Comments Add Comment

कांग्रेसले महाअभियोगको नेतृत्व लिनुपर्छः गगन थापा

'गुमेको आत्मसम्मान फर्काउने बेला आयो'

Gagan_Thapa

४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने बताएका छन् ।

बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा थापासँगै अर्का केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा पनि महाअभियोगको पक्षमा उभिएका छन् ।

प्रस्ताव दर्ता गर्नेबेला कांग्रेससँग किन सल्लाह भएन भन्ने तपशीलको विषय भएको मन्त्री थापाले बताए । स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले भने- ‘सत्यको पक्षमा उभिनुपर्छ । सत्य के हो भने लोकमानलाई नियुक्ति गर्दा सबै लाचार भएको र गल्ती गरेकै हो ।’

लोकमानलाई ०७० साल वैशाखमा अख्तियार प्रमुख बनाउन लाग्दा आफूसहित २३ जनाले पार्टी बैठकदेखि राष्ट्रपति निवाससम्म नियुक्ति हुँदैन भनेको र नेताहरुले नियुक्ति गर्दैनौं भनेको सुनाउँदै थापाले भने, तर, भोलिपल्टै नियुक्ति गरेर लाचारी प्रस्तुत गरियो ।’

अब कांग्रेसका सामु त्यसबेला गरेको राजनीतिक गल्ती सच्याउने मौका आएको थापाको धारणा थियो । पार्टी बैठकमा उनले भने- ‘अब आत्मसम्मान फर्काउने बेला आएको छ ।’

संसदीय समितिको सभापतिदेखि मन्त्रीका रुपमा समेत आफूले लोकमानको कामकारबाही हेरेको भन्दै मन्त्री थापाले निष्कर्ष सुनाए, ‘उनले अख्तियारको दुरुपयोग गरेका छन्, भ्रष्टाचारमा लिप्त भएका छन् ।’

कांग्रेसले लोकमानविरुद्ध दर्ता भएको महाअभियोगको समर्थन मात्रै नभई नेतृत्व नै गर्नुपर्ने बैठकमा बताए । यसबारे निर्णय गर्न तत्काल संसदीय दलको बैठक बोलाउनुपर्ने थापाको माग छ ।

शर्माले प्रस्तावको पक्षमा उभिनुपर्ने ५ कारण प्रस्तुत गरे। कांग्रेस प्रस्तावको पक्षमा उभिँदा महाभियोग पारित हुने र त्यसले संविधान कायान्वयन र दलीय सहकार्य सुमधुर हुने भन्दै उनले कांग्रेस प्रस्तावको पक्षमा उभिनुपर्ने बताए ।

उनका अनुसार प्रस्ताव फेल हुँदा दोष कांग्रेसको काँधमा आउँछ, सत्ता गठबन्धन संकटमा पर्छ, अदालतको अवहेलना गरेका व्यक्तिको पक्षमा रहेको ठहर्छ, एमालेले ल्याएको प्रस्ताव अस्विकार गर्दा दूरी बढ्छ, संविधान कार्यान्वयन थप असहज बन्छ र संविधान संशोधन नभए निर्धारित निर्वाचन संकटमा पर्छ । संविधान कार्यान्वयन नहुने दिशामा मुलुक जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment