+

ग्यास र एसिडिटी बढाउने यी ७ कारण, जसलाई धेरैले गर्छन् बेवास्ता

२०८२ भदौ  २ गते १८:३८ २०८२ भदौ २ गते १८:३८
Shares
ग्यास र एसिडिटी बढाउने यी ७ कारण, जसलाई धेरैले गर्छन् बेवास्ता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्वस्थ खानपान र खराब जीवनशैलीका कारण धेरै मानिसहरू ग्यास, एसिडिटी र पाचनसम्बन्धी समस्याबाट पीडित हुन्छन्।
  • ग्यास र एसिडिटी कम गर्न सन्तुलित खानपान, नियमित खाना खाने समय, पर्याप्त पानी पिउने, गुणस्तरीय निद्रा, तनाव व्यवस्थापन र धूम्रपान र रक्सीबाट टाढा रहनुपर्छ ।

अस्वस्थ खानपान र खराब जीवनशैलीका कारण धेरैजसो मानिसहरू ग्यास, एसिडिटी र अन्य पाचनसम्बन्धी समस्याहरूबाट पीडित हुन्छन् ।  यी समस्याहरू प्रायः तारेको, भुटेको र अत्यधिक मसालेदार खाना खानाले निम्तिन्छन् ।  तर, यी बाहेक पनि केही खराब बानीहरू र यसका कारणहरूलाई बेवास्ता गर्नाले ग्यास र एसिडिटीको समस्या बढाउन सक्छ ।

ग्यास र एसिडिटीका बेवास्ता गरिएका कारणहरू

धेरै मानिसहरूलाई ग्यास र एसिडिटीको समस्या बारम्बार हुन्छ । यी समस्याले पेटमा असहजता, ब्लोटिङ (ढुस्स हुने), छातीमा जलन र अपच जस्ता लक्षणहरू निम्त्याउछन् ।  यस्ता समस्याको कारण प्रायः गलत खानपान, खराब जीवनशैली र बानीहरू हुन्छन् ।

१.गलत खानपानको संयोजन

राम्रो पाचन र समग्र स्वास्थ्यका लागि सही खानपानको संयोजन अपनाउनु अत्यन्त महत्त्वपूर्ण हुन्छ । गलत खानपानले ग्यास, एसिडिटी, एसिड रिफ्लक्स (झुसिलाे डकार आउने), ब्लोटिङ र अन्य पाचनसम्बन्धी समस्याहरू निम्त्याउछ ।

जस्तै दूध र अमिलो फलहरूसँगै खाँदा पेटमा अम्लता बढ्न सक्छ । माछा र दूधजन्य पदार्थहरू सँगै खानाले पाचन प्रक्रियामा बाधा पुग्छ । साथै दही वा अन्य डेरी उत्पादनहरू फलफूलसँग मिसाएर खानाले ग्यास र अपचको समस्या हुन सक्छ ।

२.पर्याप्त निद्रा नलिनु

पर्याप्त निद्रा नलिनु, अनियमित निद्रा, कम निद्रा वा गलत निद्राको ढाँचाले पाचन प्रणालीमा नकारात्मक प्रभाव पार्छ । निद्राले शरीरलाई आराम दिन्छ, मांसपेशीहरूको मर्मत गर्छ र पाचन प्रक्रियालाई सुचारु राख्न मद्दत गर्छ ।  अनिद्राले पेटमा ग्यास, अम्लता र ब्लोटिङ जस्ता समस्याहरू बढाउन सक्छ । त्यसैले दैनिक ६ देखि ८ घण्टा सुत्नुपर्छ ।

३.तनाव र मानसिक चिन्ता

आधुनिक जीवनशैलीमा तनाव र चिन्ता सामान्य भएका छन् । कामको दबाब, व्यक्तिगत समस्या वा अन्य कारणले हुने तनावले पाचन प्रणालीमा प्रत्यक्ष असर गर्छ । मस्तिष्क र आन्द्राको गहिरो सम्बन्ध हुन्छ, जसलाई ‘गट–ब्रेन एक्सिस’ भनिन्छ । तनावले पाचन प्रक्रिया सुस्त बनाउँछ, जसले ग्यास, एसिडिटी र ब्लोटिङ जस्ता समस्याहरू निम्त्याउछ ।

४.पानीको कमी

शरीरमा पानीको कमीले पाचन प्रक्रियालाई सुस्त बनाउँछ, जसले ग्यास, अपच र एसिडिटीको समस्या निम्त्याउछ । पानीले खानालाई पचाउन र पोषक तत्त्वहरू अवशोषण गर्न मद्दत गर्छ । पर्याप्त पानीको अभावमा पेटमा अम्लता बढ्न सक्छ ।

५.केही औषधिको साइड इफेक्ट

केही औषधिहरू, जस्तै दुखाइ कम गर्ने औषधि, एन्टिबायोटिक वा अन्य नियमित औषधिहरूको साइड इफेक्टका कारण पनि ग्यास, अपच र एसिडिटीको समस्या हुन सक्छ । यस्ता औषधिहरूले पेटको अम्लता बढाउन वा पाचन प्रणालीमा असन्तुलन ल्याउन सक्छ।

६.खानाको समय अनियमित

अनियमित समयमा खाना खानु वा लामो समयसम्म भोकै बस्नुले पनि पेटमा अम्लता र ग्यासको समस्या बढाउँछ । खाना खाने समय अनियमित हुँदा पेटमा अम्लको उत्पादन असन्तुलित हुन्छ, जसले एसिड रिफ्लक्स र ब्लोटिङ निम्त्याउछ ।

७.धूम्रपान र अत्यधिक रक्सी सेवन

धूम्रपान र अत्यधिक रक्सी सेवनले पनि पेटको अम्लता र ग्यासको समस्या बढाउन सक्छ । धूम्रपानले पाचन प्रणालीमा रक्तसञ्चार कम गर्छ भने रक्सीले पेटको अम्लता बढाउँछ ।

ग्यास र एसिडिटीको समस्या समाधानका उपायहरू

-सन्तुलित खानपान

तारेको, भुटेको र अत्यधिक मसालेदार खाना कम खाने । दूध र अमिलो फलहरू, माछा र दूधजन्य पदार्थ वा दही र फलहरूसँगै नखाने । सागसब्जी, फलफूल र फाइबरयुक्त खानालाई प्राथमिकता दिने ।

-खानपानको समय व्यवस्थापन गर्ने

निश्चित समयमा खाना खाने बानी बसाल्ने । लामो समयसम्म भोकै नबस्ने र थोरै-थोरे खानेकुरा बारम्बार खाना खाने ।

-पर्याप्त पानी पिउने

दैनिक २–३ लिटर पानी पिउने । खाना खानुभन्दा ३० मिनेटअघि वा पछि पानी पिउने ।

-पर्याप्त निद्रा

दैनिक ६–८ घण्टा गुणस्तरीय निद्रा लिने । सुत्ने र उठ्ने समय नियमित राख्ने । यसका लागि विशेषतः राति माेबाईलकाे स्क्रिन टाईम व्यवस्थापन गर्ने ।

-तनाव व्यवस्थापन

योग, ध्यान वा गहिरो सास फेर्ने अभ्यास गर्ने । तनाव कम गर्न नियमित व्यायाम र मनोरञ्जनात्मक गतिविधिहरूमा समय बिताउने।

-धूम्रपान र रक्सीबाट टाढा रहने

धूम्रपान पूर्ण रूपमा छोड्ने । रक्सीको सेवन सीमित गर्ने वा पूर्णरूपमा बन्द गर्ने ।

औषधिको प्रयोगमा सावधानी

नियमित औषधि खानुपर्ने भए चिकित्सकसँग परामर्श गरी पाचनमा असर नपर्ने विकल्पहरूबारे छलफल गर्ने । अनावश्यक रूपमा दुखाइ कम गर्ने औषधिहरूको प्रयोग नगर्ने ।

एसीडीटी ग्यास
डा. खलील मिया
लेखक
डा. खलील मिया
पेट तथा कलेजो रोग विशेषज्ञ

डा. खलील मिया हाल लुम्बिनी प्रदेश अस्पताल, बुटवलमा कार्यरत छन् । ग्यास्ट्रोएन्टेरोलोजीमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल नम्बर १५२९३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ग्यास र एसिडिटी बढाउने यी ७ कारण, जसलाई धेरैले गर्छन् बेवास्ता

ग्यास र एसिडिटी बढाउने यी ७ कारण, जसलाई धेरैले गर्छन् बेवास्ता

‘घुर्ने समस्याले थाहै नपाई भित्रभित्रै शरीरका भागहरू बिगार्न सक्छ’ (भिडियो)

‘घुर्ने समस्याले थाहै नपाई भित्रभित्रै शरीरका भागहरू बिगार्न सक्छ’ (भिडियो)

हर्मोनल सन्तुलनका लागि किन आवश्यक छ ७ घण्टा निद्रा ?

हर्मोनल सन्तुलनका लागि किन आवश्यक छ ७ घण्टा निद्रा ?

प्रसूति गृहको इतिहासदेखि आधुनिक सेवासम्मको यात्रा

प्रसूति गृहको इतिहासदेखि आधुनिक सेवासम्मको यात्रा

यी हुन् पेटमा बढी ग्यास उत्पन्न गर्ने खानेकुरा

यी हुन् पेटमा बढी ग्यास उत्पन्न गर्ने खानेकुरा

पुरुषमा देखिने समस्या ‘फाइमोसीस’ के हो ? के छ उपचार ?

पुरुषमा देखिने समस्या ‘फाइमोसीस’ के हो ? के छ उपचार ?