Comments Add Comment

दशैं माने पनि हुन्छ, बहिस्कार गरे पनि हुन्छ 

सचित राई

दशैं बहस पुरानो भइसके पनि अझै सेलाइसकेको छैन । जब दशैं-तिहार नजिकिन्छ तब बहसले निरन्तरता पाउने गरेको छ । दशैंको पक्ष र विपक्षमा हुने यस्ता बहसले मलाई ‘चिमोट्ने’ गरेको छ । लाग्छ- यो बहसलाई सकारात्मक रूपमा लिएर हामी अगाडि बढ्न सक्नुपर्छ । यसलाई नकारात्मक रूपमा ग्रहण गर्‍यौं भने हामी धार्मिक तथा साम्प्रदायिक द्वन्द्वमा जाकिन सक्छौं । ‘अतिले त खति गर्छ’ भन्ने पुरानै कथन हो ।

दसैैं बहसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्ने हो भने पक्कै सामाजिक तथा सांस्कृतिक सद्भावले निरन्तरता पाउनेछ । यो बहस किन निम्तियो भन्नेमा जरासम्मै पुगेर त्यसबाट पाठ सिक्न जरुरी छ । यही सन्दर्भमा म तपाईंलाई आफ्नै अनुभूतितर्फ डोर्‍याउँछु ।

बाल्यकालमा दशैं व्यग्र प्रतीक्षाको चाड हुने गथ्र्यो । दशैं कहिले आउला र नयाँ लुगा फेर्न, विभिन्न प्रकारका मीठा-मीठा परिकार खान पाइएला, टीका थापेसँगै दुई/चार रुपैयाँ जोहो गरिएला भन्ने आस बढ्थ्यो । यस्ता रहरलाग्दा थुप्रै किस्सा छन् । आमाको पुच्छरे भएर मावल -पाँचथरको रवि-खेसाङखोप्पा) जान पाउँदा त हर्षको सीमा रहने कुरै भएन ।Sachit Rai Samman

अर्कोतर्फ दशैंमा पैसा बटुलेर दिने सर्तमा फुटबल लगायतका विभिन्न खेल खेल्नुको आनन्द लेखेर साध्य छैन । यस्तो रमाइलो बाल्यावस्था पार गर्दै-गर्दा भने भाषा, धर्म तथा संस्कृतिप्रतिको अध्ययनपछि दशैं प्रतीक्षाको सूचीमा पर्न छाड्यो । मैले दशैंलाई प्राथमिकता दिइनँ ।

मेरा आमाआपा (आमाबुवा) दशैं आएपछि दसा आयो है ! भन्नुहुन्थ्यो । खासगरी, आपाले दशैंबाट आफू सताइएको पिरलो सुनाउनुहुन्थ्यो । यी यावत् पक्षको ठम्याइपछि मन आन्दोलित हुन थाल्यो । मैले दशैं मान्न छाडिदिएँ । विसं २०५२/५३ देखि दशैंका नाममा टीका लगाउन छाडें । मेरो चाला देखेर सुरुआती दिनमा आपाले केही असहज मान्नुभएको महसुस गरें । मलाई पनि असहज त महसुस भएकै थियो । यद्यपि, उहाँले टीका लाउनै पर्ने दबाबचाहिँ दिनुभएन । त्यो उहाँको महानता हुनुपर्छ ।

परिवारमा साहिला दाजु रामकुमार पनि दशैंमा टीका थाप्नु हुन्थेन । उहाँ खाँटी कम्युनिस्ट बनिटोपल्नुभएको होला । दशैंमा प्रायः ६ दाजु-भाइ र दुई चेलीमध्ये हामी दुईको निधारमा टीका र शिरमा पातीको फूल सिउरिन्थेन । हाम्रो गाउँ -इलाम बाँझो- जुन क्षेत्रलाई मिक्लुङ भनिन्थ्यो)मा दशैंमा दहीमा चामल मुछेको सेतो टीकासँगै आशीर्वाद थमौनी जमराको साटो तीतेपातीको फूल सिउरिदिने चलन छ । यसो भनौं कि घटस्थापनामा जमरा राख्ने चलन छैन । न बलि चढाइन्छ । अधिकांश घरमा एकदम शाकाहारी तरिका अपनाइन्छ । त्यस्तै, अक्षता टीकाको साटो चन्दन लगाउने चलन पनि बढेको छ । त्यसैले हामीकहाँ अलि फरक छ दशैं परम्परा ।

दशैंमा टीका नथाप्नु मेरा लागि बहुल भाषा, धर्म तथा संस्कृति भएको मुलुकमा राज्यले लिएको ‘एकल नीति’प्रतिको आक्रोश थियो । मैले दशैं नमान्नुलाई हिन्दू धर्म तथा संस्कार-संस्कृतिप्रतिको प्रहारका रूपमा लिएको छैन किनकि म धर्मान्ध होइन । धर्मान्धले हो अरूको देखी नसहने । तर, राज्यसत्ताले वर्षौंदेखि हिन्दू धर्म, भाषामा खस-पर्वते तथा हिन्दू संस्कार-संस्कृतिलाई संरक्षण मात्र होइन, यी भाषा, धर्म तथा संस्कृति सीमान्तकृत समुदायमा लादेकाप्रति एकप्रकार विद्रोह थियो त्यो ।

राज्यले आदिवासी जनजातिका भाषा, धर्म तथा संस्कृतिमाथि दमनको नीति लिएको त सबैमा जगजाहेरै छ । यहाँ सानो तथ्य पेस गरौं- राजा राजेन्द्र शाहको पालामा लिम्बुवानबाट कुरुवा -प्रतिनिधि) काठमाडौं झिकाउने चलन बस्यो । पहिलोपटक दस लिम्बुवान र सत्र थुमको प्रतिनिधित्व गरी याङरुप थुमका बागनसिंह -बागवीर) हेम्ब्या कुरुवा छानिएर काठमाडौं आए । राजाको आदेशमा उनले दुईडोरे जनै लगाए । गोबध नगर्ने, राजधर्म मान्ने र सारा लिम्बुवानका लिम्बू जातिले जनै अनिवार्य लगाउनुपर्ने राजाको आदेश स्वीकार गरे । १६ ढाकर जनै बोकाएर उनी याङ्रुप थुम गए । याङ्रुप थुमका केही लिम्बूले त दुईडोरे जनै लगाए पनि । त्यस निर्णयको विरोधमा अन्य थुमका लिम्बूहरू उत्रिए । आपत्कालीन चुम्लुङ (सभा) बस्यो । लिम्बूहरूले जनै लगाउने कुराको विरोध भयो ।

फ्नो जातिको रीति गुमाएको अभियोगमा बागनसिंहलाई कुरुवा पदबाट हटाई नयाँ कुरुवाका रूपमा याङनाम हिवाखोला थुमबाट अटलसिंह जबेगूलाई केन्द्रमा पठाइयो । उनले काठमाडौं पुगेर राजासमक्ष लिम्बुवानको जनताले आफ्नै किरात धर्म तथा नीति मान्ने, जनै नलगाउने, गोबध नगर्ने तर मरेको गाईको मासु एक पैसा मेन्जेन (जरिवाना) तिरेर खान पाउनुपर्ने माग गरे । राजाले उक्त माग पूरा गरे । अनि लिम्बूहरूको रीति थामिएको कुरा डा. देवी दुलालले लेखेको ‘पाँचथरको इतिहास’ नामक कृतिमा उल्लेख छ ।

त्यस बेला लिम्बूहरूको रीति थामिएको उल्लेख भए पनि राज्य पक्षबाट धार्मिक, भाषिक तथा सांस्कृतिक अतिक्रमण भने नरोएकिै रहेछ । विसं २०४६ मा प्रजातन्त्र पुनर्बहाली भएपछि पनि आदिवासी जनजातिले अधिकार पाउन सकेनन् । २००७ सालको परिवर्तनको कुरै छाडौं । राज्यसत्तामा पहुँच नभएकै कारण पछाडि पारिएका आदिवासी जनजातिलगायत उत्पीडित विभिन्न समुदाय तथा अल्पसंख्यकलाई २०४६ सालको राजनीतिक परिवर्तनले अधिकार प्राप्तिको बाटोसम्म खोलिदियो । वर्षौं दबाएर राखिएका जाति तथा समुदायलाई न्याय भने मिलेन । देश विभिन्न जातजाति तथा धर्मावलम्बीको साझा भए पनि एकलौटी ‘हिन्दूराष्ट्रकै’ रूपमा रहृयो । व्यवहार पनि त्यसरी नै गरियो ।

त्यस्तो परिस्थितिबाट गुज्रँदै गर्दा दशैंमा टीका नथापेर मैले राज्यप्रति आक्रोश पोखेको रहेछु । त्यो मेरो विद्रोह रहेछ- अहिले मूल्यांकन गर्छु । त्यस बेला दशैं नमान्ने लहडै चलेको थियो । ‘दशैं हाम्रो होइन, यो त लादिएको हो’ भन्ने कुरा सुन्न पाइन्थ्यो । यस सन्दर्भमा इतिहास थोरै कोट्याऔं- राणाशासकले दशैं मान्नुपर्ने उर्दी लगाउँदा विसं १९४२ मा रामलिहाङ र रिदमाले धनकुटामा बहिष्कार गरेपछि सहादत हुनुपर्‍यो । दशैं लाद्ने क्रममा राज्यले दुई जनाको हत्या गरेपछि उक्त क्षेत्रका बासिन्दा आन्दोलित भएका कथनहरू भेटिन्छन् । मानवशास्त्री डम्बर चेम्जोङका शब्दमा दशैंमा बलि दिएको पशुको रगतको पञ्जाछाप घरको भित्तामा हानिराख्नुपर्ने हुकुम थियो लिम्बू सुब्बाहरूलाई । रगतको पञ्जाछाप भए/नभएको निरीक्षण गर्न गोश्वारा, गौंडाअड्डाबाट डोर खटिएर आउँथे तत्कालीन लिम्बुवानमा । दशैं नमानेको, पशुबलि नदिएको भेटिए सजायको भागीदार हुन्थे लिम्बू सुब्बाहरू ।

यी केही तथ्यबाटै पनि दशैं हिन्दूइतर धर्मावलम्बीको परम्परागत चाड होइन भन्ने स्पष्ट हुन्छ । अर्कातर्फ किरातहरू मुन्दुममा आधारित धर्म, संस्कार अपनाउँछन् भने प्रकृति तथा पितृको पूजासहित महत्वका साथ उँधौली र उँभौली चाड मनाउँछन् । अन्य जातजातिका पनि आआˆनै परम्परागत धर्म तथा संस्कार-संस्कृति छ । यहाँ उल्लेख गर्नुपर्ने विषय के हो भने मुन्दुममा न कहीं दुर्गा भवानीको कथा छ न त राम र रावणकै । समाशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणबाट हेर्दा पनि दशैं हिन्दू धर्म तथा दर्शनमा आधारित भएको स्पष्ट हुन्छ । दशैं आदिवासी जनजातिकै चाड हो भन्ने तर्क पनि यदाकदा नसुनिएको भने होइन ।
यसलाई तर्कका लागि तर्ककै रूपमा मात्र लिँदा सान्दर्भिक होला । यसका साथै दशैंको आर्थिक तथा राजनीतिक पक्ष पनि उत्तिकै विश्लेषणीय पाटो भएर आएको छ । दशैंले उमंग र हर्ष मात्र होइन, विस्मात् पनि थप्ने गरेको छ । यस्ता विसंगतिका पक्ष थुप्रै छन् ।

‘हुने खानेलाई दशैं, नहुनेलाई दसा’ भन्ने त उखान नै बनिसकेको छ । दुःखजिलो गरेर खानेका लागि वर्षमा दशैं ‘एकछाक’जस्तै हो । ‘आयो दशैं रमाई-रमाई गयो दशैं ऋण बोकाई’ भन्ने सुनिनुले आर्थिक तथा सामाजिक पक्षलाई इंगित गर्छ । यसले वर्गीय विभेदको अवस्थाको संकेत गर्छ । यस्ता विसंगतिका पक्षलाई धेरै नकोट्याऔं ।

उँभौली र उँधौलीका दिन सार्वजनिक बिदा भन्ने थाहा पाउँदा म यति दंग परेको थिएँ कि न भनेर साध्य न त लेखेरै । मैले साकेन्वा सिलीका लागि खुट्टा चाल्न जानेको पल सायदै बिर्सन्छु । किनकि, पूर्व -मेची अञ्चल)मा त भर्खरजस्तो लाग्छ ढोल, झ्याम्टाको ढेङ्कु-ढेङ्कु तालमा नाच्न सिकेको । इलामको शान्तिडाँडाका लीला राईले खुट्टा चाल्न सिकाए ।

भाषा जाने पनि उँधौली र उँभौलीजस्ता मौलिक चाडको महत्व थाहा थिएन मलाई । राज्यले स्कुलमा पढाएर होस् या सामाजिक थिति बसालिदिएका कारण म यस्तो अवस्थामा पुगें भन्न कञ्जुस्याइँ गर्दिनँ । या हाम्रा पुर्खाले बिर्सिएका हुन् संस्कार-संस्कृति ? मलाई मेरो भाषा, धर्म तथा संस्कृतिबारे सिकाएको भए अहिले आएर खोजी गरिरहनुपर्ने थिएन । राणाशासन बेहोरेका बूढापाका पनि ‘दशैं त हाम्रो होइन राणाहरूले मान्नु लगाएको’ भन्थे । बूढापाकाका कुराले पनि आन्दोलित गरायो होला । दशैं बहिष्कारको लहरमा पनि परें हुँला, बहकिएँ होला । त्यो बहकाइ सही नै रहेछ ठान्छु म । मैले त्यही बेला ‘दशैंप्रति घट्दो मोह’ भनेर फिचर प्रकाशन गरेको थिएँ- सम्झन्छु, ठिकै गरेछु ।

कुरा रहृयो गणतान्त्रिक नेपालको । २०६२/६३ मा भएको जनआन्दोलनको उपलब्धिस्वरूप मुलुक धर्मनिरपेक्ष बन्यो । तर, अझै जनजाति, मधेसीलगायत उत्पीडित जाति, समुदाय, क्षेत्र तथा लिंगका असन्तुष्टिका स्वरहरू निरन्तर नै छन् । खास अर्थमा नयाँ नेपाल बन्न सकेको छैन, नयाँ नेपाल भनियो मात्रै । अब दशैंलाई हेरौं न, यसलाई राज्यले अझै यति धेरै महत्व दिएको छ कि ‘धर्मलाई अफिम’ मान्ने विचार तथा सिद्धान्तबाट प्रेरित नेताहरू नै यसमा लागिपरेका छन् । उनीहरू रूपान्तरण हुन सकेका छैनन् ।

दशैं परम्परालाई विगतका शासकहरूले जस्तै गरी नयाँ नेपालका सत्ताधारीले पनि निरन्तरता दिइरहेका छन् । उनीहरू ‘समावेशी’ नामको माला जप्दै
बसिरहेछन् । अर्कातर्फ सबै भाषालाई उत्तिकै मान्यता दिने घोषणा भए पनि कार्यान्वयन हुन नसकेको अवस्था छ । यद्यपि, सीमान्तकृत भाषा, धर्म तथा संस्कृतिको विकासका लागि गणतन्त्र स्थापनासँगै बाटोचाहिँ फराकिलो बनेकै हो । यसैबीच संविधानसभाबाट संविधान बनाउने २००७ सालदेखिको सपना २०७२ असोज ३ गते साकार भएको छ । यससँगै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको छ । अब सबैले फुल्ने-फल्ने अवसर पाऊन् ।

धर्मलाई म व्यक्तिको ‘आत्मनिर्णय’को अधिकार मान्छु । धर्म आचरण हो, अनुशासन हो अनि यो जीवन जिउने पद्धति र प्रक्रिया पनि हो । तर, ‘धर्मान्ध समाज’मा धर्मको विकास भन्दै अरूको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति छ । धर्मलाई अफिमको संज्ञा त्यत्तिकै दिइएको होइन रहेछ । विश्वको राजनीतिसमेत धर्मबाट प्रभावित हुँदै आएको स्पष्टै छ । धर्मकै आडमा नेपालमा वर्षौंसम्म एकलौटी शासन लादिएको हामीले भोगेकै हो ।

देश धर्मनिरपेक्ष भइसकेपछि पनि दशैंमा मैले टीका लगाएको थिइनँ । २०६४ सालको दशैंमा टीका नलगाउँदा केही थकथकी लाग्यो । आपाआमाको हातको टीका कतिन्जेल नलगाइरहने ? संसारकै महान् र श्रद्धेय व्यक्तित्व आपाआमा रहेछन् । वर्षदिनमा बल्लतल्ल दशैंकै छेक भेट हुन्छ । त्यही पनि नमरी बाँचे कालैले साँचे भेट हुने हो । राज्यले भेटघाटको अवसर नै दशैंलाई बनाइदिएको छ त म के गरूँ ? फेरि मेरो एक मनले भन्यो- यो त सांस्कृतिक लडाइँ हो । तर, विसं २०६६ मा भने मेरो सांस्कृतिक लडाइँले कोल्टे फेर्‍यो ।

त्योसालको दशैंमा टीका (अक्षता टीका होइन चन्दन) लगाएँ । त्यो मेरो बाध्यता बन्यो । बाध्यता यसकारण कि विसं २०६५ मा आमाको निधन भयो । आमाको निधनपछि आपाको विक्षिप्त मनलाई ठेस पार्न चाहिनँ । अर्काेतर्फ केही वर्षको अन्तरालमा भेटिने आपासँग नाइँनास्ती गर्ने कुरा पनि रहेन ।

खासगरी, दशैंमा दिइने लामो बिदाको विभेद यहाँ जोडिन्छ । त्यस्तै, बिहेपछि दशैंमा घर पुगेको पहिलोपटक थियो । भाउजूहरूको माया पनि बाध्यता बनेर आइदियो । उहाँहरूले म अगाडि नसरी टीका नथाप्ने अडान लिइदिनुभयो । त्यसमा झुक्नुपर्ने भयो । त्यसो त दशैं नमानिरहूँ/बहिष्कार मात्रै गरिरहूँ भन्ने अडान पनि होइन मेरो । हामीले पश्चिमा संस्कार तथा संस्कृतिलाई सहज रूपमा आत्मसात् गर्न मिल्छ भने आˆनै देशका चाडपर्व किन नमान्ने ? हामीले मानिआएको पनि हो । तर, पहिलो कुरा त राज्य सबै धर्म तथा संस्कृतिप्रति सहिष्णु बन्नुपर्‍यो भन्ने आग्रह हो । नेपाली बहुलतालाई स्वीकार गर्नुपर्‍यो भन्ने मात्तै हो । अब भन्नुस्, मजस्ताले धार्मिक सहिष्णुताको पाठ पढेर आˆनै मौलिक चाडपर्वलाई नामेट पार्न खोजिएको यथार्थचाहिँ कहिलेसम्म नबुझ्ने ?

(पत्रकार तथा लेखक राईको निबन्धात्मक कृति ‘माङखिम’बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment