Comments Add Comment

एमाले सांसदलाई तत्काल राजधानी फर्किन निर्देशन

आइतबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप

uml-party-office

४ कात्तिक, काठमाडौं । नेकपा एमालेले आइतवार बस्ने संसद बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरुलाई हृवीप जारी गरेको छ । काठमाडौं उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि तुरुन्तै राजधानी फर्किन एमालेले निर्देशन दिएको छ ।

विहीबार बस्ने भनिएको संसद बैठक आइतबार बस्ने गरी स्थगित भएको छ । आइतबारको बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।

यसअघि विहीबारको बैठकमै प्रस्ताव पेश गर्ने भनिए पनि संसद बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले महाअभियोगको प्रस्तावमा छलफल गर्नुपर्ने भएकाले आफ्ना सांसदहरुलाई राजधानी बोलाइएको र संसद बैठकमा अनिवार्य उपस्थित हुन भनिएको बताए ।  ‘महाअभियोग प्रस्तावलाई प्रभावकारी ढंगले पारित गराउन सबै उपस्थित हुनुपर्‍यो नि,’ प्रमुख सचेतक ढकालले अनलाइनखबरसँग भने ।

बुधबार संसद सचिवालयमा कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही महाअभियोगको प्रस्तावक र एमाले प्रमुख सचेतक ढकाल समर्थक छन् । सो प्रस्तावमा एमाले र माओवादीका १५७ सांसदहरुले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment