Comments Add Comment

तीन वर्षमा बन्नुपर्ने पुल पाँच वर्षमा पनि बनेन

सडकले भोजपुर-संखुवासभा जोड्ने योजना अधुरै

Arun-Rever-Bridge
१ कात्तिक, भोजपुर । ठेकेदारको लापरवाहीका कारण भोजपुर र संखुवासभाको सीमाना भएर बग्ने अरुण नदी माथिको पक्की पुल निर्माण अलपत्र परेको छ । तीन वर्षमा काम सम्पन्न हुनुपर्ने भए पनि पाँच वर्ष वितिसक्दा पनि पुल निर्माण भएको छैन ।

भोजपुर र संखुवासभा जिल्लालाई सडक सञ्जालले जोड्ने योजना अनुरुप भोजपुरको तत्कालिन केउरेनीपानी गाविस -हालको षडानन्द नगरपालिका) र संखुवासभाको खाँदबारी नगरपालिका १३ तुम्लिङटार जोड्ने गरी पुल निर्माण पाँच वर्ष अघि सुरु भएको थियो । भोजपुर र संखुवासभालाई सडक सञ्जालले जोड्न अरुण नदी बाधक बनेपछि नदीमाथि पुल निर्माण गरेर सर्वसाधारणमा सडकको पहुँच पुर्‍याउने योजना थियो ।

तर योजना अनुसार काम नभएपछि स्थानीय सर्बसाधारण र उद्योगी व्यावसायी मर्कामा परेका छन् ।

उद्योग वाणिज्य संघ दिङ्लाका अध्यक्ष रमेश श्रेष्ठले पुल निर्माण अलपत्र हुँदा व्यापारिक हिसावले समेत समस्या उत्पन्न भइरहेको बताए । उनका अनुसार पुल अभावमा सवारी साधन आवागमन गर्ने अवस्थाको सिर्जना हुन नसक्दा सर्वसाधारण मारमा परिरहेका छन् ।

‘कोही बिरामी भएमा स्टेचरमा बोकेर लैजानु पर्ने अवस्था छ,’ उनले भने, ‘उपचारका लागि समयमा पुर्‍याउन नसक्दा बिरामीले अकालमा ज्यान गुमाउनु परिरहेको छ ।’

सामग्री ढुवानीदेखि लिएर दैनिक काम काजमा समेत सिर्जना भइरहेको बताउँदै उनले भने, ‘सवारी साधनको पहुँच सहज रुपमा पुगेमा दैनिक उपभोग्य बस्तुदेखि लिएर सबै सामग्रीको मूल्य समेत घट्ने थियो ।’

सवारी साधनको पहुँच नहुँदा भरियालाई बोकाएर सामान ढुवानी गर्नु पर्ने अवस्था रहेको जानकारी उनले दिए ।

‘भरियामार्फत संखुवासभाको तुम्लिङटारदेखि भोजपुरको दिङ्लासम्म प्रतिकिलोग्राम सामान ढुवानी गर्न ६ रुपैयाँ खर्च लाग्छ,’ उनले भने, ‘ढुवानीका साधन सञ्चालन भए एक रुपैयाँ प्रतिकिलोमा ढुवानी गर्न सकिने थियो ।’

‘ठेकेदारको लापरवाही’

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०६८ साल मंसिरमा तत्कालिन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए । २०७१ सालसम्ममा काम सकिनु पर्ने हो । तर योजना सकिने गरी काम अघि बढ्न नसक्दा सरकारले पुल निर्माणका लागि वर्षेनी छुट्याउँदै आएको बजेट भने फि्रज भइरहेको गुनासो सरोकारवालाहरुको छ ।

पुल निर्माणका नाममा अहिलेसम्म पाँचवटा पिलर मात्र निर्माण गरिएका छन् । १४ करोड अनुमानित लागतमा पुल निर्माणको तयारी गरिएको थियो । तर समयमा काम सम्पन्न हुन नसक्दा लागत बढेर २० करोड बढी पुगेको प्राविधिकहरुको भनाइ छ ।

स्थानीयले समयमै पुल निर्माण नहुनुमा ठेकेदारको लापरवाही नै एकमात्र कारण रहेको बताउँछन् ।

भोजपुर दिङ्लाका युवा समाजसेवी मन्दीप रसाईलीले भने, ‘विभिन्न बहानामा पुल निर्माण कार्य अघि बढ्न नसक्दा अहिलेसम्म २० प्रतिशतमात्र काम सकिएको छ । यसमा ठेकेदारको लापरवाही देखिन्छ ।’

पुल निर्माणको जिम्मा स्वच्छन्द निर्माण सेवालाई दिइएको थियो । निर्माणको काम २० प्रतिशतमात्र सकिए पनि लागत भने बढेर सात करोड रुपैयाँ भन्दा बढी भइसकेको विवरण जिम्मा स्वच्छन्द निर्माण सेवाले तयार पारेको छ । निर्माण कम्पनीका प्रबन्ध निर्देशक जयराम लामिछानेले पुल बनाउने क्रममा कुनै लापरवाही नगरेको दाबी गरे ।

‘ठेकेदार कम्पनीले पुल निर्माणका क्रममा कुनै पनि लापरवाही गरेको छैन,’ उनले भने, ‘विभिन्न प्राविधिक कठिनाई उत्पन्न भएकाले समयमा काम नसकिएको हो ।’

अब कुनै पनि अवरोध र प्राविधिक समस्या नआएमा डेढ वर्ष भित्रमा पुल निर्माण सम्पन्न गरिने उनले बताए । लामिछानेका अनुसार यस वर्ष सरकारले पुल निर्माणका लागि भने ११ करोड ५० लाख रुपैयाँ छुट्याएको छ ।

दबाव दिन संघर्ष समिति गठन

भोजपुर र संखुवासभाको सीमाना भएर बग्ने अरुण नदीमाथिको पक्की पुल निर्माणका लागि ठेकेदार कम्पनी, सडक डिभिजन कार्यालय र सरकारलाई दबाव दिने उद्देश्यले सोमबार पुल निर्माण दबाव समिति गठन गरिएको छ । भोजपुरको दिङ्लामा सम्पन्न सरोकारवालाहरुको भेलाले नागरिक अगुवा एवं बुद्धिजिवी सुमन लम्सालको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा भोजपुरको पाँचवटा गाविसलाई समेटेर बनाइएको षडानन्द नगरपालिका र देउराली, साङ्पाङ्, नेपालेडाँडा, कुदाककाउले, कुलुङ, खाटम्वा, दोभाने गाविसका बासिन्दा छन् । नागरिक अगुवाईमा गठन गरिएको समितिले पुल निर्माण तत्काल सम्पन्न गर्नका लागि विभिन्न दबावमुलक कार्यक्रमहरु गर्ने भएको छ ।

संयोजक लम्सालले भने, ‘पुल निर्माणका लागि नागरिक तवरबाट दवाब दिने छौं । सुनुवाई नभए आन्दोलन कै घोषणा गरेर संघर्षमा जानु पर्ने अवस्था पनि आउन सक्छ ।’

उनले पुल निर्माणका नाममा लापरवाही र कमजोरी गर्नेमाथि कारवाही हुनु पर्ने माग पनि समितिको रहेको जनाए । उनले यो पुल निर्माणसँगै सरकारले हालै तय गरेको मध्यपहाडी लोकमार्ग सुचारु गर्नका लागि यो पुलको बाटो छोटो र छरितो हुने पनि बताए ।

लम्सालले पुल निर्माणका लागि राजनैतिक तवरबाट समेत दबाव सिर्जना गर्न जिल्लाबाट नेतृत्व गर्ने सांसद र विभिन्न राजनैतिक दलका नेताहरुलाई ‘हाम्रो पुल कहिले बन्छ ?’ भनेर दबावमुलक एसएमएस समेत गर्न थालिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment