Comments Add Comment

मोदीको फेसन कूटनीतिः  सी जिनपिङलाई रातो, पुटिनलाई नीलो !

गोवाबाट यसरी अन्तर्राष्ट्रियकरण भयो 'मोदी कोट'

Narendra Modi with BRICS leaders

३० असोज, काठमाडौं । माथि देखिएको तस्वीर गोवामा आयोजित ब्रिक्स सम्मेलनको हो । यहाँ उभिएर हात ठड्याउनेहरु चार प्रमुख राष्ट्रका चर्चित अनुहार हुन् । तर, यो तस्वीरमा एउटा रोचक पक्ष पनि छ, त्यो के हो भने सबैले भारतीय ‘मोदी कोट’ पहिरिएका छन् !

माथिको तस्वीरमात्रै होइन, तल अर्को तस्वीर छ, जसमा भारतीय प्रधानमन्त्री, नेपालका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति छन् । यहाँ पनि चिनियाँ राष्ट्रपति सि जिनपिङ उही रातो रंगको ‘मोदी कोट’मै सजिएका छन् ।

सी जिनपिङले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको साइडलाइन भेटवार्तामा समेत रातो रंगको भारतीय जवाहर कोट नफुकाली उपस्थिति जनाए ।

modi-prachanda-xi

यी नेताहरुले एकै प्रकारका ड्रेस आफ्नै देशबाट लगाएर आएका भने होइनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनमा आएका ती देशका राष्ट्रप्रमुखहरुको स्वागत गर्ने क्रममा ‘मोदी कोट’ का रुपमा चर्चामा रहको कोट लगाएर गोवामा स्वागत गरेका हुन् ।

नेपालमा पछिल्लो समय ‘मोदी कोट’को रुपमा लोकप्रिय बनेको ‘हाफ कोट’ यसपटक गोवाको ब्रिक्स सम्मेलनबाट अन्तर्राष्ट्रियकरण भयो भन्दा अतिरञ्जित नहुन सक्छ । खासमा यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘फेसन कूटनीति’ भन्दा फरक नपर्ला ।

किनकि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटवार्ताहरुमा लगाउने गरेको ‘जवाहर कोट’ यसपटक उनले विश्वका हस्तीहरुलाई समेत लगाइदिएर अन्तर्राष्ट्रियकरण गरे ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, ब्राजिलका राष्ट्रपति माइकल टिमर र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा एकै प्रकारको भारतीय हाफकोटमा देखिए । उनीहरुले लगाएको हाफ कोटको रंग भने फरक थियो ।

सम्मेलनमा सहभागी ब्राजिलका राष्ट्रपति मिचेल टिमर र चिनियाँ राष्ट्रपति सी जिङपीङलाई मोदीले रातो कोट लगाइदिएका छन् भने अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमालाई खैरो र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन नीलो कोट उपहार दिइएको थियो ।

रुसी राष्ट्रपतिले लगाएको ‘मोदी कोट’ साइज नमिलेर निकै ‘टाइट’ देखिएको छ । अफ्रिकाका राष्ट्रपतिको जिऊमा भने कोट ठूलो भएर ह्वाङल्याङ्ग देखिएको छ । मोदीले सकेसम्म कम्युनिष्ट र गैरकम्युनिष्टलाई रंग पनि मिलाइदिन खोजेका छन् ।

Brics-Summit-2016-Leaders

कम्युनिस्ट नेता भएका कारण सी जिनपिङलाई मोदीले रातो कोट उपहार दिएका हुन् ? यो प्रश्नको उत्तर भने मिलेको छैन । त्यसो  त ब्राजिलका राष्ट्रपति पनि बामपन्थी पृष्ठभूमिका हुन् ।

नेपालका गाउँघरमा हाफ कोटलाई ‘जवाहर कोट’ पनि भनिन्छ । कतिपय ठाउँमा यसलाई ‘ज्वारी कोट’ पनि भन्ने गरिन्छ ।

भारतीय स्वतन्त्रता संग्रामपछिका प्रधानमन्त्री जवाहरलाल नेहरुले लगाएपछि यो कोट प्रख्यात भएको मानिन्छ । पछिल्लो समयमा नेपालमा चाहिँ यो मोदी कोटका रुपमा पनि चर्चित भयो । किनकि मोदी नेपाल भ्रमण गरेर फर्किएपछि नेपाली बजारमा एकाएक यसको व्यापार बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment