
५ कात्तिक, ललितपुर । भारतले अघोषित नाकाबन्दी लगाएको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको एउटा सपना हो, सिलिण्डर युगको अन्त्य र घरघरमा पाइपबाट ग्यास ।
यसलाई धेरैले हवादारी भने र ओलीलाई मजाकको पात्र बनाए । तर, ललितपुर इमाडोलमा शुक्रबार गरिएको एउटा परीक्षणले घरघरमा पाइप लाइनबाट ग्यास पुर्याउन असम्भव छैन भन्ने देखाएको छ ।
भलै यो कहिले र कति नेपालीको घरघरमा पुग्ला अर्को प्रश्न हो । र, यसमा सरकारको कुनै ठोस योजना पनि बनेको छैन ।
यसरी बालियो पाइपबाट ग्यास
शुक्रबार दिउँसो करिब ३ बजेतिर उद्योगमन्त्री नविन्द्रराज जोशीको गाडी धुलो उडाउँदै इमाडोल पुग्यो ।

उनी पुग्नु अघि नै सरकारी कर्मचारी, पत्रकारदेखि सुरक्षा प्रशासनको ठूलै भिड लागेको थियो । खुला चौरमा चार इन्चको पाइप लाडिएको छ । जहाँबाट पानी तानिएको छ ।
पानीसँगै ग्यास आउने भएकाले ८२ मिटरमा पम्प पाखिएको छ । त्यही पम्प भएर पानी सेप्रेसन च्याम्बरमा पुग्छ । त्यहीँ पानीमा मिसिएको मिथेनसहितका ग्यासलाई छुट्याइन्छ । सेप्रेसन च्याम्बरबाट पानी जत्ति आउट लेट हुँदै बाहिर जान्छ भने ग्यास पाइप लाइनबाट हुँदै अर्को फिल्टर मेसिन हुँदै प्लास्टिकको पाइपमा जान्छ । त्यसलाई फिल्डर प्रक्रिया पूरा गर्दै रिजर्ब वायरमा जम्मा गरिएको छ ।
त्यसलाई घरघरमा कसरी वितरण गर्ने भनेर पनि मोडल बनाइएको छ । अहिले तीनवटा घरधुरीमा पठाउन मिल्ने गरी मिटर जडान गरिएको छ । त्यसमध्ये एक मिटरबाट लगिएको पाइपलाई एउटा टहरोमा लगिएको छ र ग्यास चुलोमा जडान गरिएको छ ।
मन्त्री जोशीले त्यही ग्यास बालेर सञ्चारकर्मीहरुलाई देखाए । बाहिर निस्कँदै गर्दा मन्त्री जोशीले भने, ‘आज हामी फेरि सफल भएका छौं । जमिनमुनिको ग्यास पाइपबाट तानेर बालियो ।’
भिडियो हेर्नुहोस्
यो कसरी सम्भव भयो ?
जापानको सहयोग नियोग जाइकाको सहयोगमा खानी तथा भूगर्भ विभागले सन् १९७८ मा नै काठमाडौंको जमिन मुनि रहेको प्राकृतिक ग्यासको अन्वेषण सुरु गरेको थियो । पछिल्लो समय भने ग्यास उत्खन्न परियोजनाको काम रोकिएको थियो ।
तर, तीन वर्ष अगाडिबाट ३५ लाख रुपैयाँको लगानीमा ड्रिलिङ सुरु भयो र एक वर्ष अगाडि काम सकियो । गत असोज ३ मा नयाँ संविधान जारी भएसँगै भारतले नाकाबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा चासो दिएपछि काम अघि बढ्यो ।

विभागले १५ लाखको लागतमा मेसिन जडान गरेर जमिन मुनिको ग्यास तानेर परीक्षण गर्दै आएको थियो । र, शुक्रबार उद्योगमन्त्री जोशी अझै ग्यास उत्खनन भएको स्थानमा पुगेर परीक्षण गरे ।
विभागका अनुसार यसअघि गरिएको परीक्षणमा भन्दा अहिले पानीमा ग्यासको मात्र न्यून भेटिएको छ । पहिलेको परीक्षणमा पानीमा ०.४ प्रतिशत मिथेन ग्यास मिसावट फेला परेको भएपनि अहिले भने ०.१५ प्रतिशत मात्र पाइएको छ । यद्यपि विभागले अहिले कुनै व्यवसायी योजना राखेर काम नगरेको मात्र परीक्षण गरेको जनाएको छ ।

जमिनमुनिको ग्यास रहेको कुरा नयाँ तथ्य भने होइन । २७ वर्षअघि नै जाइकाले गरेको अध्ययनमा उपत्यकाका इमाडोल, तीनकुने, कोटेश्वर र त्रिपुरेश्वरसहित करिब २६ वर्गकलोमिटर क्षेत्रमा ३१ करोड घनमिटर ग्यास भण्डार रहेको देखिएको थियो ।
त्यस्तै २३ वर्ष अघि नै उपत्यकाबासीले जमिनमुनिको ग्यासबाट पकाएको भात खाइसकेका छन् । ०४० सालमा टेकुको पँचलीमा रहेको सानो प्लान्टबाट जापानको सहयोगमा ग्यास निकालेर सरकारी र स्थानीयको घरयासीमा प्रयोग भएको थियो ।
त्यो प्रयोग सफल भए पनि त्यसपछि भने थप ग्यास सम्भावनाको खोजी र उत्खननबारे ठोस पहल नै भएन । सरकारले ध्यान नदिएपछि नयाँ सम्भावनाको खोजी त परै जाओस, टेकुको प्लान्ट पनि बन्द भयो । सो प्लान्टका सामानहरु काम नलाग्ने अवस्थामा छन् ।
फोटो-भिडियो- कमल प्रसाईं/अनलाइनखबर
प्रतिक्रिया 4