Comments Add Comment

दशैंमा अल्मलियो माओवादी ! प्रधानमन्त्रीको निधार किन रित्तै ?

माओवादीका नेता र कार्यकर्तावीच दशैंबारे थरिथरिको मापदण्ड

Prachanda-tika२५ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बडादशैंका अवसरमा दिएको शुभकामनामा भनेका छन्- ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण एक सुन्दर र बहुविविधतापूर्ण राष्ट्र हो । विजयादशमी, तिहार, नेपाल सम्वत्, छठ, ल्होसार जस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् ।’

प्रचण्डले भनेका छन्- ‘बडादशैं २०७३ लाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रुपमा मनाउन म सम्पूर्ण नेपालीहरुमा विशेष अनुरोध गर्दछु ।’

तथापि अवसरका रुपमा दशैं मनाउन आग्रह गर्ने प्रधानमन्त्री प्रचण्डले मंगलबार आफ्नो निधारमा टीका लगाएनन् । न त उनले कानमा जमरा नै सिउरिए । परिवारका सदस्यसँग रम्नुबाहेक देशका प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री केपी ओली वा पूर्वराजा ज्ञानेन्द्रले जसरी लाइन लगाएर आफ्ना समर्थकहरुलाई टीका लगाउने काम पनि गरेनन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो परिवारमा कुनै जूठो वा सुतक परेकाले टीका नलगाएका होइनन् । बरु प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट भएकाले टीका नलगाएका हुन् । भलै कम्युनिष्ट वा माओवादी नै भए पनि डा. बाबुराम भट्टराईले बर्षेनी टीका लगाउने गरेका थिए र, यसपटक पनि लगाए ।  प्रचण्डले टीको नलगाए पनि माओवादी कार्यकर्ता वा नेता कसैले पनि टीका नलगाएको वा बहिस्कार गरेको सुनिएको छैन ।

प्रधानमन्त्री प्रचण्डले दशैंको टीका नलगाएको विषयमा सामाजिक सञ्जाल र सडकमा धेरै प्रकारका व्याख्या विश्लेषण भइरहेका छन् । यसबारे बहस र छलफल हुनु यसकारणले पनि स्वाभाविक छ कि उनी माओवादी पार्टीका अध्यक्षमात्रै नभएर सिंगै देशको प्रधानमन्त्री छन् । र, यतिबेला धर्म र संस्कृतिका बारेमा नेपाली समाज सघन बहसमा पनि रुमलिइरहेको छ ।

टीका लगाउने कार्यक्रममा सहभागी नभए पनि प्रधानमन्त्री प्रचण्डले आफ्नो शुभकामना सन्देशमा यसो भनेका छन्- ‘विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो । सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो । दशैं लगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएका छन् । यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार हो ।’

प्रधानमन्त्रीले टीका नलगाउन पाउने तर्क

प्रथमतः नेपाल धर्म निरपेक्ष देश हो र यहाँ जुनसुकै नागरिकले पनि कुनै पनि धर्म नमान्न वा मान्न पाउँछ । त्यसैले प्रचण्ड पनि कुनै धर्म मान्न वा नमान्न स्वतन्त्र छन् ।

दोस्रो, प्रचण्ड नेकपा माओवादीका अध्यक्ष हुन् । कम्युनिष्ट नेता हुन् । कम्युनष्टिहरु भौतिकवादी हुन्छन् । त्यसैले कुनै भौतिकवादी कम्युनिष्टले आफ्नो आदर्श अनुसार दशैं नमान्नुलाई अचम्म मान्नुपर्दैन र यो स्वाभाविकै कुरा हो ।

Pushpa-Kamal-Dahal-Prachand-PM-of-Nepal
व्यक्तिगत स्वतन्त्रताको कोणबाट हेर्दाखेरि कुनै धर्म वा संस्कृतिलाई मान्ने वा नमान्ने भन्ने कुरा व्यक्तिको नितान्त वैयक्तिक विषय भएकाले कुनै व्यक्तिले टीका लगाएँछ कि लगाउँदैन भन्ने विषय खासै बहस वा विरोधको विषय होइन ।

चौथो, प्रधानमन्त्री प्रचण्डका पिता र माता दुबैको देहावशान भइसकेको छ, त्यसैले उनले चाहेर पनि टीका लगाउने मान्छे छैनन् ।

र, पाँचौं, प्रचण्डले वा अरु कसैले किन टीका लगाएनन् भनेर निन्दा गर्नुभनेको हिन्दुवादी मानसिकता हो । हिन्दुबाहेक अन्य धर्मावलम्बी वा नास्तिकहरुलाई टीका नलगाउने पूर्ण स्वतन्त्रता छ ।

केही विरोधाभाष र प्रश्नहरु

प्रधानमन्त्री प्रचण्डले टीका नलगाएको प्रशंगले केही विरोधाभाष र प्रश्नहरु पनि जन्माएका छन् ।

माओवादी पार्टीको नीति अनुसार टीका नलगाइएको हो भने अध्यक्ष प्रचण्डकोसंस्कारलाई अन्य नेता र कार्यकर्ताले किन पछ्याएनन् र प्रचण्ड एक्ला वृहस्पतिजस्ता देखिए ? पार्टीमै लागू नहुने नियम किन प्रचण्डले मात्रै अपनाइरहेका होलान् ? पार्टी नेताहरु र सिंगै देशले मनाउने संस्कृतिमा  प्रचण्डकमात्रै किन अछुतो ?

माओवादीका पूर्व कमाण्डर समेत रहेका उप-राष्ट्रपति नन्दबहादुर पुन टीका लगाएर दशैं मनाउँदै ।
माओवादीका पूर्व कमाण्डर समेत रहेका उप-राष्ट्रपति नन्दबहादुर पुन टीका लगाएर दशैं मनाउँदै ।

प्रचण्ड अहिले माओवादीका अध्यक्षमात्रै हुन् कि देशका प्रधानमन्त्री हुन् ? प्रधानमन्त्रीले आफ्नो शुभकामनामा दशैंको त्यति ठूलो महत्व बताइसकेपछि उनी कुनै क्रिश्चियन इत्यादि नभइसकेपछि उनले टीकामा सहभागी भए के बिग्रन्थ्यो ?

माओवादी नेताहरु तीज धुमधामका साथ मनाउँछन् । तर, दशैंलाई किन बहिस्कार गर्न रुचाइन्छ ? र, दशैं धर्ममात्रै हो कि संस्कृति हो ? कम्युनिष्टले धर्म र संस्कृतिलाई छुट्याएर बुझ्ने कि गोलमटोल गरेर ?

प्रधानमन्त्रीले टीका लगाउँदा निधारमा एलर्जी हुन्छ भनौं भने पार्टीका कार्यक्रममा रातो अवीर लगाउने गरेकै छन् । फूलको माला पनि पहिरिने गरेका छन् । कहिलेकाहीँ जनजातिको कार्यक्रममा जाँदा परम्परागत पहिरनमा सजिने गरेकै छन् । यो अवस्थामा कमसेकम प्रधानमन्त्री पदमा रहेका बेला राष्ट्रपतिकहाँ गएर टीका थापेको भए के गल्ती हुन्थ्यो ?

संयोगवस यतिबेला राष्ट्रपति पनि कम्युनिष्ट नै छिन् । पूर्वप्रधानमन्त्री केपी ओली, माधव नेपाल सबै कम्युनिष्ट नै हुन् । उनीहरु सबैले दशैं मान्छन्, प्रचण्डले मात्रै नमान्दा के उनी क्रान्तिकारी ठहरिन्छन् भन्ने कुन मान्यता हो ?

दशैंमाथि संशोधनवाद !

प्रधानमन्त्री प्रचण्डले आफ्नो शु्भकामना सन्देशमा दशैंका विषयमा यो पनि भनेका छन्- राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई पनि पूनर्परिभाषित र पूनसर्ंस्कार गर्न जरुरी छ । हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान् संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रुढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्दतिमा पूनर्विचार गर्नैपर्दछ ।’

यो गर्नुपर्ने कारणबारे प्रधानमन्त्रीले भनेका छन्- ‘यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो र जीवनमूखी बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ ।’

तर, दशैंलाई कसरी परिमार्जन गर्ने ? प्रधानमन्त्री प्रचण्डले यसबारे अहिलेसम्म न केही बताएका छन्, न त उनको पार्टीका नेता कार्यकर्ताले नै त्यस्तो परिमार्जिक संस्कार अवलम्बन गरेको देखिएको छ ।

त्यसो त प्रधानमन्त्री प्रचण्डले जस्तै डा. बाबुराम भट्टराईले पनि आफ्नो फेसबुकमा स्टाटस लेखेर टीका लगाउँदा आर्शिवादमा प्रयोग गर्नुपर्ने मन्त्रलाई संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

baburam-and-father

अन्त्यमा, पाठकहरुलाई प्रश्नः तपाई कुन मान्यतालाई सही ठान्नुहुन्छ ? टीका नलगाउने वैयक्तिक स्वतन्त्रतालाई ? वा बहुजातीय एवं बहुधार्मिक देशमा सबैको संस्कृतिलाई अपनाउने सहकार्यलाई ? यसबारे बहस गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment