १९ अर्ब ३० करोड बराबर रासायनिक मल आयात भएको छ । स्मार्टफोन मात्र १८ अर्ब ८१ करोड बराबर भित्रिएको छ । तीन महिनामा ३ अर्ब बराबर सुन आयात भएको छ ।
निर्यातमा वनस्पति तेल अगाडि
नेपालबाट निर्यात अधिक भएका वस्तुमा वनस्पति तेलको हिस्सा अधिक छ । सोयाबिन तेल ५२ अर्ब ६० करोड बराबर निर्यात भएको छ । कार्पेट तथा अन्य टेक्सटायल निर्यात ३ अर्ब ३२ करोड बराबर भएको छ । जुट निर्यात २ अर्ब ९६ करोड बराबर भएको छ ।
अलैँची २ अर्ब ५७ करोड बराबर निर्यात भएको भन्सार विभागले जनाएको छ । सूर्यमुखी फूलको तेल २ अर्ब ५३ करोड र पाम तेल २ अर्ब ४२ करोड बराबर निर्यात भएको तथ्यांक विभागको छ ।
कुन–कुन हुन् नेपालका मुख्य व्यापार साझेदार देश ?
विभागका अनुसार पहिलो तीन महिनामा सबैभन्दा उच्च व्यापार, आयात, निर्यात र व्यापार घाटा भारतसँग भएको छ । भारतबाट कुल ३ खर्ब ६६ अर्ब रुपैयाँको सामान नेपाल भित्रिएको छ ।
नेपालबाट भारततर्फ ९५ अर्ब ५९ करोडको वस्तु निर्यात भएको छ । सोहीकारण यस मुलुकसँग २ खर्ब ७१ अर्ब बराबर व्यापार घाटा छ । दोस्रो स्थानमा चीन छ । भारतबाट नेपालमा १ खर्ब ३४ अर्ब बराबर वस्तु भित्रिएको छ ।
नेपालबाट चीनतर्फ भने मात्र ६७ करोड बराबर वस्तु निर्यात भएको छ । तेस्रो ठूलो व्यापार साझेदार मुलुक अर्जेन्टिना बनेको छ । यस मुलुकबाट नेपालले खाने तेलको कच्चापदार्थ आयात गरिरहेको छ । जुन भारतमा तयारी तेलका रूपमा निर्यात भइरहेको छ ।
पहिलो तीन महिना अर्जेन्टिनाबाट ३५ अर्ब ६५ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । चौथो स्थानमा साउदी अरब छ । यस मुलुकबाट ११ अर्ब ५६ करोड बराबर वस्तु नेपाल आएको छ ।
ब्राजिलबाट ९ अर्ब ४ करोड बराबर वस्तु भित्रिएको छ । अमेरिकाबाट ८ अर्ब ९३ करोडको वस्तु भित्रिएको देखिन्छ । नेपालबाट अमेरिकातर्फ ६ अर्ब ९९ करोड बराबर वस्तु निर्यात हुँदा अमेरिकासँग व्यापार घाटा समेत कम छ ।
यस्तो छ पहिलो तीन महिनाको वैदेशिक व्यापार
आयात : ६ खर्ब ४६ अर्ब
निर्यात : १ खर्ब १४ अर्ब
व्यापार घाटा : ५ खर्ब ३२ अर्ब
कुल वैदेशिक व्यापार : ७ खर्ब ६१ अर्ब
आयात/निर्यात अनुपात : ५.६६
आयात हिस्सा : ८४.९८
निर्यात हिस्सा : १५.०२
प्रतिक्रिया 4